- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सन् १९२९ मा रामनारायण लोहियाले वीपी कोइरालालाई पहिलोपटक महात्मा गान्धीसँग भेटाउँदा गान्धीले वीपीलाई भनेका थिए ‘तिमी एक निडर व्यक्ति रहेछौ, राजनीतिक आन्दोलन भनेको सामान्य विषय होइन, यस्तो असामान्य बाटोमा कसको प्रेरणाले लाग्यौ ? वीपीको उत्तर थियो, जनताको स्वतन्त्रता खोसिनु भनेको मेरो प्राण खोसिनु सरह हो, राणाशासकले हाम्रो परिवारको सम्पूर्ण सम्पत्ति कब्जा गरेको छ, हामीलाई हाम्रो मातृभूमिमा बस्न नदिएर लखेटेको छ, हाम्रो जत्तिको परिवार त निरंकुश शासकबाट यसरी लखेटिनु परेको छ भने सर्वसाधारण गरिब जनताहरुको के हालत होला ? हामी अहिले दिनमा एकपटक खोले खाएर जीवन बिताउन बाध्य भएका छौं । यसर्थ नेपाली जनताको मुक्ति अपरिहार्य छ, त्यसको लागि संघर्ष गर्न म मेरा पिता कृष्णप्रसाद कोइरालाको प्रेरणाबाट राजनीतिमा लागेको हुँ ।’ वीपीको यो भनाइबाट गान्धीजस्ता नेता चुप लागेका थिए ।
वीपी सहितका नेताहरुको नेतृत्वमा २००७ सालको क्रान्ति सफल भएपछि नेपालमा प्रजातन्त्र त आयो तर वास्तविक प्रजातन्त्र आएन । विशेषगरी भारतले नेपालमा प्रजातन्त्रको अनुभूति गर्न नदिएको बुझिन्छ । नेपालमा प्रजातन्त्रको उदयसँगै तत्कालीन राणा, राजा र कांग्रेस सम्मिलित सरकार बनेको भए पनि त्यसको विरुद्धमा वि.सं. २००८ सालमा जवाहरलाल नेहरुको निगाहमा मातृकाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाइयो । त्यस्तै यथाशक्य छिटो विधान सभाको निर्वाचन गरी निर्वाचित विधान सभाले बनाएको नयाँ संविधान बमोजिम देशको शासन सत्ता सञ्चालन गरिनेछ भनी नेपालको अन्तरिम शासन विधान, २००७ को प्रस्तावनामा उल्लेख गरिएको व्यवस्थालाई लत्याएर विभिन्न संघर्ष पश्चात् २०१५ सालमा पहिलोपटक नेपालमा आमनिर्वाचन सम्पन्न गराइएको थियो ।
नेपालको पहिलो आम निर्वाचनमा तत्कालीन कांग्रेस पार्टीले दुई तिहाई बहुमत ल्याइ वीपीलाई प्रधानमन्त्री बनाउने निर्णय गरे बमोजिम वीपी पहिलो जननिर्वाचित प्रधानमन्त्री त बने तर २०१६ सालमा वीपीले प्रधानमन्त्रीको हैसियतमा गरेको चीनसँगको सगरमाथाको विवाद सम्बन्धी सम्झौता, इजरेललाई मान्यता दिने र पाकिस्तानमा दूतावास खोल्ने निर्णय नेपालको वैदेशिक सम्बन्ध सञ्चालनमा भारतको छायाँबाट मुक्त भई स्वतन्त्र तवरमा गरिएको निर्णय भएकै कारणले नेहरुमा उत्पन्न हुन गएको छटपटी र नेपालमा बढ्दै गएको वीपीको लोकप्रियताबाट रुष्ट बनेका राजा महेन्द्रको साँठगाँठमा २०१७ सालमा वीपी नेतृत्वको सरकार अपदस्थ गरियो ।
संयुक्त राष्ट्र संघलगायत विश्वका महत्वपूर्ण राजनीतिक मञ्चमा देशको हित अनुकूलका विषयहरु प्रस्तुत गर्ने चतुरता वीपीमा भएकै कारण नेहरु वीपीसँग चिढिएका थिए । जननिर्वाचित आफ्नो सरकारमाथि ‘कू’ गर्न नेहरुसँग राजा महेन्द्रले स्वीकृति लिएको कुरा थाहा पाएका वीपीले प्रजातन्त्रमाथि अंकुश लगाउन राजालाई सहयोग नगर्न भनी नेहरुसँग अपिल त गरे तर आफ्नो स्वार्थपूर्तिका लागि उनी चुप लागे ।
यसरी वीपी कुनै पनि राजनीतिक आन्दोलन विदेशी भूमिको मध्यस्थतामा गर्ने कुराको बर्खिलापमा थिए । वीपीले नेपालमा पहिलोपटक प्रजातन्त्र उदय भएलगत्तै भारतले जहिले पनि नेपाली राष्ट्रियता तथा राष्ट्रिय पहिचान समाप्त पार्न जातीय पहिचानका मुद्दा उठाउने, जातीय विद्वेष फैलाउने र त्यसको लागि नेपाली भूमीमा हत्या हिंसाको लहर ल्याउने काम गरिरहनेछ भने राष्ट्रिय एकतामा खलल पुर्याउन नेपालमा जातियता, क्षेत्रीयता र उग्र कम्युनिष्टहरुसँगको सहकार्य पर्याप्त हुनेछ भन्ने भविष्यवाणी गरेका थिए ।
वीपीले असंलग्न आन्दोलनको सन्दर्भमा भनेका थिए, ‘नेपाल जस्ता साना देशहरुका लागि असंलग्न आन्दोलन भनेको अमेरिका वा रुसका शक्तिशाली गठबन्धनमध्ये कतैतिर नलाग्ने वा तटस्थ बस्ने भन्ने होइन । हामी असंलग्न यसकारणबाट छौं, हामी आँखा चिम्लेर कसैको समर्थन गर्न जाँदैनौ, हामी असंलग्न हुनुको अर्थ हरेक अन्तर्राष्ट्रिय मुद्दालाई निष्पक्ष रुपमा केलाउने र आफ्नो धारणा बनाउनका लागि हो । हामीले सत्य ठानेको कुनै मुद्दामा प्रष्टसँग हाम्रो धारणा राख्न हामी कहिल्यै डराएका छैनौं । तथापि खुला सीमाना, रहनसहन, धर्म, भाषा, रीतिरिवाज र पारिवारिक सम्बन्ध लगायतका कारण भारतसँग राजनीतिक र आर्थिक हिसाबले चीनभन्दा नजिकको सम्बन्ध राख्नुपर्ने तर सानो देश नेपाल वैदेशिक नीति र कूटनीतिका हिसाबले पूरै भारतमा निर्भर भएजस्तो देखिन नहुने उनको जोड थियो ।
भारतीय समाजवादी नेता जयप्रकाश नारायणले २०३१ सालमा तत्कालीन भारतीय प्रधानमन्त्री ईन्दिरा गान्धीविरुद्ध आन्दोलनको घोषणा गरे । त्यसबेला वीपी कोइराला भारतमा निर्वासित जीवन बिताइरहेका थिए । वीपी भारतमा चलिरहेको आफू विरुद्धको समाजवादी आन्दोलनमा नलागून् भन्ने ईन्दिरा गान्धीको मनसाय थियो । तर गान्धीले नेपालमा राजा र वीपीलाई कुनैपनि हालतमा मिल्न नदिने अनि नेपाललाई भारतीय भूमिमा नै गाभ्ने षडयन्त्र गरिरहेको कुरा बुझेपछि वीपीले इन्दिरा गान्धीले भारतमा लगाएको संकटकाललाई लोकतन्त्रको हत्या आत्मकेन्द्रित निरंकुश निर्णय भन्दै त्यसको विरोधमा ‘भारत अब ठूलो जेल भयो, सानो जेल नेपालमै फर्किन्छु’ भनी टिप्पणी गरेका थिए ।
यसै क्रममा वीपीलाईसमेत जानकारी नदिइ नेपालमा फेरि अर्को सशस्त्र आन्दोलनका लागि भारतबाट आर्थिक र नैतिक समर्थन माग्न गिरिजाप्रसाद कोइराला ईन्दिरा गान्धीलाई भेट्न गएका थिए । त्यतिबेला ईन्दिराले वीपी बुढो र अस्वस्थ्य भएकाले उनलाई क्रान्तिको नेतृत्व गर्न भनेकी थिइन् । त्यो कुरा वीपीले थाहा पाएपछि भनेका थिए, ‘उनीहरुले दाजु (मातृका) र मलाई जसरी फोडे, त्यसैगरी तिमी र मलाई फोड्न लागेका हुन्, उनको विश्वास गर्नु हुँदैन, भारतीयहरु नेपालप्रति जहिलेपनि गिद्दे आँखा लगाउँछन्, यस विषयमा तिमी सधै चनाखो रहनु, अब हामीले नेपालका सबै राष्ट्रवादीहरुसँग हातेमालो गरी सहकार्यको माध्यमबाट हाम्रो देशको रक्षा गर्नुपर्दछ ।’
यसैबीच तत्कालिन सोभियत संघको अफगानिस्तानमाथि हमला, इन्डोनेसियामा साम्यवादी दलले सुकार्नोको सत्तापलट गर्ने असफल प्रयास, भारतमा सिक्किमको विलय, भारतमा बढ्दो सोभियत प्रभाव तथा दरबारमा ‘रोयल कम्युनिष्ट’ हरुको बाक्लो उपस्थितिलाई नियालिरहेका वीपीले राष्ट्रिय मेलमिलापको नीति अख्तियार गरी २०३३ सालमा स्वदेश फर्कने निर्णय गरे ।
सोही समयमा वीपीको व्यक्तित्वबाट प्रभावित भारतीय समाजवादी नेता मधु लिमयेले ‘ईन्दिरा ठूलो देशकी नेता भएर ठूलो भइन् होला तर भारतमा अहिले पनि ईन्दिरा पछि कुनै ठूला नेता छन् भने वीपी नै हुन् र उनी अन्तर्राष्ट्रिय छवि भएका नेता हुन्’ भनेर भारतीय संसदमै भनेका थिए ।
जनमत संग्रहताका मनमोहन अधिकारीले एकपटक वीपीलाई राजाविरुद्ध संयुक्त आन्दोलन गरौं भनी कोही व्यक्तिमार्फत प्रस्ताव गरेका रहेछन् । यस विषयमा वीपीले भनेका थिए, विश्वभरि जति कम्युनिष्ट छन्, उनीहरु निकै बाठा छन्, नेपालका कम्युनिष्ट मलाई फसाउन खोजिरहेका छन्, हामी ठूलो पार्टी हौं, कम्युनिष्टहरु ५–७ टुक्रामा विभाजित छन् । समूह बनाउँदा उनीहरु अस्वभाविक भाग माग्छन्, आफ्नो संख्या बढी देखाउँछन्, सबै निर्णय आफ्नै हिसाबले गर्न खोज्छन्, अनि हामीले मानेनाँै भने कांग्रेसले बिगार्यो भनेर गाली गर्छन् । कम्युनिष्ट प्रोपोगाण्डा गर्न निकै माहिर छन्, उनीहरुलाई आन्दोलन गर्न कसले रोकेको छ ? सक्छन् भने उनीहरु आफैंमा मिलेर गरुन् ।’
वास्तवमा वीपीलाई भारतमै राजनीति गर्ने ठूलो अवसर थियो । तर वीपीले भारतको स्वतन्त्रता संग्रामपछिको राजनीतिक लडाइँ नेपालमा नै लड्ने चाहना राखे । यसर्थ नेपालमा प्रजातन्त्रको बीजारोपण गर्ने योगदान वीपीको थियो । जुन देशको जग नै सामन्ती सोचमा उभिएको छ, जहाँ एउटा व्यक्ति (राजा) लाई भगवानको अवतार मानेर जनताले पूजा गर्छन्, त्यसमा पनि पढेलेखेका व्यक्तिहरु राजाकै झोलीमा छन् । यस्तो ठाउँमा जनताको बाँच्न र बोल्न पाउने मौलिक अधिकार सहितको प्रजातन्त्र स्थापित गर्छु भन्ने वीपीको अठोटलाई भारतीय नेताहरुले आत्मघाती निर्णय भनेर पनि व्याख्या गर्दथे ।
वीपीले धेरै ठाउँमा बोलेका छन्, ‘मलाई नेपालका कम्युनिष्ट, राजा र हिन्दूस्तानसँग कुनैपनि डर छैन, तर आफ्नै पार्टीका समकालीन नेताहरुबाट म सधै डराइरहन्छु । किनकि उनीहरुमा राष्ट्रियता र प्रजातन्त्रप्रतिको लगाव कम छ । आफैंभित्र नेता बन्ने होड छ । दूररदर्शिता, धैर्यता र वैचारिकतामा अलमल छ । कतै हामी भित्र भएको यस्तो दोधारे चरित्रले हाम्रो देश, कंँग्रेस पार्टी र हाम्रो स्वतन्त्रता खोसिने पो हो कि भन्ने विषयले मलाई सधैजसो चिन्तित बनाइरहन्छ ।’ वीपीको यस्तो विश्लेषण आजको दिनमा हुबहु मिलिरहेको छ । फलस्वरुप अहिले कांग्रेस पार्टी आफ्नो अस्तित्व जोगाउने बहानामा कम्युनिष्टहरुको फेरो समाइरहेको छ ।
महामानव वीपी कोइरालासँग राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता र स्वाधीनता बाहेक अरु कुनै स्वार्थ थिएन । तत्कालीन अवस्थामा सम्पूर्ण नेपाली जनताको आर्थिकस्तर आफ्नो सरह बनाउने लक्ष्यका साथ वीपी राजनीतिमा होमिएका थिए । वास्तवमा हरेक महापुरुषले एउटा युगको नेतृत्व गर्दछ, निःसन्देह वीपीको विचारले वर्तमान युगमा नेतृत्व गरिरहेकै छ । तर वीपी विचारको नेतृत्व गर्न उनकै पार्टी कांग्रेससमेत तयार छैन । किनकि वीपीमा सत्तालोलुपता थिएन, अहिलेका नेताहरुले सत्तालाई नै सर्वश्व ठानिरहेका छन् ।
वीपी कोइराला नेपालमा मात्र नभई विश्वमै उच्च छवि बनाएका एक महान राजनीतिज्ञ हुन् । नेपाली कांग्रेस पार्टीका संस्थापक नेता उनी आफ्नो जीवनभर प्रजातन्त्रका लागि लडिरहे । वीपीको आदर्श, विचार र सिद्धान्त आजपनि उत्तिकै सान्दर्भिक छ । अन्तर्राष्ट्रियस्तरमा अहिले पनि नेपालले देखाउन लायक कुनै राजनेता छ भने त्यो वीपी नै हो । सबैका विचारलाई उत्तिकै कदर गर्ने वीपी एक सच्चा प्रजातन्त्रवादी नेता हुन् । जनतामा जान भनेपछि भित्रैदेखि रमाउने उनको स्वभाव थियो । जीवनभर दरबार बाट दुःख पाए तर आवेगमा कहिल्यै राजसंस्थाको कुभलो चिताएनन् । व्यक्ति खराब हुनसक्ला तर संस्था खराब हुँदैन भन्ने वीपीको मान्यता थियो ।
मोहन शमशेरले वीपीलाई प्रधानमन्त्री भएपछि सोधेका थिए, ‘वीपी, अब तपाईं प्रधानमन्त्री हुनुभयो, तपाईंको उद्देश्य के छ ? वीपीले भनेछन्, म एउटा मध्यम वर्गीय परिवारको मान्छे हुँ, बिहान बेलुका खान हामीलाई दुःख छैन । मेरो अलिकति खेत पनि छ, त्यहीबाट गुजारा हुन्छ । मेरो अबको उद्देश्य भनेको हरेक नेपालीलाई मेरै हैसियतमा पुर्याउने हो ।’ त्यस्तै एकदिन एकजना कांग्रेस कार्यकर्ताले वीपीलाई सोधेछन्, ‘सान्दाजु, प्रजातन्त्र आएपछि हामीजस्ता कार्यकर्तालाई के हुन्छ ?’ वीपीले भनेछन्, ‘प्रजातन्त्र आएपछि एकपटक फेरि पार्टीभित्र सुकिला मुकिलाहरु हावी हुने छन्, तिनले पार्टीको सिद्धान्त र आदर्श बिर्सन्छन्, त्यस्ताहरुका विरुद्ध पार्टीभित्रै फेरि तिमीजस्ता कार्यकर्ताहरुले संघर्ष गर्नुपर्दछ ।’ यसर्थ, वीपीले अनुशरण गरेको विचारलाई कार्यान्वयन गर्नु नै उनीप्रतिको सम्मान हुनेछ, राष्ट्र र राष्ट्रियता प्रतिको जिम्मेवारी हुनेछ । (लेखक अधिवक्ता हुन्) ।