arrow

राजदूतको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत

चिनियाँ राजदूतको टिप्पणी सह्य छैन - सभापति यादव

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १८ शुक्रबार
rajkishor-04-10.jpg

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले सिमलतालको पहिरोमा परी त्रिशूलीमा बेपत्ता बसको बारेमा चिनियाँ राजदूत छन सोङले दिएको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत भएको बताएका छन।

उनले भारतबाट हराएका बसु र यात्रुहरु खोज्नका लागि आएको गोताखोर टोलीका बारेमा चिनियाँ राजदूतले दिएको टिप्पणी दुर्भाग्यपूर्ण रहेको बताए । उनले नेपाल र चीनको बीचमा कसरी राम्रो सम्बन्ध बनाउन सकिन्छ ? भन्ने मात्रै अधिकार राजदूतलाई हुने भन्दै नेपालको आन्तरिक मामिलामा टिप्पणी गर्ने कुरा सह्य नहुने बताए । उनले यस्ता टिप्पणीले दुई देशबीचको सम्बन्धमा दरार उत्पन्न गराउने बताए । सभापति यादवले राजदूतले आफ्नो पदीय मर्यादा भन्दा बाहिर गएर आचरण गरेको उल्लेख गरे ।

उनले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सो विषयमा गम्भीर भएको भन्दै समितिले परराष्ट्र मन्त्रालयसँग जानकारी माग्ने बताए । उनले नेपालको आन्तरिक मामिलामा मित्रराष्ट्रका राजदूतहरूले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु नेपालीहरू सह्य नहुने बताए । मन्त्रालयसँग सो बारेमा जानकारी लिएपछि समितिले आवश्यक निर्देशन दिने पनि बताए ।

उनले भने, ‘नेपालमा दुर्भाग्यपूर्ण दुर्घटना भयो । त्यो दुर्घटनामा जो बेपत्ता मान्छेहरू र सँगैसँगै दुई वटा बस हराइरहेको छ । त्यसलाई अहिले पनि नेपाल सरकारले खोज्ने कार्यमा व्यस्त रहेको छ । सँगै नेपालले आफ्ना मित्र राष्ट्र अरूसँग पनि सहयोग मागेको स्थिति छ । त्यसमा भारतबाट खोज्ने टोली आएको र त्योसँग सम्बन्धित भएर नेपालका लागि चिनियाँ राजदूतले त्यसरी टिप्पणी गरेको छ । त्यो दुर्भाग्यपूर्ण हो । यसलाई उनले नेपाल र चीनको बीचमा कसरी राम्रो सम्बन्ध बनाउन सकिन्छ ? वा चिनियाँ स्वार्थ छ, त्यसलाई नेपालमा कसरी लागू गराउन सकिन्छ भन्ने प्रमुख कार्य हो । तर उनले नेपालको आन्तरिक मामिलामा र त्यसमा पनि अहिले सामाजिक सञ्जालमा टिप्पणी गरेको छ, त्यसमा सम्मानित सदनमा यो कुरा उठेको छ, यो त दुई देशको सम्बन्धका लागि पनि राम्रो होइन । एउटा राजदूतले आफ्नो पदीय मर्यादा भन्दा बाहिर गएर आचरण गरेको देखिन्छ । यसको बारेमा वास्तवमा हाम्रो समिति गम्भीर भएको छ । परराष्ट्र मन्त्रालयले यसबारेमा के गर्दैछ, आगामी बैठकमा हामीले त्यो सम्बन्धी परराष्ट्र मन्त्रालयसँग जानकारी माग्ने नै छौँ । तथापि अहिले एउटा जनप्रतिनिधिको नाताले र समितिको नेतृत्व कर्ताको नाताले पनि नेपालको आन्तरिक मामिलामा हाम्रा मित्रराष्ट्रका राजदूतहरूले यसरी टीकाटिप्पणी गर्नु राम्रो होइन, गर्नु हुँदैन । यो नेपालको आन्तरिक मामिलामा हस्तक्षेपका रूपमा बुझेका छौँ । यसले दुई देशको सम्बन्धलाई राम्रो गर्दैन भनेर हेक्का राख्दा नै राम्रो हुन्छ । हामीले कुनै पनि देशको राजदूतलाई हाम्रो आन्तरिक मामिलामा टीकाटिप्पणी गर्ने, निर्देशन दिने कुरा सह्य हुँदैन । यो भयो भने अरू देशका राजदूतले यसो गर् । उसो गर् भनिरहन्छ । त्यसैले हामीले परराष्ट्र मन्त्रालयलाई के कारणले यस्ता टिका टिप्पणी भइरहेको छ, यसलाई तत्काल रोकथाम गर्न मन्त्रालयले के पहल गरेको छ, त्यो जानकारी लिइसकेपछि मन्त्रालयलाई दिने निर्देशन र प्रभावकारी कदमका लागि काम हुनेछ ।’

राजदूत सोङले सिमलताल पहिरोमा बेपत्ता मानिस र बस खोज्न छिमेकी देश भारतबाट आएको गोताखोर टोलीप्रति लक्षित गर्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए । सो विषयलाई लिएर संसद्मा पनि सांसदहरूले आवाज उठाइरहेका छन् । राजदूतलाई बोलाएर स्पष्टीकरण सोध्नुपर्ने माग सांसदहरूको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ