- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अपांगता भएका व्यक्तिहरूको चुनावी प्रवर्धन गर्न एक अभिमुखीकरण कार्यक्रम गरिएको छ । सेन्टर फर इन्डिपेन्डेन्ट लिभिङ (अपाङ्गता भएका व्यक्तिका लागि स्वावलम्बन जीवन पद्धति केन्द्र) सीआईएलको आयोजना तथा स्थानीय पहलकदमीका लागि क्यानडेली सहयोग (सीएफएलआई) को सहयोगमा मंगलबार सम्पन्न भएको हो ।
३० विभिन्न प्रकारका अपांगता भएका व्यक्तिहरू सहभागी रहेको उक्त अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रमको उद्घाटन क्यानडेली मिशनकी उपप्रमुख अमान्डा स्ट्रोह्यानले गरेकी थिइन् ।
तीन सत्रमा विभाजन गरेर आयोजना गरिएको उक्त प्रशिक्षणात्मक कार्यक्रममा अपांगता भएका व्यक्तिहरूको राजनैतिक प्रतिनिधित्व, चुनावी उम्मेदवारी तथा समानुपातिक समावेशी सहभागिताको महत्व, अवस्था र विकासका लागि आवश्यक प्रयत्नहरूको बारेमा सहभागीहरूलाई ज्ञान तथा कौशल प्रदान गरिएको थियो ।
कार्यक्रममा संस्थाका प्रतिनिधि, क्यानडेली मिशनकी उपप्रमुख अमान्डा स्ट्रोह्यान, क्यानडेली फन्ड की प्रथम सचिव स्टेफनी, विविध अपांगता भएका व्यक्तिहरूका संघसंस्थाका प्रतिनिधिहरू, अधिकारकर्मी तथा सरकारी निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
उक्त औपचारिक सत्रमा बोल्दै विविध अपांगता अभियन्ता तथा अधिकारकर्मीहरूले राजनैतिक पहुँच र अधिकारबाट अपांगता भएका व्यक्तिहरू वञ्चित हुनु परिरहेको विवशता केलाउँदै यसमा सरकारी संयन्त्र, राजनैतिक दल तथा स्वयं अपांगता भएका व्यक्तिहरूले यथोचित कदम चाल्न नसकेको बताए ।
उपेक्षा र बहिष्करणमा परेको अपांगता भएकाहरूको समुदायलाई निर्वाचनदेखि नै पाखा लगाउने प्रवृत्ति हावी रहेको वक्ताहरूको भनाइ थियो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय अपांग महासंघका निवर्तमान अध्यक्ष सुदर्शन सुबेदीले तमाम चुनौतीका बावजुद सीआईएलले लिएको पहलकदमीको प्रशंसा गर्दै साझेदार सीएफएलआई समूहलाई उचित समयमा अत्यावश्यक परियोजना सञ्चालन गर्न सहकार्य गरिदिएकोमा धन्यवाद दिए ।
यस्तै आसन्न चुनाव लक्षित यस परियोजना अपांगता भएका व्यक्ति र त्यसमा पनि थप पिछडिएका महिलालगायत वर्गहरूको नीति निर्माण तहमा पहुँच पुर्याउन फलदायी हुने विश्वास अपांगता भएका महिलाहरूको महासंघकी अध्यक्ष निर्मला धितालले व्यक्त गरिन् ।
यस्तै काठमाडौं महानगरपालिका सामाजिक विकास विभागका प्रमुख दीपक अधिकारीले अपांगता भएका व्यक्तिहरूको जिवनस्थर उकास्न प्रयत्नहरू हुनुपर्ने भन्दै यसमा महानगर लागि पर्ने बाचा गरे ।
यसका साथै नेतृत्वमा पुग्नका लागि आवश्यक सीप र ज्ञान हासिल गर्नका लागि सहभागीहरूलाई शुभकामनासमेत दिए ।
राष्ट्रिय अपांग कोशका सभापति डेगराज भट्टराईले एक मात्र सरकारी निकाय अपांग कोशको अवस्था पनि निकै समस्याग्रस्त रहेको भन्दै अपांगता भएकाहरूको समुदायप्रति राज्य र सरोकारवालाहरूको यथोचित ध्यान नपुगेकोमा गुनासो गरे ।
कार्यक्रममा सहभागी हुन पाएकोमा गौरब महसुस गरेको बताउँदै प्रमुख अतिथिसमेत रहेकी क्यानडेली मिशनकी उपप्रमुख अमान्डा स्ट्रोह्यानले अपांगता भएकाहरूको प्रतिनिधित्व र मूलप्रवाहीकरण अझै पनि चुनौतीपूर्ण रहेको बताइन् ।
उनले राज्य र समाज समग्र रुपमा अघि बढ्न सबै तप्का र तहका व्यक्ति तथा समुदायको विकास र प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने राय राख्दै यो परियोजना त्यस प्रयत्नमा सहयोगी सिद्ध हुने विश्वास व्यक्त गरिन् ।
समग्र परियोजनाको सफलताको कामना गर्दै उनले सबै वर्गको अपनत्व र योगदानबाट मात्र समावेशी र सम्वृद्ध समाज र राष्ट्र निर्माण हुने कुरामा पनि जोड दिइन् ।
कार्यक्रमका सभाध्यक्ष एवं सीआईएल काठमाडौंका अध्यक्ष टेकबहादुर गुरुङले अपांगता भएका व्यक्तिहरूको राजनैतिक पहुँच र समावेशीकरण लक्षित यस परियोजनाले धेरै भन्दा धेरै अपांगता भएका सांसद तथा जनप्रतिनिधि बनाउन सहायक हुने आशा लिए ।
उनले यस परियोजनाले अपांगता भएका व्यक्तिहरूको उमेद्वारी प्रवर्धन गर्न पैरवी तथा वकालतमार्फत वातावरण निर्माण गर्ने तथा संभावित एवं इच्छुक अपांगता भएका व्यक्तिहरूको नेतृत्व, क्षमता र ज्ञान अभिवृद्धिका लागि तथा उनीहरूको उत्साहलाई बल दिनका लागि अभिमुखीकरण तथा तालिम कार्यक्रम गरिँदै जाने बताए ।
उद्घाटन सत्रपश्चातका बैठकमा अपांगता, समावेशीकरण, कानून एवं पहुँच लगायतका विषयका विज्ञ प्रशिक्षकहरूले अपांगता भएका व्यक्तिहरूलाई राजनैतिक अधिकार तथा प्रतिनिधित्वका विषयमा आवश्यक ज्ञान एवं मार्गदर्शन प्रदान गरेका थिए ।
सीआईएल काठमाडौंले थप दुई अभिमुखीकरण कार्यक्रम एवं प्रशिक्षणात्मक तालिम कार्यक्रम तथा विविध निकायसँगको समन्वय एवं पैरवीका कार्यक्रमहरू गरेर यथासंभव अधिक संख्यामा अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व हुने वातावरण सृजना गर्ने संस्थाका प्रतिनिधिले जानकारी दिए ।