arrow

दललाई दण्ड र पुरस्कार दिने भनेको निर्वाचन नै हो

logo
राजेन्द्र पन्थी, 
प्रकाशित २०७९ भदौ ४ शनिबार
rajendra-panthi-article-45.jpg

सरकारले आगामी मंसिर ४ गतेका लागि संघ र प्रदेशका सांसदको लागि  निर्वाचन मिति तोकेसँगै राजनीति सरगर्मी बढेको देखिन्छ । प्रत्येक पाँच वर्षमा हुने आवधिक निर्वाचनका लागि राजनीतिक दलहरू टिकट वितरणको तयारीमा रहेका  छन् । अहिलेका नेपालका राजनीतिक दलहरूको प्रमुख उद्देश्य र मूलमन्त्र भनेकै चुनावदेखि चुनावसम्म भएकाले यिनीहरूलाई जसरी पनि चुनाव जित्नुछ ।

यिनीहरू साम, दाम, दण्ड, भेद जुनसुकै नीति अपनाएर चुनाव जित्न चाहन्छ्न् । चुनाव जित्नको लागि जोसँग जे गरेर हुन्छ तालमेल वा गठबन्धन गर्न तयार छन् । दलहरूमा आफ्नो पार्टीको विचार, सिद्धान्त, आस्था वा निष्ठा केही पनि छैन । आज प्रजातन्त्र पुनर्बहाली भएको ३२ वर्ष बित्दा पनि यिनीहरूमा राजनीतिक संस्कार नदेखिनाले व्यवस्थामै खतरा पैदा हुने हो कि भन्नेछ ।

राजनीतिक दलहरूमा जहिले पनि अस्वस्थ्य प्रतिस्पर्धा र सत्ताकब्जाको प्रवृत्ति देखिन्छ । नेताले राजनीतिलाई सेवा भन्दा पनि पेशाको रुपमा विकास गरे । आज नेपालका प्रायः दलहरू मागी र ठगी खाने भाँडो बनेका छन् । यी दलहरूलाई देश र जनताप्रति कत्ति पनि चिन्ता छैन । २०७४ को नयाँ संविधान बनेपछि पनि सरकार निर्माणमा उही पुरानै सत्ताको लुछाचुँडी र जोडघटाउ नै देखियो । 

पार्टीहरू साँच्चिकै पार्टी बन्न सकेनन् र जनताले धेरै दुःख पाउनु परेको छ । हुँदाहुँदा अब कस्तो परिस्थिति सिर्जना गरिँदै छ भने वाम, दाम, हाम वा यस्तै गठबन्धनको नाममा ठाडै सत्ता कब्जा गर्ने रणनीति नै अपनाउन लागिँदै छ । दलहरूका बीचमा गठबन्धन बनाइ जनतालाई स्वविवेकको मताधिकारबाट बन्चित गराइ निर्वाचनको नौटंकी रची एकापसमा मिलेर सत्ताको रजाइँ गर्न खोजिँदै छ । 

आफू भिन्न शक्तिलाई नाङ्गेझार पारी संसदमा नै छिर्न नदिने झन् क्रुर एकतन्त्रीय शासन प्रणाली निम्त्याउन खोजिँदैछ । सबै एउटै भएपछि निर्वाचनको नाटक नै किन गरिरहनु पर्यो र ! कालेकाले मिलेर खाऊँ भाले भनेजस्तै गठबन्धन वा तालमेलको नाममा लामो सङ्घर्षपछि प्राप्त भएको लोकतन्त्रको मूल्य र मान्यता नै समापन गर्न खोजिँदै छ । यतिबेला न त दलहरूभित्र आन्तरिक लोकतन्त्रको अभ्यास र प्रयोग छ न त व्यवस्थाकै मूल्य र मान्यतालाई अवलम्बन गरिएको छ ।

समय बित्दै जाँदा लोकतन्त्र फुल्ला, फल्ला र झन् बलियो होला भनेको झन् कमजोर बनाइएको छ । लोकतन्त्र बलियो हुने प्रमुख आधार भनेको दलहरू बलिया हुनु हो । तर दलहरू नै कमजोर र विचारविहीन हुन पुगेका छन् । कुनै दलमा आफ्नो छुट्टै आस्था, सिद्धान्त र विचार भन्ने नै छैन । पार्टीका नाम कांग्रेस, एमाले, माओवादी, समाजवादी, राप्रपा आदि जे सुकै राखे पनि सिद्धान्त र विचार सबैको एउटै छ, त्यो हो–सत्तालिप्सा र कुर्सीमोह । सत्ता पाउँदा जे हुन र जे गर्न पनि तयार हुन्छन् । 

कुनै पनि पार्टीमा नैतिकता, अनुशासन, जिम्मेवारबोध र उत्तरदायित्व भन्ने छैन । नेपालको राजनीति भनेको नातावाद, परिवारवाद, कृपावाद, चाकरी, चाप्लुसी, गुटबन्दी र सत्तालिप्सामा मात्र सीमित भएको छ । यसले गर्दा नेता र कार्यकर्ता मोटाउँदै जाने तर जनता दुब्लाउँदै जाने भएका छन् । नेपाली कांग्रेसजस्तो आफूलाई प्रजातन्त्रको पर्याय मान्ने नेपालको पुरानो पार्टी आफ्नै खुट्टामा अडिएर हिँड्न नसक्ने अवस्थामा पुगेको देखिन्छ । 

पार्टीभित्र चरम गुटबन्दीले गर्दा फुट्न मात्र बाँकी देखिन्छ । अहिले साठी र चालीसको नराम्रो रोगले नेपाली कांग्रेसलाई  गाँजेको छ । यही रोगले गर्दा पार्टी एक ढिक्का हुन सकेको छैन । अहिले नेपाली कांग्रेस नै एक ढिक्का भएर एक्लै चुनावमा जान नसक्नाले गठबन्धनको नाममा दलहरूका बीचमा भागबण्डाको फोहरी खेल चलेको देखिन्छ । प्रदेशका ३६० र संघका १६५ पदमा एकापसमा बिला लगाइँदै छ । जनताको मताधिकारलाई बन्चित गर्दै सत्तालिप्साको फोहोरी खेललाई निरन्तरता दिन खोजिँदै छ । 

जनतालाई जबर्जस्त आफूलाई मन नपरेको व्यक्ति र दललाई मत हाल्न लगाइँदै छ । यस्तो जबर्जस्त गरिनु लोकतन्त्र हो र ? नेपाली कांग्रेसले आफ्ना कार्यकर्तालाई रुष्ट बनाएर सत्ताका लागि कम्युनिष्ट लगायतका पार्टीसँग साँठगाँठ गरिनु वैचारिक र सांगठनिक दृष्टिले अत्यन्तै अशोभनीय देखिन्छ । पाँच वर्ष पहिले एमाले र माओवादी मिलेर कांग्रेसलाई पाखा लगाएको क्रियाकलापलाई उसले सम्झदै पार्टी निर्माण गर्नतिर नलागेर कम्युनिष्ट फुटाउने र कम्युनिष्टलाई आफ्नो टाउकै बनाएर भए पनि सत्ता कब्जा गर्ने दाउमा लागिरहेको देखिन्छ ।

यसले क्षणिक रुपमा कांग्रेसलाई फाइदा त होला तर दीर्घकालीन रुपमा कांग्रेस आफैंलाई ठूलो घाटा हुने देखिन्छ । यसले नेपाली कांग्रेसको अस्तित्व र ऐतिहासिक विरासत समाप्त हुने देखिन्छ।

पाँच गठबन्धन भित्रका नेकपा माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले एक्लाएक्लै निर्वाचनमा जाँदा आफ्नो अस्तित्व देखाउनै नसक्ने हुनाले पनि नेपाली कांग्रेसको पुच्छर बन्न बाध्य छन् । यसले गर्दा लोकतन्त्रको आत्मा मानिने आवधिक निर्वाचनमा जनताले आफ्नो आस्थाको पार्टीलाई स्वतन्त्र रूपमा भोट दिनबाट बन्चित गराइएको छ । जनतालाई  बन्धनमा पारेर यसैलाई नै भोट दिनुपर्छ भनिनु लोकतन्त्रप्रतिको उपहास हो ।

पाँच दलीय गठबन्धनले नेकपा एमालेलाई कोठाभित्र थुनेर बिरालो कुटेजस्तै तरिकाले मानौँ कि एमाले पार्टीलाई सिध्याउन खोजेजस्तो तरिकाले लागि परेको पनि देखिन्छ । कोठामा थुनेर कुट्न लागेको बिरालो सामान्य दुब्लो, पातलो, लुरे र निन्याउरो छैन । यसलाई यसरी कुट्दा झन झम्टेर ठूलो क्षति गराउने सम्भावना पनि देखिन्छ।एमालेको संगठन यी पाँच गठबन्धनका तुलनामा धेरै बलियो नै छ।यस्तो बलियो शक्तिलाई बिरालो कुट्ने तरिकाले पाखा लगाउन खोज्नु पक्कै पनि झन् दुर्घटना निम्त्याउनु हो । 

नेपाली कांग्रेस पनि सिद्धान्त र विचारविहीन बनेर क्षणिक फाइदाका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको उक्साहटमा आफ्ना कार्यकर्तालाई चिँढाउनु अत्यन्तै गलत काम हो । लोकतन्त्रमा जनताको मन नजिती यही तरिकाले जसरी पनि सत्तामा पुग्ने परिपाटी अपनाउनु भनेको व्यवस्थालाई कमजोर बनाउनु र खिल्ली उडाउनु हो ।

नेकपा एमालेलाई पनि गठबन्धनसित प्रतिस्पर्धा गरी जसरी पनि चुनाव जित्नु पर्नेछ । गठबन्धनभित्र मुख्य शक्तिहरू नै सामेल भएको हुँदा तुलनात्मक रुपमा एमालेलाई निर्वाचनमा जित हासिल गर्न गाह्रो देखिन्छ । गठबन्धनभित्रका पार्टीहरू आफँैमा त्यति बलिया र एकजुट  नभएको हुनाले त्यसको केही थोरै फाइदा भने एमालेले लिने देखिन्छ । 

केही ठाउँमा विद्रोही र स्वतन्त्र उम्मेदवारले पनि प्रतिस्पर्धा गर्ने हुनाले एमालेको लागि आफूलाई भोट नआए पनि अरुका भोट काटिने अवस्था पनि देखिन्छ । पाँच दलीय गठबन्धनले गर्दा एमालेलाई पनि अरु साना दलहरू र पूर्वपञ्चका नामले परिचित राप्रपासित भए पनि तालमेल गर्नुपर्ने वाध्यता नै देखिन्छ । यसरी एकथरीले आफ्नो स्वार्थ पूरा गर्न गठबन्धन गर्दा अर्कोले पनि गठबन्धन गरिनु अन्यथा नभए पनि यसले राजनीतिक दल बलिया हुन भने सक्दैनन् र राजनीतिक अस्थिरता यथावत् नै रहन्छ ।

दलहरू यस्तै सत्तालिप्सा र फोहरी खेलमा रमाउन थालेकाले जनतामा दलहरू प्रतिको विश्वास घट्दै गएको छ र जनताहरू आक्रोशित छन् । कुनैबेला आँखा चिम्लेर भोट हाल्ने जनता अहिले अनुरोध गर्दा पनि दलको नाम लिन चाहँदैनन् । जनताले नपत्याउँदा कुनैबेला ठूला भनेर नाम कमाएका पार्टीहरू आफैँ अडिन नसकेर सहारा लिएर अडिएका छन् । 

सिद्धान्तविहीन भएर चलेका ती दलको अझै पनि दम्भ र घमण्ड भने यथावत रहेको छ । यसपालिको संसदीय चुनावमा स्वतन्त्र वा नयाँ दलले यिनका दम्भ र घमण्डका बङ्गारा राम्रै तरिकाले झारिदिने संकेत पनि देखिन्छ । अब नेपाली जनता सोझा छैनन् र चिम्म गरेर भोट पनि हाल्दैनन् भन्ने कुरा गत स्थानीय निर्वाचनको परिणामले देखाइसकेको छ । 

अहिलेको निर्वाचनमा जतिसुकै हेभिवेटको नेता उठे पनि तिनीहरू विजयी हुन त्यति सजिलो छैन । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई नै डडेल्धुरामा सकस देखिन्छ । अब नाति पुस्ता प्रधानमन्त्री बन्नुपर्छ भनेर उनका विरुद्धमा स्वतन्त्र व्यक्ति सागर ढकाल डडेल्धुराको चुनावी मैदानमा उत्रिसकेका छन् ।

डडेल्धुरा जस्तो कांग्रेसको गढ मानिने जिल्लामा देउवाका विरुद्धमा गुल्मीका ४० वर्षे युवा प्रतिस्पर्धामा उत्रिनु सामान्य चुनौती होइन । कांग्रेसभित्रको ६०–४० को रोग र चरम गुटबन्दी, कांग्रेसकै विद्रोहले गर्दा पनि देउवा नै ठूलो सङ्कट र सकसमा देखिन्छन् । यी र यस्तै सङ्कटले गर्दा पनि देउवाले आफ्नो पार्टी भन्दा पनि गठबन्धन बलियो बनाउन खोजेको देखिन्छ । 

कांग्रेस पनि गठबन्धन बिना चुनावमा जान डराइरहेको देखिन्छ । गठबन्धनको  टिकट बाँडफाँटले गर्दा स्थानीय निर्वाचनको तुलनामा नेपाली कांग्रेसभित्रै धेरै असन्तोष र विद्रोहका स्वरहरू आउने सम्भावना त्यत्तिकै छन् ।

राजनीतिक पार्टीहरूले वर्षौँसम्म लोकतन्त्रलाई बन्धकमा राखेर सत्ता कब्जा गरेकाले जनता आक्रान्त बनेका छन् । व्यवस्था परिवर्तन भएको वर्षौंं हुँदा पनि देश र जनताको अवस्था परिवर्तन हुन सकेको छैन । राज्यका कुनै पनि अङ्गहरू स्वच्छ र सफा छैनन् । जनताको गाँस, बास कपास, शिक्षा, स्वास्थ्य र रोजगारको लागि कसैलाई चासो नै छैन । 

सत्तामा पुग्नको लागि हरेक दलले गठबन्धन वा तालमेलका नाममा जनतालाई झुक्याउने रणनीतिमा नै लागेका छन् । लोकतन्त्रमा दलको विकल्प नभए तापनि फेरि ऊ र उस्तैलाई आँखा चिम्लेर भोट हाल्नु हुँदैन । दललाई दण्ड र पुरस्कार दिने भनेको निर्वाचन नै भएको हुनाले मतदान गर्दा अत्यन्तै होसियार हुनुपर्ने देखिन्छ । एउटा भोटमा देशको भविष्य लेखिने हुनाले निकै सोच्नु पर्छ ।

धेरै वर्षसम्म प्रतीक्षा गर्दागर्दै पार्टीहरूले कुनै मतलब र चासो नदेखाएपछि यिनीहरू प्रति वाक्कदिक्क भएर नयाँ पुस्ता अहिले राजनीतिमा सक्रिय हुन लागेको देखिन्छ ।

अब नयाँ पुस्ताले पुराना पुस्तालाई डाँडो नै कटाउनु पर्ने र ठाउँको ठाउँ हराउनु पर्ने आवाज बुलन्द भइरहेको छ । जताततै गठबन्धनको चर्चा छ । चाहे सत्ताधारी होस् वा विपक्षी ।

विभिन्न पार्टीका नामधारी भाले खान तम्सिएका कलङ्कितहरुलाई जसरी पनि यसपालिको निर्वाचनमा हुत्याउनै पर्छ भन्ने मत चलिरहेको छ । सबै दलमा सबै बेइमान छैनन् । पार्टीका इमान्दार, अनुशासित र निष्ठावान युवा कार्यकर्तालाई जिताउनु पर्छ । (लेखक अमेरिकाको भर्जिनियामा बस्छन्) 
 



नयाँ