arrow

प्रचण्ड ओलीप्रति लचिलो बनेपछि पार्टीभित्रबाट बढ्यो असन्तुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १४ मंगलबार
oli-dahal1.jpg

काठमाडौँ। कुनै समय राजनीतिक शत्रुको व्यवहार गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच वर्षअघि एउटै मोर्चा बनाएर चुनावमा होमिए। चुनावले सकारात्मक परिणाम दिएपछि उनीहरूले २०७५ जेठमा पार्टी एकता गर्दै नेपाल कम्युनिस्ट पार्टी गठन गरे। तर, उक्त एकता तीन वर्ष पनि टिक्न सकेन।

प्रधानमन्त्रीमा पाँच वर्षसम्म आधा आधा कार्यकालको भागबन्डा गरे पनि ओलीले उक्त भद्र सहमति उल्लङ्घन गरेपछि प्रचण्ड आक्रोशित बनेका थिए। प्रचण्डलाई ठेगान लगाउन ओलीले असंवैधानिक रूपमा संसद् विघटन गरे। संसद् विघटन ओलीका लागि नै प्रत्युत्पादक बन्यो। ओलीलाई सत्ता च्युत गर्न प्रचण्डलाई माधव नेपालले पनि साथ दिए।

तीन नेताहरू तीनतिर भएपछि नेकपा विभाजन भएर तीन वटा पार्टी बन्यो। फेरि पछिल्लो समय सङ्घ र प्रदेश निर्वाचन नजिकिएसँगै प्रचण्ड ओलीसँग लचक देखिएका छन्। ओलीले पनि प्रचण्डप्रति आगो ओकल्ने क्रमलाई रोकेका छन्। चीनले वाम एकताको कसरत गरिरहेको समयमा दुवै नेताहरू एक अर्काप्रति सहिष्णु र लचिलो बनेपछि फेरि तालमेलको सम्भावनाको विषयमा पनि चर्चा भइरहेको छ।

तर, प्रचण्ड नै ओलीप्रति लचिलो बनेपछि भने उनकै पार्टीभित्र असन्तुष्टि बढेको छ। अर्थमन्त्रीसमेत रहेका उपमहासचिव जनार्दन शर्मालाई बदनाम गराउन ओली ग्याङ लागेको भन्ने बुझाइमा रहेको माओवादीभित्र ओलीसँगको एकता स्वीकार गर्न नसकिने बताइएको छ। शर्माले प्रचण्डलाई भेटेर प्रतिगामी ओलीसँग कुनै पनि किसिमको तालमेल र लचकता देखाउन आवश्यक नभएको बताएका छन्।

शर्माले भेटेपछि एक सार्वजनिक कार्यक्रममा ओलीलाई व्यङ्ग्य गर्दै प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन्। ‘हाम्रो पार्टी त्यस्तो हो, जसको क्रान्तिकारी रूपान्तरणको सम्भावना बाँकी छ, अन्य पार्टीबाट त्यो सम्भावना छैन,’ बागमती प्रदेशबाट पदाधिकारी, केन्द्रीय सदस्यहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रचण्डको भनाइ उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘चुनावदेखि चुनावबाट मात्र यो पार्टी क्रान्तिकारी रहिरहँदैन। यस मानेमा केपी ओलीलाई धन्यवाद! किनकि उनले दुई चोटि संसद् विघटन गरेर हामीभित्रको क्रान्तिकारीपन जगाउन योगदान गरे।’

उनले माओवादीभित्रको कुण्ठा र अन्तर्विरोध हल गर्न सके पहिलो कम्युनिस्ट पार्टी हुने ठोकुवा गरे। ‘हामी भित्रको अन्तर्विरोध र कुण्ठा हल गर्न सक्दा अहिले पनि देशकै पहिलो कम्युनिस्ट पार्टी बनाउन सक्छौँ,’ नेताहरूसँग प्रचण्डले भने। प्रचण्डले एकीकृत समाजवादी र जनता समाजवादीलाई साथमा लिएर काँग्रेससँग बार्गेनिङ गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ