arrow

मोरङमा निर्वाचनको माहोल, उम्मेदवारी घोषणा गर्न होडबाजी

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ भदौ ४ शनिबार
congress-uml-maobadi-as-jasapa.jpg

मोरङ । निर्वाचन आयोगले मंसिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति तोकेसँगै मोरङमा संघीय संसद र प्रदेश संसदको सम्भावित उम्मेदवारको चर्चा हुन थालेको छ । निर्वाचनको मिति तोकिएसँगै जिल्लाका १७ वटै पालिकामा निर्वाचनको माहोल छाउँदै गरेको देखिन्छ । प्रदेशदेखि केन्द्र स्तरका दलका नेताहरु दिनहुँजसो कार्यकर्ता भेटघाटमा व्यस्त भेटिन्छन् भने कतिपयले उम्मेदवारीसमेत घोषणा गर्न भ्याइसके ।

ऐतिहासिक हिसाबले मोरङ नेपाली कांग्रेसको गढ मानिन्छ । तर २०७४ को निर्वाचनमा जिल्लामा कांग्रेस कमजोर देखियो । त्यतिबेला नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी एकता भएको थियो । जसका कारण कांग्रेस कमजोर सावित भयो । र पनि जिल्लामा  ६ वटा निर्वाचन क्षेत्र रहेमध्ये कांग्रेसले एक स्थानमा जित्न सफल भएको थियो । माओवादीले दुई स्थान र एमालेले ३ स्थानमा जित हासिल गरेको थियो ।

यसपटकको अवस्था फरक छ । एमाले र माओवादी टुक्रिएका छन् । अहिले कांग्रेस, माओवादीसहितको पाँच दलीय गठबन्धन एकातिर छ भने सत्ता बाहिर रहेका एमालेसहितका केही दलबीच चुनावी एकता हुने सम्भावना छ । 

यसैबीच उम्मेदवारी घोषणा गर्ने क्रम पनि बढ्दै गएको छ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाको गृह जिल्लामा उनकै निर्वाचन क्षेत्रमा कांंग्रेसका प्रदेश उपसभापति रमेशजंग रायमाझीले स्थानीय निर्वाचन सकिए लगत्तै उम्मेदवारी घोषणा गरेका थिए । 

कोइरालाले निर्वाचन लड्दै आएको मोरङ ६ बाट यस पटक प्रतिनिधि सभाको उम्मेदवार बन्ने उनको भनाइ छ । कोइराला मोरङ ६ को मात्र नभएर सबैको नेता भएकोले उनले ६ नम्बर क्षेत्र आफूलाई छाडेर मोरङकै अरु कुनै क्षेत्रबाट चुनाव लड्न अनुरोध गरेको रायमाझी बताउँछन् ।  

२०७४ को चुनावमा कोइराला वाम गठबन्धनका एमाले उम्मेदवार लालबाबु पण्डितसँग मोरङ ६ मा पराजित भएका थिए । मोरङमा कांग्रेस नेता गुरुराज घिमिरेले पनि उम्मेदवारी घोषणा गरेका छन् । उनले केही समय अगाडि सामाजिक सञ्जाल ट्वीटरमा उम्मेदवारीको घोषणा गरेका थिए । 

सो क्षेत्रमा यसअघि वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता अमनलाल मोदीले कांग्रेस नेता महेश आचार्यलाई पराजित गरेका थिए । सो क्षेत्रमा पुनः महेश आचार्य आउने चर्चाका बीच घिमिरेले उम्मेदवारी घोषणा गरेका हुन् । 

सोही क्षेत्रमा कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले पनि इच्छा जाहेर गरेको बताइएको छ । कांग्रेसले माओवादीसँग गठबन्धन हुँदा क्षेत्र नम्बर ५ माओवादीलाई दिएर मोरङका अन्य ५ वटै क्षेत्र आफूले लिने तयारी गरेको स्रोतको भनाइ छ । 

यद्यपि माओवादीले क्षेत्र नम्बर ४ र ५ कुनै पनि हालतमा नछोड्ने बताएको छ । यस्तै मोरङ क्षेत्र नम्बर ३ मा पनि कोइराला पक्षका डा. सुनील शर्माको चर्चा रहेको छ । उनी समाजसेवामा पनि उत्तिकै सक्रिय रहेका कारण पनि उनको सम्भावना बढी रहेको छ । 

त्यतिमात्र होइन उनले मेडिकल कलेजमार्फत स्थानीयको निःशुल्क स्वास्थ्य परीक्षण गर्दै आएका छन् । कोरोना भाइरसको महामारी फैलिएसँगै धेरैमा स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएको चेतना जागेको छ । 
यसअर्थमा पनि नागरिकले डा. शर्माको सत्कर्मको प्रशंसा गर्न थालेका छन् । जसका कारण उनी उम्मेदवारीका लागि गठबन्धनकै बलिया प्रतिस्पर्धी देखिएका छन् । 

कांग्रेसले मोरङ क्षेत्र नम्बर १ मा पार्टी जिल्ला सभापति डिकबहादुर लिम्बू र खड्ग फागोमध्ये एकले टिकट पाउने सम्भावना छ । लिम्बू संविधानसभा सदस्य हुन् भने उर्लावारीका पुर्व नगर प्रमुख फागो कांग्रेस प्रदेश समितिका सहमहामन्त्री हुन् ।

 क्षेत्र नम्बर २ मा पनि यस पटक डा. मिनेन्द्र रिजाल र गिरिजाप्रसाद कोइरालाकी सुपुत्री सुजाता कोइरालाले चाहना राखेका छन् । रिजालले यसअघि वाम गठबन्धनका उम्मेदवार ऋषिकेश पोखरेललाई पराजित गरेका थिए । यस पटक पनि निर्वाचन लड्ने उनको चाहना छ । तर गिरिजापुत्री कोइरालाले यसअघि नै पत्रकार सम्मेलन गरी आफू गिरिजाबाबुको क्षेत्रबाट चुनाव लड्ने बताइसकेकी छिन् ।

नेकपा एमालेले पनि आफ्ना सम्भावित उम्मेदवारको नाम टिपेर बसेको छ । गठबन्धन हुँदा पनि मोरङमा स्थानीय निर्वाचनमा अघिल्लो पटकभन्दा सफल देखिएको एमाले अहिले कांग्रेस र माओवादी मिलेको अवस्थामा कसरी लड्ने भन्ने तयारीमा लागेको छ ।

एमाले स्रोतका अनुसार मोरङ क्षेत्र नम्बर १ मा निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे र बहालवाला सांसद घनश्याम खतिवडाको चर्चा छ । क्षेत्र नम्बर २ मा पार्टी अध्यक्ष ऋषिकेश पोखरेलको एकल नाम चर्चामा छ । सो क्षेत्रबाट यसअघि पोखरेल पराजित भएका थिए ।

यस्तै क्षेत्र नम्बर ३ मा पूर्व स्वास्थ्यमन्त्री तथा एमाले नेता भानुभक्त ढकाल र एमालेका पोलिटब्यूरो सदस्य गुरु बरालको चर्चा छ । पटकपटक पराजित बनेका विनोद ढकालले यसपटक मोरङ क्षेत्र नम्बर ४ रोजेका छन् । 

सोही क्षेत्रमा प्रदेश १ का पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरेले पनि दाबी गरेका छन् । क्षेत्र नम्बर ५ मा जीवन विकास लघुवित्त संस्थाका अध्यक्ष योगेन्द्र मण्डल, नेता रामलाल साह, प्रदेश सांसद ज्ञानेश्वर राजवंशी र नेतृ मीना यादवले निर्वाचन लड्ने बताउँदै आएका छन् भने क्षेत्र नम्बर ६ मा लालबाबु पण्डितको चर्चा छ । 

सोही क्षेत्रमा नेता सत्यनारायण चौधरीले पनि चुनाव लड्ने तयारी गरेका छन् । यद्यपि एमाले नेताहरुले खुलेर आफू उम्मेदवार बन्ने विषयमा सार्वजनिक गरेका छैनन् ।

यता माओवादी केन्द्रले क्षेत्र नम्बर १ बाट कुशल लिम्बू, नगेन्द्र धिमाल र प्रेम मिभक लिम्बू, क्षेत्र नम्बर २ मा गणेश उप्रेती र प्रकाश पौडेल, क्षेत्र नम्बर ३ मा सावित्री कुमार काफ्ले, गीता तिम्सिना, उम्मेदवार बन्ने आकांक्षा राखेका छन् । काफ्ले र मगर संविधानसभा सदस्य हुन् । पहिलो संविधानसभामा काफ्ले ३ नम्बर क्षेत्रबाट विजयी बनेका थिए ।

मोरङ क्षेत्र नम्बर ४ मा भने यसअघि निर्वाचित अमनलाल मोदी र प्रदेश सांसदमा निर्वाचित विजय विश्वासले चुनाव लड्ने इच्छा राखेका छन् । यस्तै क्षेत्र नम्बर ५ मा शिवकुमार मण्डल, भोगेन्द्र यादव र देवा यादवले दाबी गर्ने माओवादी स्रोतको भनाइ छ । मण्डल बहालवाला प्रतिनिधिसभा सदस्य हुन् । उनले यसअघि काँग्रेसका अमृत अर्याललाई पराजित गरेका थिए ।

क्षेत्र नम्बर ६ मा भने जीवन आचार्य, गोपी आछामी र कुमारी राईले उम्मेदवारी दिने चर्चा छ । आचार्य माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डका ज्वाइँ हुन् । 

यसअघि उनी सो क्षेत्रको १ बाट प्रदेशसभा सदस्यमा कांग्रेसका नेता चुमनारायण तबदारसँग पराजित भएका थिए । यसपटक निर्वाचन जित्न अनुकुल वातावरण बनेको भन्दै उनी क्षेत्र दौडाहामा लागेका छन् । अछामी भने संविधानसभा सदस्य तथा हालका राष्ट्रियसभा सदस्य हुन् । राई माओवादी केन्द्र प्रदेश १ की सहसचिव हुन् ।

त्यसैगरी मोरङमा मधेस केन्द्रीत दलहरुको पनि उपस्थिति रहेको छ । जसपा, लोसपा लगायतका दलहरुको पनि उपस्थिति राम्रै हुने देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ