arrow

मुद्दा पुस्ताको मात्र होइन परिणाम र सक्रियताको पनि हो

logo
राजेन्द्र पन्थी, 
प्रकाशित २०७९ साउन २८ शनिबार
rajendra-panthi-article-44.jpg

नेपाली राजनीतिमा पछिल्लो समयमा बारम्बार दोहोरिने शब्द पुस्तान्तरण र रुपान्तरणको हो । लामो समयसम्म देशको शासन सत्ता चलाएर असक्षम सावित भएका पुरानो पुस्तालाई बिदा गरी अबको नेतृत्वमा नयाँ पुस्ता आउनुपर्छ भन्ने  जनआवाज नै पुस्तान्तरणको आवाज हो । अबको राज्य सञ्चालन र पार्टी सञ्चालनको नेतृत्वमा नयाँ पुस्ता आउनु पर्छ भनेर जनआवाज घन्किदै गएको सुनिन्छ । 

पुरानो पुस्ताप्रति विद्रोह र जनआक्रोशका स्वरहरू पनि बुलन्द हुँदै गएको देखिन्छ । पुस्तान्तरण आवाज भनेको केवल उमेरको दृष्टिकोणले मात्र व्यक्ति परिवर्तन गर्न खोजिएको होइन सक्रियता र परिणामको मापनलाई पनि आधार बनाइएको हो । मानिसको उमेर बढ्दै जाँदा स्वभाविक रुपमा उसमा शारीरिक र मानसिक स्थिति कमजोर हुँदै जान्छ । तर पनि उमेरको दृष्टिकोणले मात्र कसैलाई तन्नेरी र बुढो भनिहाल्नु पर्दैन । 

संसारमा शासनसत्ता चलाउने कुरामा कतिपय तन्नेरी असफल भएका छन् भने वृद्ध पूर्ण सफल भएका प्रशस्त उदाहरण छन् । नेपालको सन्दर्भमा अहिलेको नेतृत्वलाई दोष लगाउन खोजेको उमेरले  होइन उनीहरूको सक्रियता र विगतको कामको परिणामले  हो । प्रजातन्त्र पुनः बहाली भएको बत्तीस वर्ष हुँदासम्म एउटै व्यक्ति वा एउटै शक्ति विभिन्न पार्टीका नाममा सत्ताको वरिपरि घुमिरहेको छ । ऊ सत्ता छोड्न पनि सक्दैन र देश र जनताको लागि केही गर्न पनि सक्दैन ।

राजनीतिक पार्टीका रुपमा विभिन्न नाम दिएर सत्तालाई बिला लगाई बाँडिचुँडि खाने गरिएको तीतो यथार्थ छ । पार्टीभित्र गुट बलियो बनाउने र जहिले पनि आफू नै नेतृत्वमा रहने प्रवृत्तिले नयाँ पुस्ताले मौका पाउन सकेनन् । नेपालका धेरैजसो राजनीतिक दलहरू निश्चित व्यक्तिका निजी कम्पनी जस्ता बनेका छन् । ती दलहरूमा आन्तरिक लोकतन्त्र भन्ने नै छैन । सबै झोले र टीके प्रणालीबाट चलेका छन् । दलहरू राजनीतिक चिन्तन र विचारभन्दा पनि गुटवाद, परिवारवाद, नातावाद, कृपावाद, चाकरी र चाप्लुसीवादबाट परिचालित भएका छन् । 

यस्तै सोच र चिन्तनले गर्दा नेपालका दलहरू दलजस्ता हुन सकेनन् । जसरी पनि कुर्सी चाहिने र देश लुट्ने प्रवृत्तिले गर्दा पुराना पुस्ताबाट नेपाल र नेपालीको उन्नति, प्रगति र समृद्धि हुन सकेन । वर्षौँदेखि पटकपटक कुनै न कुनै पार्टीका नामबाट सत्ता र शक्तिको नेतृत्व गर्ने भनेका उनै शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, खड्गप्रसाद (केपी) ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, कमल थापा नै रहे । यी पात्रहरूले कहिँ न कतैबाट आफ्नो कार्यकालमा देशको समृद्धिभन्दा पनि आफ्नो गुट र आफन्तको समृद्धिमा समय खर्चिए र देशलाई झन्पछि झन् कंगाल बनाउँदै गए । 

यिनीहरूको प्रमुख उद्देश्य भनेको पार्टीभित्रको गुट बलियो बनाउने र जसरी हुन्छ सत्ताको स्वाद लिने भन्दा अरु केही देखिएन । यिनीहरू सत्ता स्वार्थको लागि जे हुन र जे गर्न पनि तयार भए । यिनीहरूमा राजनीतिक विचार र सिद्धान्त भन्ने केही पनि देखिएन । सत्ताकै लागि कांग्रेस कम्युनिष्ट र कम्युनिष्ट कांग्रेसमात्र बनेनन् कि जे बन्दा सत्ता मिल्छ त्यही बनिदिए । यी राजनीतिक पार्टीमा र नेतामा कुनै विचार, सिद्धान्त, नैतिकता, इमान्दारिता, जवाफदेहिता र उत्तरदायित्वपन भन्ने छैन । यसले गर्दा नेतृत्वपङ्ति पूर्ण असफल र असक्षम प्रमाणित भयो । 

आजको नेपालको महत्वपूर्ण आवश्यकता भनेको समाज रुपान्तरणको हो । व्यवस्था परिवर्तन पछिको कुरा नै गर्ने हो भने पनि २०४७ देखि अहिलेसम्म आउँदा राजनीतिक दलका २४, तत्कालीन राजाका २, दलरहित १ गरी जम्मा २७ सरकार बने । कुनै पनि सरकारले आफ्नो पाँच वर्षे कार्यकाल पूरा गर्न सकेनन् । पहिले मिलेमतोमा सत्तामा जाने अनि केही महिना नबित्दै खुट्टा तान्ने प्रवृत्तिले सरकार चल्न सकेनन् । 

आज गणतन्त्र घोषणाको १३ वर्ष भइसक्यो तर समाज जहाँको त्यही छ । सरकार जति फेरिए पनि देश र जनताको अवस्थामा रुपान्तरण हुन सकेन । न देशमा उद्योग कलकारखाना खोलिए न जनताको जीवन स्तरमा सुधार भयो । नेता धनी र  सम्पन्नशाली बन्दै गए भने जनता गरिब हुँदै गए । व्यवस्था परिवर्तनबाट जनताले जे आशा गरेका थिए त्यो पाउन सकेनन् । देश सिंगापुर र स्वीट्जरल्याण्ड बन्ला भन्दा पछिल्लो अवस्थाको श्रीलंका हुन लाग्दैछ । जहिले पनि राजनीति भनेको सत्ता केन्द्रित मात्रै छ । राजनीतिलाई अत्यन्तै दुर्गन्धित र फोहरे बनाइएको छ । 

दलमा जहिले पनि आफूलाई सर्वेसर्वा ठान्ने टाउकेहरूले न आफूले परिवर्तन गर्न चाहे न अरुलाई मौका दिए । यसले गर्दा रगतको खोलो बगाएर ल्याएको परिवर्तनबाट जनता सधैं निराश हुनु परेको छ । संघीयताका नाममा भुरेटाकुरे राज्य जस्तै बनाइ देशको सम्पत्ति लुट्ने काम भएको छ । देशको बजेटभरि चालू खर्चमा नै सकिन्छ भने पुँजीगत खर्च आर्थिक वर्षको अन्त्य असारमा शुरु भएर असारैमा सिद्धिन्छ । उपलब्धि शुन्यप्रायः नै हुन्छ । २०४७ पछि विकास नै भएको छैन भन्न खोजिएको होइन, जुन रप्तारमा हुनुपर्ने थियो र जे परिणाम आउला भनिएको थियोे त्यो हुन सकेन । देशका सम्पूर्ण अङ्गहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेका थुप्रै प्रमाण र तथ्यहरू छताछुल्ल बाहिरिएकै छन् ।

दलहरूमा आन्तरिक लोकतन्त्रको अभ्यास र प्रयोग नहुँदा दलहरू दल बन्न सकेनन् । लोकतन्त्रमा दलहरूको क्रियाकलाप लोकतान्त्रिक होला भन्दा झन् सामन्ती शैली देखियो । नेतृत्वले काम पनि नगर्ने कुर्सी पनि नछोड्ने प्रवृत्तिले लोकतन्त्र फैलिन, हुर्किन र बलियो हुन पाएन । लोकतन्त्र प्राप्तिपछि  जनताले पाएको एउटा कुरा भनेको वाक् स्वतन्त्रता नै हो अरु उल्लेखनीय केही देखिएन । यो सम्पूर्ण कुराको दोषी भनेका अहिलेका ठूला पार्टीका जिम्मेवार नेतृत्व नै हुन् । व्यवस्था परिवर्तनको लागि जनताको यति ठूलो साथ र समर्थन हुँदा पनि जनअपेक्षा अनुकूलका केही काम हुन नसकेको हुनाले अहिलेको राजनीतिक पहिलो पुस्ता अब विश्वास गर्न लायक नै छैन र कुनै हालतमा गर्नु हुँदैन । अब आउने निर्वाचनमा एकपटक विचार गरौँ कि भन्ने पनि ठाउँ छैन । 

यो पुस्तामा सक्रियता र भिजन नै छैन । सत्ताको लागि मात्र सत्तामा जाने भन्दा अरु सोचाइ यिनमा छैन । आगामी निर्वाचनमा नयाँ पुस्तालाई मौका दिनुपर्छ । नयाँ पुस्ता आउँदा केही रुपान्तरण हुन्छ कि भन्ने आशा गर्ने ठाउँ छ भने पुरानाबाट अब केही हुन्न भन्ने पूर्णतया प्रमाणित भइसक्यो ।

पार्टीका टीके र झोलेहरूले आफूले पनि तिनीहरूबाट केही रस चुस्न पाइने हुनाले अझै पनि तिनैको भजन गाउँदै हिँडेका छन् । कांग्रेसमा शेरबहादुर देउवा, एमालेमा खड्गप्रसाद ओली र माओवादीमा पुष्पकमल दाहालले एक्लै वा संयुक्त कसरी हुन्छ पुनः सत्ताको दाउ हेरिरहेका छन् भने एकीकृत समाजवादीका माधवकुमार र झलनाथले हाम वा वाम गठबन्धन नाममा सत्ता कतै बाँडिचुँडि गरेर भए पनि पाइन्छ कि भनेर ताकेको पनि देखिन्छ ।

यी नेताहरूमा मै खाऊँ मै लाऊँ सुख सयल मै गरूँ अरु मरून् दुर्बलहरू भन्ने चिन्तन रहेको तथ्यगत रुपमा प्रमाणित भएको छ । हिजो हवाई चप्पल लाएर राजधानी छिरेका प्रायः नेताहरूका आज काठमाडौंमा ठूला आलिसान महल छन् । उनीहरूको जीवनस्तर अति उच्च वर्गीय बनेको छ । यस्तो अवस्था देख्दादेख्दै  अझै पनि यिनैको स्तुति गरेर वा यिनैलाई पुनः भोट दिएर जिताउनु भनेको आफ्नो खुट्टामा आफै बन्चरो हान्नु नै हो र देशलाई अझै नराम्रोसँग खाडलमा फसाउनु हो ।

अब जनताहरू सामन्तीशैली विरुद्ध जाग्न लागेको हालै सम्पन्न स्थानीय निर्वाचनको परिणामले पनि देखाएको छ । दलहरूलाई दण्ड र पुरस्कार दिने भनेकै निर्वाचन हो । स्थानीय निर्वाचनमा देशका मुख्य शहर धनगढी, धरान र काठमाडौंमा स्वतन्त्र उम्मेदवार विजय भएका छन् । स्वतन्त्रकै नामबाट वर्तमान र पूर्वप्रधानमन्त्रीकाहरूका विरुद्धमा एकपछि अर्को उम्मेदवार घोषणा पनि हुँदै गएका छन् । लामो समयसम्म कुर्सीमा जरा गाडेर बस्नेहरूका विरुद्ध आम नागरिकले अब साथ दिनुपर्ने देखिन्छ । अब एकपटक राजनीतिभित्रको विकृत ऐजेरुलाई जसरी पनि निर्मूल पार्नुपर्छ । दलभित्र वा दल बाहिर नयाँपुस्ता नेतृत्वको लागि अगाडि सर्नुपर्छ । प्रयोगबाट नै असफल भएका अहिलेका नेतृत्वपङ्तिलाई आगामी निर्वाचनमा जसरी पनि हराउनै पर्छ र नयाँ पुस्तालाई विजयी बनाउनु पर्छ ।

यहाँ नयाँ पुस्तालाई आँखामा पट्टी बाँधेर समर्थन गर्नुपर्छ भन्न खोजिएको होइन अब  विकल्प मध्येको सर्वोपयुक्त विकल्प यही हो । हाम्रो देश बनाउन कोही बाहिरबाट ल्याउने कुरो भएन । यहीँ रहेका मध्येबाट असफल र असक्षमलाई बिदा गर्ने, सच्चिन चाहनेलाई मौका दिने, नयाँलाई अवसर दिनु नै अहिलेको विकल्प हो ।

अहिलेको युवापुस्ता पनि सबै दुधले नुहाएका छन् भन्न खोजेको होइन । आजसम्म युवा पुस्ताले अवसर नै पाएनन् । नयाँ पुस्ता जाँचिन बाँकी नै छन् । उनीहरूलाई काम बिना आक्षेप लगाउनु हुँदैन । जनताले पनि विगतबाट पाठ सिकेर विकास र समृद्धिको लागि युवालाई घच्घचाउनु पर्छ । युवा आयो अब गर्ला भनेर चटक्क छोड्नु हुँदैन । तिनीहरूलाई निगरानी गरिरहनु पर्छ । 

अहिलेका कांग्रेसमा देउवा वा देउवाको पुस्ता, कम्युनिष्टमा ओली र प्रचण्ड वा यिनका पुस्ता सबै नै असफल भएका छन् । यिनले राज्य सञ्चालन गर्न सकेनन् । जनताको आशालाई निराशामा परिणत गरिदिए । काम गर्न सक्षम छ भने मान्छे उमेरले बुढो नहुने हुँदा उमेरलाई मात्र आधार बनाउनु पर्छ भन्न खोजेको होइन । तर अहिलेको नेतृत्वमा सक्रियता, जोश, जाँगर भन्ने केही छैन । यिनीहरू उमेरले पनि असक्षम भए सक्रियताको दृष्टिकोणले पनि शिथिल भए । 

सबै दृष्टिकोणले पूर्ण असफल भए । अबको निर्वाचनमा आशाको धिपधिपे भनेको युवा पुस्ता हुन सक्ने हुनाले परम्परित पुस्ता भन्दा नयाँ युवा पुस्तालाई मतदान गरी  विजय गराउनु पर्ने देखिन्छ ।

लोकतन्त्रमा राजनीतिक दलको नै महत्वपूर्ण भूमिका हुने भएकाले अहिलेको नेतृत्वलाई बिदा गरी दलभित्रबाट नै इमान्दार नयाँ पुस्तालाई मौका दिनुपर्छ । नेतृत्वको विद्रोह गरेर भए पनि निर्वाचनमा होमिन सक्नुपर्छ । गुटबन्दीका कारण अवसरबाट बन्चित भएका युवाहरू पार्टीका विरुद्ध अब बोल्नुपर्छ । देशको यो दुरावस्था हुँदासमेत पार्टीभित्र आलोचना गर्ने हिम्मत छैन भने मेरो पार्टी पार्टी भनेर नेतृत्वको स्तुति गाउनुको कुनै अर्थ छैन । 

पार्टीमा इमान्दार कार्यकर्ता नभएका होइनन् । गुटबन्दी र परिवारवादका कारण प्रायः इमान्दार कार्यकर्ता अवसरबाट बन्चित भएका हुन् । आगामी निर्वाचनमा यस्ता असल र इमान्दार कार्यकर्तालाई जिताइ नेपाल र नेपाली जनताको मुहार फेरौँ । (लेखक पन्थी अमेरिकाको भर्जिनियामा कर्म गरिरहेका छन्) 
 



नयाँ