arrow

चीनले पाँच वर्षसम्म ठप्प पारेर अप्ठेरो पारेपछि खोल्यो हाटबजार 

logo
नृपेन्द्रबहादुर मल्ल,
प्रकाशित २०८१ साउन ३० बुधबार
nepal-china-karnali-81-4-30.jpg

मुगु । कोरोना समयदेखि बन्द भएको मुगु-चीन हाटबजार मेला यो वर्ष चलेको छ । मुगु जिल्लास्थित नेपाल चीन सीमाना नाग्चेलाग्नादेखि नजिकै रहेको चीनको ह्यजिमार क्षेत्रमा ५ वर्षपछि नेपाल-चीनबीच  हाट बजार चलिरहेको हो ।

परापुर्वकाल देखि यो क्षेत्रमा अस्थायी रुपमा नेपाल र चीनका जनतालाई आबवश्यक पर्ने वस्तु तथा पशुचौपाया हाटबजार लगायर किनबेच गर्दै आएको भए पनि कोरोनाको समय यता हाटबजार लाग्न बन्द भएको थियो । 

अस्थायी नाका खोल्न र हाटबजार नियमित गर्न चीनियाँ दूतावास र नेपालको परराष्ट मन्त्रालयमा गाउँपालिका र मुगुबाट निर्वाचित जनप्रतिनिधि,राजनैतिक दलका अगुवाहरुले नेपाल सरकारमार्फत पहल गरेपछि यो वर्षबाट नाका खोलेर १५ दिन हाट लागेको हो  ।

नाका खोलिएपछि अगस्त १ देखि १५ तारिखसम्म (साउन १७ गते देखि ३१ गतेसम्म) हाटबजार लगाउने सहमतिअनुसार अहिले  विगत झैँ चीनको ह्यजिमारमा १५ दिन हाटबजार लागि मुगालीहरु र चीनियाँ विच आवश्यकिय सामान,वस्तु तथा वस्तुभाउ किनबेच भैरहेको  मुगम कार्मारोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याफ्ने लामाले बताए । 

हाटबजारमा मुगालीहरुले चिनियाँहरुलाई काठका लट्ठि, चुलिका सिम्रा,यार्सागुम्बा,नेपाली जुत्ता,जडिबुटी, काठ र निगालाले बनेका वस्तु,रातो चामल, सिमीको दाल, कोदो, चुलिका सिम्ग्रा,असुरो, बिक्री गरिरहेको चिनियाँहरुले  सिमेण्ट,जस्तापाता, घ्यू,भेँडा,सेतो चामल,छुर्पी, चिया, लत्ता कपडा बिक्री गरिरहेको ह्याजिमार पुगेर आएका मुगु छायाँनाथ रारा नगरपालिका वडा न १ श्रीनगर गाउका स्थानीय वृखबहादुर मल्लले बताए । 

चीनतर्फ सीमासम्मै सडक पुगेकाले ट्रकमा बिक्री गर्ने सामानहरु चिनियाँ व्यापारीहरु ल्याएका, ह्याजिमारमा  चीनले ठूलो गोदाम घर बनाएको रहेछ  चिनियाँ व्यापारीहरु आफूले बिक्री गर्न ल्याएका सामान र नेपालीबाट किनेका सामान त्यही गोदाममा राख्ने गर्दा रहेछन् ।

तर नेपालतिर सडक र भौतिक संरचना नहुँदा स्थानीय र व्यापारीहरु घोडा,खच्चर ,चौरीलाई व्यापार गर्ने सामान बोकाएर लैजाँदा रैछन् र किनेका सामानहरु पनि  तिनै घोडा,खच्चर, चौरी र आफैले बोकेर घरसम्म ल्याउने गर्दै आएका छन हाटबजार पुगेर फर्किएका सञ्चारकर्मी कविराज कार्की बताउँछन् । 

उनी भन्छन्, 'नेपाल सरकारले नेपालको सिमाना १३ नं पिल्लरसम्म सडक र भौतिक संरचना बनाइ बाह्रै महिना नाका खोल्न चीनसँग सहमति गर्ने हो भने मुगुमात्र होइन कर्णालीका १० जिल्ला, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही जिल्लाका जनताले धेरै सस्तोमा दैनिक उपभोग्य वस्तुदेखि निर्माण सामग्रीहरु पाउने देखिन्छ ।'

सस्तो र नजिकै दैनिक उपभोग्य लगायत घरायसी सामानहरु किनिरहेका मुगुबासी ५ वर्षसम्म नाका नखोल्दा भारत तथा नेपालका विभिन्न शहरहरुबाट महँगो र टाढाबाट आवश्यक सामानहरु किन्न बाध्य थिए । 

हाटबजारमा पुगेर फर्किएका श्रीनगर गाउँकै स्थानीय सोवेन्द्रबहादुर मल्ल सडक नाकासम्मै पुर्याएर निर्माण सामग्री चीनबाट किन्ने हो भने कर्णालीका विकास निर्माणका संरचना धेरै कम लागतमा बन्ने देखिन्छ । 

कर्णालीको विकास र सम्वृद्दिको कुरा गर्ने हो भने चिनियाँ नाका खोल्नुको विकल्प छैन । नजिकका नाका नखोल्ने,सडक लगायतका पूर्वाधार सीमा क्षेत्रमा नबनाउने कुरामात्र विकास र सम्वृद्दिका लागि गर्ने हो भने त्यो कर्णालीबासीलाई भुलाउन अलमलाउन मात्र गरिएको हो ।

मुगु जिल्ला सदरमुकाम गमगढीबाट नाग्चेलाग्ना नाकासम्म ८७ किमी सडक दूरी रहे पनि अहिलेसम्म नेपाल सरकारले १७ किमी सडकमात्र ट्याक खोलेको छ । बर्सेनि न्यून बजेट ठेक्का खोल्ने र कछुवा गतिमा काम गरिँदै आएको छ ।

हाटबजार अवधिभर नेपालबाट गएका नेपालीलाई सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षाकर्मीहरु पनि सीमासम्म गएको र त्यो क्षेत्रमा  व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताए । 
 
उनले भने,'चीन प्रवेशका लागि डिजिटल प्रवेश पास उपलब्ध गराउनु पर्ने भए पनि अध्यागमनको टोली डिभाइस लिएर मुगु आउन सम्भव  नभएपछि जिल्ला प्रशासनले जारी गरेको कागजी प्रवेश पास लिएर मुगालीहरु हाटबजारमा गएका छन् ।

नाग्चे लाग्ना नाका मुगु र तिब्बतको झोङ्बा काउन्टी स्थित नाइजु जोड्ने नाका हो  । मुगुसहित चीनसँग जोडिएका नेपालका १४ नाकाहरुलाई नेपाल र चीनले परम्परागत नाका भन्ने गर्दछन् । 

नेपालसँग जोडिएका १४ नाकाहरुमध्ये यो बेला ८ वटा नाकाहरु अस्थायी रुपमा खोलेर चीनले १५ दिने हाट बजार लगाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ