arrow

चन्द्र धरातलमा फर्किदै मानव जाति, आज गर्दैछ नासाले प्रक्षेपण

logo
प्रकाशचन्द्र जोशी
प्रकाशित २०७९ भदौ १३ सोमबार
nasa-artemis-1.jpg

काठमाडौं । मानव जातिको कठोर ज्ञिज्ञासा, कौतुहलता र अन्वेषणकै नतिजा हो विश्व अहिलेको अवस्थामा पुग्नु । सन् १९५७ को अक्टोबर ४ मा तत्कालीन सोभियत संघले पृथ्वीको परिक्रमा गर्ने पहिलो कृत्रिम उपग्रह स्पुतनिकको प्रक्षेपण गरेसँगै मानव जातिले अन्तरिक्ष अन्वेषणको युगमा प्रवेश गरेको थियो ।

पहिलो कृत्रिम उपग्रह स्पुतनिक १

त्यसपछि सोभियत संघले नै सन् १९६१ मा भोस्तोक १ को प्रक्षेपण गर्दै पहिलो पटक अन्तरिक्षमा मानवलाई पुर्याएको थियो । पूर्वी १ समेत नाम दिइएको भोस्तोक १ कार्यक्रमको पहिलो अन्तरिक्ष उडानले रुसी अन्तरिक्ष यात्री युरी गागारिनलाई अन्तरिक्षमा पुर्याएको थियो । सो अन्तरिक्षयानले करिब १ घण्टा ४८ मिनेटमा विश्वको परिक्रमा पूरा गरेको थियो ।

भोस्तोक १

सोभियत संघसँग त्यतिबेला शितयुद्धमा रहेको संयुक्त राज्य अमेरिकाले अन्तरिक्ष दौडमा पनि यससँग प्रतिस्पर्धा शुरु गरेको थियो । अन्तरिक्षमा यान पठाउनेदेखि मानव पठाउनेसम्म सोभियतले सफलता पाएपछि अमेरिकाले पनि यो दौडमा गति बढायो ।

त्यसपछि अपोलो ११ मिसन अन्तर्गत सन् १९६९ को जुलाई २० मा अमेरिकी अन्तरिक्ष यात्री निल आर्म्स्ट्रङ चन्द्रमामा पाइला राख्ने पहिलो मानव बनेका थिए ।

अपोलो ११ मिसन अन्तर्गत चन्द्रमामा निष्क्रिय भूकम्प परीक्षण प्याकेजको छेउमा एल्ड्रिन, पृष्ठभूमिमा अन्तरिक्ष यान ईगल

निल आर्म्स्ट्रङ र बज एल्ड्रिनले चन्द्र धरातलमा उत्रेपछि करिब तीन घण्टा त्यहाँ रहेर विभिन्न प्रयोगहरु गरेका थिए । तेस्रा अन्तरिक्ष यात्रि माइकल कोलिन्सले भने अन्तरिक्ष यानमै रहेर मिसनलाई सफल पारिरहेका थिए ।

चन्द्र धरातलमा फेरि मान्छे पुर्‍याउन नासाको विशाल रकेट परीक्षण हुँदै

आर्टेमिस १

चन्द्रमामा पहिलो पटक मानव अवतरण भएको आधा शताब्दीपछि अमेरिकाको अन्तरिक्ष अन्वेषण एजेन्सी राष्ट्रिय एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) ले चन्द्रमा र डीप स्पेस (गहन अन्तरिक्ष) अन्वेषण महत्वाकांक्षामा अर्काे ठूलो फड्को मार्ने तयारी गरेको छ ।

चन्द्र धरातलमा मान्छे फेरि पठाउने लक्ष्य राखिएको आर्टेमिस कार्यक्रम अन्तर्गत पहिलो चरणमा नासाले आज अर्थात् अगस्त २९ मा मानवरहीत अन्तरिक्ष यान चन्द्रमाको कक्षमा पठाउनका लागि प्रक्षेपण हुँदैछ ।

अन्तरिक्ष एजेन्सी नासाको नयाँ पुस्ताको मेगारकेट स्पेस लन्च प्रणाली (एसएलएस) संयुक्त राज्य अमेरिकाको दक्षिणस्थित फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण हुने भएको छ।

आर्टेमिस १ भनिने यो मिसनले चन्द्रमाको वरिपरि छ हप्ताको परीक्षण उडानमा मानवरहित ओरियन अन्तरिक्ष यान पठाउने र सुरक्षित रूपमा पृथ्वीमा फर्काउने लक्ष्य राखेको छ ।

३९ बी प्याडमा ओरियन स्पेसक्राफ्टसहित प्रक्षेपणका लागि तयार एसएलएस ब्लक१

एसएलएसलाई संसारको सबैभन्दा जटिल र शक्तिशाली रकेट मानिएको छ । यस्तै यो रकेट सन् १९६० र सन् १९७० को दशकमा अपोलाे कार्यक्रमको समयमा उडेको स्यार्टन भी रकेटपछि अन्तरिक्ष एजेन्सीले निर्माण गरेको सबैभन्दा ठूलो हो।

यसको पहिलो प्रक्षेपणको उद्देश्य भनेको रकेट, ओरियन अन्तरिक्ष यान र जमीन अर्थात् पृथ्वीमा अवस्थित सुविधालाई एक जटिल तनावपूर्ण परीक्षणको माध्यमबाट मानवसहितको उडान भर्नका लागि तयार ठहर गर्नु हो ।

परीक्षण उडान पछिका पछिल्ला मिसनहरूमा अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको परिक्रमा गर्न अन्तरिक्ष यात्रीहरू पठाउने योजना बनाएको छ । त्यसपछि चन्द्रमा धरातलमा फेरि मानव जातिलाई अवतरण गराउने र त्यसमा पहिलो महिला र पहिले रंग विशेषको व्यक्तिसमेत समावेश रहने छ ।

'ओरियन विशेष गरी डीप अन्तरिक्ष अभियानहरूमा अन्तरिक्ष यात्रीहरूलाई पहिले भन्दा धेरै टाढा लैजानको लागि डिजाइन गरिएको हो,'  नासाले भनेको छ,'यसले सौर्य विकिरण र पृथ्वीको वायुमण्डलमा तीव्र गतीको प्रवेशबाट सुरक्षा प्रदान गर्नेछ । यसका साथै सञ्चार र जीवन समर्थनको लागि उन्नत र भरपर्दो प्रविधिहरू प्रदान गर्नेछ ।'

नासाको आर्टेमिस कार्यक्रममा मानव पठाउन प्रयोग गरिने स्पेसक्राफ्ट ओरियन 

अन्तरिक्ष यानको चालक दल क्याप्सुलमा अपोलो क्याप्सुल भन्दा लगभग ३० प्रतिशत अधिक स्पेस रहेको र कम चन्द्र कक्षामा आफ्नो प्रारम्भिक मिसनहरूमा २१ दिनसम्म चार जना चालक दल रहन सक्ने नासाले जनाएको छ ।

एसएलएस एक मोड्युलर रकेट हो । यसमा चालक दल र कार्गोलाई चन्द्रमा र त्यसपछिका भविष्यका उडानहरूमा समायोजन गर्ने क्षमता छ। 

रकेट प्रणालीका आधारभूत तत्वहरू, जस्तै कोर इन्जिन र रकेट बूस्टरहरू, भेरियन्टहरूमा एउटै किसिमका छन् । यद्यपि यी प्रणालीहरूअपग्रेड हुने अपेक्षा गरिन्छ । जसबाट यिनीहरूलाई भारी पेलोड बोक्न सक्षम हुनेछन् ।

नासाले प्रारम्भिक ब्लक १ रकेट पहिला तीन आर्टेमिस मिसनहरूको लागि बनाइएको बताएको छ। ब्लक २ कन्फिगरेसन रकेट नियोजित लटको सबैभन्दा शक्तिशाली, चन्द्रमा, मंगल ग्रह र अन्य डीप अन्तरिक्ष गन्तव्यहरूमा कार्गो पठाउनको लागि अन्तरिक्ष एजेन्सीको वर्कहोर्स वाहनका रुपमा काम गर्नेछ ।

४२ दिने मिसनले ओरियन अन्तरिक्ष यानलाई अक्टोबर १० मा प्रशान्त महासागरमा खस्नु अघि पृथ्वीबाट ४ लाख ५० हजार किलोमिटर टाढा लैजानेछ। उडानमा धेरै सावधानीपूर्वक योजनाबद्ध दिशानिर्देह एवं चालक्रिया समावेश हुनेछन् ।

केनेडी स्पेस सेन्टरमा लन्चप्याडमा एक घण्टा लामो क्रल गरेपछि अगस्त १६ मा नयाँ रकेट प्रणाली पहिलो पटक पूर्ण रूपमा जाडन भएपछि अनावरण गरिएको थियो ।

'एसएलएसले चन्द्रमा, मंगल र बाहिरी ग्रहहरूको मानव र रोबोटिक अन्वेषण दुवैको लागि कुनै पनि हालको प्रक्षेपण वाहन भन्दा ठूलो मात्रा र भोल्युम प्रदान गर्न बेजोड क्षमता प्रदान गर्दछ,' अन्तरिक्ष एजेन्सी नासाले आफ्नो मिशन सन्दर्भ गाइडमा भनेको छ ।

आजको यो प्रक्षेपण ग्रीनविच मीन समय १२३३, पूर्वी समय अनुसार बिहानको ८ बजेर ३३ मिनेट र नेपाली समय अनुसार लगभग साँझ ६ बजेर १८ मिनेटमा हुनेछ । अगस्ट २९ अर्थात् आज खराब मौसम वा कुनै प्राविधिक समस्या भएमा नासाले प्रक्षेपणका लागि अर्काे मिति सेप्टेम्बर २ र सेप्टेम्बर ५ राखेको छ ।

आर्टेमिस कार्यक्रम

आर्टेमिस कार्यक्रम अन्तर्गत यो प्रक्षेपणले चन्द्र कक्षमा यान पठाएर सो यान पृथ्वीमा फिर्ता अवतरण हुनेछ । यो ४२ दिनको मिसन हो ।

अर्काे प्रक्षेपण सम्भवत सन् २०२४ को मेमा हुनेछ । त्यतिबेला भने चार जना अन्तरिक्ष यात्री चन्द्रमाको आकासमा उडान भरेर फिर्ता आउनेछन् । यो १० दिनको मिसन रहनेछ ।

तेस्रो प्रक्षेपण सम्भवतः सन् २०२५ मा हुनेछ । त्यतिबेला चार जना चन्द्रमाको आकासमा उडान भर्ने छन् र तीमध्येका दुई जना चन्द्रमामा अवतरण गर्ने छन् । त्यसपछि पृथ्वीमा फिर्ता आउनेछन् । यो मिसन सफल भएमा अपोलो कार्यक्रमपछि दोस्रो पटक चन्द्र धरातलमा मानव जातिको अवतरण हुनेछ ।

आर्टेमिस कार्यक्रम अन्तर्गत थप प्रायोजनका लागि चौंथो, पाचौं र छैटौं प्रक्षेपण पनि तय गरिएको छ ।

चन्द्र धरातलमा फेरि मान्छे पुर्‍याउन नासाको विशाल रकेट परीक्षण हुँदै

चन्द्रमामा पहिलोपटक महीला पठाउँदै नासा, ३० अर्ब डलरको लागतको अनुमान

चन्द्रमामा आणविक विस्फोट गराउने अमेरिकी योजनाका कागजात बाहिरिए



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ