arrow

चिनियाँ कम्युनिष्टहरु नेपाल आउन लालायित, प्रधानमन्त्री लि आउँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ११ शनिबार
li-keqiang-pm-china.jpg

काठमाडौं । चिनियाँ विदेशमन्त्री नेपाल आएको चार महिना नबित्दै चिनियाँ प्रधानमन्त्री लि खछ्याङ्ग अर्को महिना नेपाल आउने भएका छन् । नेपालमा चिनियाँ नेताहरुको सक्रियता बढिरहेका बेला चिनियाँ प्रधानमन्त्री नेपाल आउन लागेको स्रोतको दाबी छ । 

 ‘चिनिया प्रधानमन्त्रीको भ्रमण गराउन दुवै देशका नेताहरु सक्रिय रहेका छन्’, स्रोतले भन्यो । दुई महिनापछि हुने चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनले नेतृत्व परिवर्तन गर्दैछ । त्यसअघि बिदाई भेटका रुपमा लि छिमेक भ्रमणमा आउन लागेको अनुमान गरिएको छ ।

भ्रमणका क्रममा उनले नेपालको सपनाका रुपमा रहेको चिनियाँ रेल ल्याउने योजनालाई द्रूतगतिमा अघि बढाउन महत्वपूर्ण घोषणा गर्नसक्ने स्रोतको दाबी छ । अहिले कम्युनिष्ट नेता प्रकाण्ड चीन भ्रमणमा रहेका छन् । नेपाली कम्युनिष्ट पार्टीका नेताहरु चीन भ्रमणमा जाने गरेको अवस्थामा अहिले चिनियाँहरु नेपाल भ्रमणका लागि लालायीत भएका छन् । 

नेपालमा कम्युनिष्ट गठबन्धन हुन नसकेको अवस्थामा चिनियाँहरु नेपाल भ्रमणमा आउन लागेका हुन् । परराष्ट्र मन्त्री डा. नारायण खड्काको गत महिना छिन्ताओमा सम्पन्न मन्त्रीस्तरीय वार्तामा चिनियाँ पक्षले यसबारे सामान्य संकेत दिएको थियो । 

यसअघि डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला तत्कालीन समकक्षी वेन जियावाओ आठ घन्टाका लागि नेपाल आएका थिए । त्यसपछि नेपाल भ्रमण गर्ने लि खछ्याङ्ग दोस्रो चिनियाँ प्रधानमन्त्री हुनेछन् । परराष्ट्रमन्त्री खड्का साउनमा मित्रराष्ट्र चीनको तीन दिने भ्रमणमा गएका थिए । 

गत मार्चमा नेपाल भ्रमणका क्रममा चीनका विदेश मन्त्री वाङ यीले नेपाली समकक्षी खड्कालाई चीन भ्रमणको निम्तो दिएका थिए । त्यही क्रममा उनी चीन भ्रमाणमा गएका थिए । 

गत वर्ष असारमा नयाँ सरकार बनेपछि नेपालको तर्फबाट चीनमा उच्चस्तरीय भ्रमण हुन सकेको थिएन । चीनको तर्फबाट विदेशमन्त्री यी, चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय सम्पर्क विभागका मन्त्री लिउ जियान चाओलगायतको उच्चस्तरीय भ्रमण भइसकेको छ । 

त्यस्तै पछिल्लो समय अमेरिकी उच्च अधिकारीहरु नेपालमा भ्रमण गरिरहेको अवस्थामा चीनले त्यसलाई चासोका साथ हेर्दै आएको छ । अमेरिकी परियोजनाहरु अगाडि बढ्दा चीनको बीआरआई परियोजना अगाडि बढ्न नसक्नु चीनको मुख्य चासो रहँदै आएको छ । प्रधानमन्त्रीको भ्रमणमा पनि यो विषयले प्रवेश पाउने बताइएको छ ।

त्यस्तै स्थानीय तहको निर्वाचनमा वाम गठबन्धनका लागि चिनियाँले प्रयास गरेको भए पनि सफल हुन सकेको थिएन । यसपालिमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एकता गराएरै छाड्ने दृढता चीनमा देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ