- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपाली कांग्रेस भनेको बीपीको बौद्धिकता, सुवर्णको धनप्रवाह, कृष्णप्रसादको सादगीपन, गणेशमानको हठयोग र गिरिजाप्रसादको सक्रिय संगठन कलाले बनेको पार्टी हो । तर अहिले कांग्रेसमा बलियो संगठन, पार्टीको सिद्धान्त तथा नीति, बौद्धिकता र दूरदर्शिताको अभाव हुनुको साथै कार्यकर्तालाई ढाडस दिनसक्ने नेतासमेत देखिँदैन ।
बीपीले लगाएको ज्यानको बाजी, सुवर्णले होमिदिएको सिरिखुरी, कृष्णप्रसाद, शैलजा, सुशील कोइरालाले जम्मा नगरेको सम्पत्ति, गणेशमानले त्याग गरेको पद र नेपाली राजनीतिको मुहानमा बसेर बीपी पत्नी सुशीलाले एकैघरका एकभन्दा बढी व्यक्ति राजनीतिमा लागे भने पारिवारिक विवाद बढ्छ र समाजमा जति पर्नुपर्ने प्रभाव कमजोर भएर जान्छ भनी सिकाएको पाठ अब इतिहास भयो ।
नेपाली कांग्रेसमा अरु जेसुकै होस्, तर कम्युनिष्टसँग मिल्नु हुँदैन भन्ने बीपीको धारणाले गर्दा २००७ सालमा नेपालमा प्रजातन्त्रको उदय भयो भने २०१५ सालको पहिलो आमनिर्वाचनमा कांग्रेसले दुइतिहाई मत प्राप्त गरी प्रथम जननिर्वाचित प्रधानमन्त्रीको रुपमा बीपी कोइरालाले सरकारको नेतृत्व गर्ने अवसर पाए ।
खासमा बीपीले कम्युनिष्टसँग मिल्नु हुँदैन भनेको तथ्य अहिलेको कांग्रेसले बुझ्न सकेको छैन । किनकि कम्युनिष्टहरूले जहिले पनि एकलौटी निर्णय गरेर जनताको शान्तिपूर्ण विरोध गर्ने अधिकारलाई रोक्न खोज्ने, एकदलीय तानाशाही, सर्वसत्तावादी शासन स्थापनार्थ तल्लीन हुने, जनतालाई आफ्नो विचार प्रवाह गर्न नदिने भएकै कारण उनीहरू जनताका लागि होईनन् भन्ने कुरा बीपीले उतिबेलै राम्ररी बुझेकै कारण उनी कम्युनिष्ट सहकार्यबाट टाढा भए ।
वि.सं. २०१४ सालमा नेपाली कांग्रेसले भद्रअवज्ञा आन्दोलन गर्ने निर्णय गर्यो । यही विषयलाई लिएर त्यतिबेलाका वामपन्थी नेताहरू केशरजंग रायमाझी र पुष्पलाल श्रेष्ठले बीपीलाई भनेछन् – तपाईंहरूको आन्दोलनमा हामीलाई पनि समावेश गराउनुस् । जवाफमा बीपीले भने – संविधान सभा भन्ने शब्द बाहेक तपाईंहरूको र हाम्रो केही पनि कुरा मिल्दैन भने के को लागि सहकार्य गर्ने ?
यसरी बीपी कोइरालाले कुनै पनि राजनीतिक पार्टीको आफ्नै मूलभूत पहिचान हुनुपर्ने कुरामा सदैव जोड दिए । कुनैबेला वामपन्थी नेता मनमोहन अधिकारीले बीपीलाई भनेछन् – म विराटनगरमा एउटा आमसभा गर्छु, तपाईं त्यसको प्रमुख अतिथि बनिदिनुपर्यो । यो कुरा सुनेर बीपीले भनेछन् – तपाईंलाई मानिस कम हुन्छन् कि भन्ने डर लागेको छ भने मेरो आमसभामा जत्तिकै मानिस म जुटाइदिन्छु, म आउनुपर्ने भए म पनि आउँछु र अघिल्लो लाइनमा कार्यक्रमभरि बस्छु, तर म तपाईको कार्यक्रमको प्रमुख अतिथि भएँ भने मेरो र तपाईको पहिचान नै समाप्त हुन्छ ।
कुनैबेला कांग्रेस पार्टीमा सक्रिय रहेका पुष्पलाल श्रेष्ठ कांग्रेसभित्रको केही मनमुटाव देखेपछि कम्युनिष्ट पार्टीमा लागे । उनी कम्युनिष्ट आन्दोलनमा आबद्ध भए पनि कांग्रेससँग सहकार्य गरेरै अगाडि बढ्नुपर्ने सोचमा थिए भने कांग्रेससँगै मिलेर संयुक्त जनआन्दोलन गर्नसके मात्र नेपालको निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य गर्न सकिन्छ भन्ने उनको निष्कर्ष थियो । यस विषयमा पुष्पलालले बीपी कोइरालासँग छलफल तथा परामर्शसमेत गरेका थिए ।
कम्युनिष्टसँग संयुक्त रुपमा अगाडि बढ्ने पुष्पलालको प्रस्तावलाई बीपीले स्वीकार गरेनन् । किनकि कम्युनिष्टसँग मिलेर जाँदा नेपाली राजनीतिमा कम्युनिष्ट संगठन हावी हुन्छ भन्ने बीपीले बुझेका थिए । हुनत निरंकुश राजतन्त्रलाई परास्त गर्न संयुक्त आन्दोलन हुनु अनिवार्य थियो होला । तथापि कांग्रेसले नमान्दा पञ्चायतले मुलुकमा ३० वर्ष लामो शासन गर्ने अवसर पायो ।
यद्यपि जति प्रयास गरे पनि जननेता बीपी कोइराला र कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठवीच संयुक्त आन्दोलनका सन्दर्भमा कहिल्यै कार्यगत एकता भएन । विश्व समाजवादी आन्दोलनका अगुवा बीपी र चिनियाँ जनवादी क्रान्ति मोडलका पक्षपाती पुष्पलालबीच त्यो बेला राणा तथा राजाको निरंकुशताविरुद्ध सहकार्य नहुनुमा मूख्यतया बीपीको दूरदर्शिता हो ।
किनकि बीपीले भनेका थिए – हामी प्रजातन्त्रवादीले कम्युनिष्टहरूसँग कार्यगत एकता वा सहकार्य कदापि गर्नुहुँदैन । उनीहरूसँग सहकार्य गरेर राजाको निरंकुश शासन त ढालौँला तर त्यसपछि कम्युनिष्टहरू नै हावी हुनेछन् र हामीले उनीहरूकै एजेण्डाको पछि लाग्नुपर्ने हुन्छ । फलस्वरुप हाम्रो एजेण्डा ओझेलमा पर्दछ । अनि कम्युनिष्टसँग सहकार्य गर्दा कम्युनिष्टकै एजेण्डाको भारी कांग्रेसले बोक्नुपर्ने हुन्छ ।
त्यसैले कांग्रेसले कहिल्यै पनि कम्युनिष्टसँग सहकार्य गर्ने कुरा सोच्नुहुँदैन भनी बीपीले दिएको दुरगामी दर्शन अहिलेको कांग्रेसले आत्मसाथ गरेन ।
समग्रमा बीपीको जीवन भनेको संघर्ष, संकट, जेल, यातना, मुद्दा, अभियोग आदिको कहानी मात्रै हो । यस बाहेकको सामान्य जीवन बीपीले भोग्न पाएनन् । मैले जुन किसिमको समाज निर्माण गर्न खोजेको थिएँ र जुन कुरा सफल भएको भए त्यसको प्रभाव मलाई भन्दा जनताहरूलाई बढी पर्ने थियो, त्यसमा सफलता प्राप्त नभएकोमा मलाई ठूलो चिन्ता छ, भनेर बीपीले समाजवाद पूर्णरुपमा कार्यान्वयन हुन नसकेकोप्रति आफ्नो जीवनको अन्तिम समयसम्म पनि चिन्ता व्यक्त गर्दथे ।
वास्तवमा आफूले चाहेको काममा आफ्नो सम्पूर्ण क्षमताको प्रयोग गर्ने र आफूले सक्ने जति कुराको बाजी लगाउने गरियो र त्यो कुरा आफ्नो अन्तरमनले इमान्दारीका साथ भन्न सक्यो भने त्यही व्यक्ति सफल र सन्तुष्ट हुन्छ भन्ने धारणा बीपीमा थियो ।
राजनीतिमा कहिलेकाहीँ सानो कुरा र स्वार्थले राजनीतिक दललाई नै किनारा लगाइदिन्छ । सिद्धान्तका लागि राजनीति होइन, राजनीतिका लागि सिद्धान्त हुनुपर्दछ । एउटा कुनै पनि नेता सत्यबाट पर हटेर, असत्यसँग सम्झौता गरेर, कायर तथा पलायनवादी भएर आफ्नो जीवन जोगाउन तयार हुन्छ भने वास्तवमा उसलाई राजनेता मान्न सकिँदैन ।
सामान्यतयाः हामीले अहिलेको देशको परिस्थितिलाई हेरेर ग्रामीण जनतालाई सफा र सुरक्षित पानी पिउने व्यवस्था मिलाइदिनुपर्दछ, उनीहरूलाई आफ्नो गाउँ सफा राख्ने प्रेरणा दिनुपर्दछ । किनकि महँगो अस्पताल बनाएर त्यसको खर्च बेहोर्न सक्ने क्षमता हाम्रा जनताहरूमा छैन । यस्ता जनहितका जुनसुकै कार्यहरू गर्दा पनि प्रजातान्त्रिक तरिकाले जनताको स्वीकृति लिएर मात्र गर्नुपर्दछ । अनि सत्तामा रहँदा होस् या प्रतिपक्षमा हुँदा होस्, आफ्नो इतिहास, उद्देश्य, नीति, सिद्धान्त र आदर्शलाई कुनै पनि पार्टीले बिर्सनु हुँदैन र विगतमा गरेका गल्तीलाई पुनः दोहोर्याउनु पनि हुँदैन भन्ने धारणामा बीपी सदैव दृढ रहिरहे ।
जननायक विश्वेश्वरप्रसाद कोइरालाले विभिन्न राजनीतिक उतारचढाव भोगे । भारतमा ब्रिटिश साम्राज्यवादका विरुद्ध लड्दाको जेलनेल, पटकपटक निर्वासित जीवन, निरन्तर लामो समयसम्मको जेलजीवन, राजद्रोहका मुद्दा, मृत्युदण्डसम्मको अवस्था, क्यान्सर रोगसँगको संघर्ष जस्ता यातना सहँदै नेपाली जनताहरूको स्वतन्त्रता प्राप्तिका लागि अन्तिमसम्म लडिरहे ।
जहानियाँ राणाशासन विरुद्ध जनताको प्रजातान्त्रिक अधिकारका लागि सशक्त रुपमा आवाज उठाउने तिनै महान् व्यक्ति बीपी कोइराला लगायतको बलिदानपूर्ण संघर्षपछि नेपालमा पहिलोपटक प्रजातन्त्र आयो । एकल प्रयासबाट कुनै पनि ठोस उपलब्धि हासिल गर्न सकिँदैन तर हामी संगठित भयौँ भने जुनसुकै समस्या समाधान गर्न सक्छौँ भन्ने कुरालाई बुझेर कांग्रेस पार्टी स्थापना गरी त्यसको माध्यमबाट देशमा प्रजातन्त्र स्थापना गर्ने दृढ निश्चयका साथ अघि बढेका व्यक्तित्व बीपी कोइराला थिए ।
कुनै पनि कुराको लोभ र संग्रहले पार्टी बलियो हुँदैन । त्याग, योगदान, संघर्ष र धैर्यताले मात्रै दीर्घकालसम्म पार्टीको विचार, संगठन, नीति तथा सिद्धान्त मजबुद हुने हो भने हामी नेपालीहरूको पहिचान जातबाट नभई देशबाट हुन्छ, देशको राष्ट्रियता र सार्वभौमसत्ता भन्दा ठूलो कुरा अरु हुन सक्दैन भन्ने बुझेका बीपी प्रजातन्त्रको लडाइँ विदेशमा बसेर लड्दा त्यसको प्रतिफल विदेशीहरूले नै प्राप्त गर्ने वा प्रजातन्त्रको प्रतिफल हामीलाई भन्दा विदेशी शक्तिलाई बढी हुने भएकाले नेपालको राष्ट्रियता जोगाउन नेपालभित्रै बसेर प्रजातन्त्रका लागि संघर्ष गर्नुपर्दछ भन्ने दृढ विश्वासका साथ राष्ट्रियता, प्रजातन्त्र र समाजवादको कार्यान्वयनका लागि राष्ट्रिय एकता तथा मेलमिलापको नीति अख्तियारी गरी २०३३ सालमा भारतको निर्वासित जीवन त्यागी नेपाल फर्किएका थिए ।
बीपी कोइरालाको निधनपछि कांग्रेस र वामपन्थीवीच सहकार्य शुरु भयो । यतिसम्म कि सत्ताको लागि सबै वामपन्थी दलहरूसँग कांग्रेसले पालैपालो हातेमालो गरिसकेको छ । खासमा बीपी कोइरालाको जीवनकालमा राजा प्रजातन्त्रवादी नभएको कारणले राजासँग मेल भएन भने साम्यवादीहरू प्रजातन्त्रवादी र राष्ट्रवादी दुवै नभएको हुनाले वामपन्थीहरूसँग पनि बीपी कोइरालाको मेल हुन सकेन ।
बीपीले भनेका थिए, ‘वामपन्थी र हाम्रो कुनै अवधारणा, नीति तथा कार्यक्रम मेल खाँदैन, यसर्थ उनीहरूसँग सहकार्य गर्ने कुरै आउँदैन । तर बीपीपछि २०४६ सालको जनआन्दोलन कम्युनिष्टहरूसँगैको सहकार्यबाट सम्पन्न भयो । फलस्वरुप २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा कांग्रेसले पराजय भोग्नुपर्यो ।
तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भारतको नयाँदिल्लीमा १२ बुँदे सम्झौता भयो । त्यसैको जगमा सम्पन्न भएको पहिलो संविधान सभा निर्वाचन २०६४ मा कांग्रेसले इतिहासमै ठूलो पराजयको स्वाद चाख्यो । माओवादीसँग मिलेर सत्ता मात्रै होइन चुनावी गठबन्धन नै गरी पहिलो पार्टी भएको कांग्रेस वर्तमान कार्यकालमा सत्ताको नेतृत्वमा पुग्छ पुग्दैन भन्न सकिने परिस्थिति छैन ।
तैपनि कहिले माओवादी कहिले एमालेसँग सहकार्य गर्दै दुईचार थान मन्त्रीको स्वाद लिइरहेको छ । अब यस्तै स्वाद लिइरहने हो कि एकल नेतृत्व गरेर देश र जनतालाई समृद्ध बनाउने हो, कांग्रेसले गम्भीर भएर समिक्षा गर्नुपर्ने देखिन्छ । (लेखक कानून व्यवसायी हुन्) ।