arrow

चुनावका बेलामा चिनियाँ नेताहरुको नेपाल भ्रमण मोह, कस्तो सुपर ग्लू बोकेर आए झान्सु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २८ मंगलबार
lee-zanshu-china-2022.jpg

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका तेस्रो वरीयताका नेता एवं राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली झान्सु चार दिवसीय भ्रमणका लागि सोमबारदेखि काठमाडौंमा छन् । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा काठमाडौं आएका उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग भेट गर्दैछन् । 

त्यसमध्ये उनले सभामुख सापकोटासँग भेटघाट गरिसकेका छन् । भ्रमणकै क्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् । सभामुखसँगको भेटघाटको क्रममा नेपालको संघीय संसद र चीनको राष्ट्रिय जनकंग्रेस बीचमा द्विपक्षीय सहकार्य र भ्रमण आदान–प्रदान सम्बन्धमा सम्झौता भइसकेको छ । 

यसरी हेर्दा चीनले नेपाललाई महत्व दिएर नै यो उच्चस्तरको भ्रमण गरेको हो भन्नेमा द्धिविधा छैन । पछिल्लो ६ महिनाको अवधिमा नेपालमा चिनियाँ राष्ट्रिय जनकंग्रेसका प्रमुखसहित तीन उच्चस्तरीय भ्रमण चीनबाट भएका छन् । 

चिनियाँ पक्षले नेपाल भ्रमणका क्रममा सरकारी उच्चाधिकारीसहित वामपन्थी दलका शीर्ष नेताहरूसँगको भेटलाई पनि महत्व दिएका छन् । दुई महिनाअघि असार २६ गते नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ जिन्चाओले सरकारी उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्नुका साथै वामपन्थी दलका शीर्ष नेतासँग घन्टौं छलफल गरेर फर्केका थिए । 

त्यसअघि चैत ११ मा नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीले पनि वामपन्थी राजनीतिक दलका नेतासँगको भेटलाई प्राथमिकता दिएका थिए । पाँच वर्ष अघिको नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता, नेकपा निर्माण र नेकपा विभाजन लगायतका विषयमा चिनियाँ कम्युनिष्ट पार्टी जोडिदै आएको यस्तो अवस्थामा नेपालमा चिनियाँ पक्षको भ्रमण बाक्लिदै गएको छ । 

नजिकको छिमेकी हुँदाहुँदै पनि कुनै बेला नेपालमा चीनको भूमिका कमजोर थियो । अझ राजनीतिमा झन् कमजोर थियो । एमाले–माओवादी एकतापछि नै चीनको भूमिका बढेको हो । नेकपा विभाजनपछि पटक पटक चिनियाँ नेताहरुले वामपन्थी एकता, सहकार्य र गठबन्धनको प्रयास गरिरहेका छन् । 

यद्यपि नेपालमा एमालेभित्र ओली र माओवादीभित्र प्रचण्ड पक्षले एकले अर्कालाई अस्वीकार गर्दासम्म मिल्ने वा सहकार्य गर्ने संभावना निकै कमजोर रहेको छ । 

चीनले अरूको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन र चासोसमेत राख्दैन भन्ने कुरालाई नेकपा निर्माणबाटै कमजोर भैसकेको छ । नेपालमा हुने हरेक राजनीतिक घटनाक्रमलाई भारतीय भूमिकासँग जोडेर हेर्ने गरिए पनि अहिले भने चिनियाँ पक्षको भूमिकालाई नजरअन्दाज गर्न मिल्दैन । 

पछिल्लो समय नेपालमा अमेरिकी गतिविधि बढिरहेको र नेपाल सरकारले चीनलाई विश्वासमा लिन नसकेको अवस्थामा उसले पनि आफ्नो प्रभाव बढाउन एकपछि अर्को गर्दै उच्चस्तरीय भ्रमण गरेको हुन सक्ने आँकलन गरिएको छ ।  

विशेषगरी तत्कालीन माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपा विघटनसँगै मुलुकमा कम्युनिस्ट प्रभाव कमजोर हुँदै गइरहेको र वर्तमान सरकार पश्चिमा शक्तिप्रति अनुकूल हुँदै गएको चिनियाँ बुझाइ भएकाले नेपालमा उसको चासो थप बढिरहेको छ ।
 
चीनको बीआरआईलगायतका परियोजनामा पनि नेपाल सरकार गम्भीर देखिँदैन । अर्कातर्फ नेपालबाट अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास भएपछि चीन थप ससंकित भएको छ ।  

पछिल्लो समय चीन उसको राष्ट्रिय सुरक्षामा नेपाली भूमिबाट कुनै किसिमको जोखिम हुने हो कि भनेर सचेत छ । यस्तो बेला चीनले नेपालमा निर्वाचनबाट आफूअनुकूल वामपन्थी दललाई सत्तामा ल्याउँदा सहज हुने बुझेकाले पनि उच्चस्तरीय भ्रमण भइरहेको आँकलन गर्न सकिन्छ ।  

वर्तमान सरकार बनेपछि हुम्लामा सीमा विवाद उठाउनेदेखि संसदबाट एमसीसी अनुमोदनसम्मका काम भएका छन् । त्यसपछि अमेरिकाबाट पनि निरन्तर उच्च अधिकारीहरूको भ्रमण भइरहेको छ । 

अमेरिकी अधिकारीले काठमाडौंस्थित तिब्बती शिविरको समेत भ्रमण गरेका छन् । नेपालमा एकपछि अर्को गर्दै अमेरिकी भ्रमण हुनुले चीनलाई असहज महसुस भएको स्पष्ट देख्न सकिन्छ । 

नेपालबाट एमसीसी पनि अनुमोदन नहोस् भन्ने चिनियाँ चाहना भए पनि वर्तमान सरकारले एससीसी अनुमोदन गरेपछि चीनले नेपाललाई झन् प्राथमिकतामा राखेको राजनीतिक र कुटनीतिक क्षेत्रमा चर्चा परिचर्चा हुने गरेको छ ।

हुनत नेपालका कम्युनिष्ट दलहरु फुट्न र जुट्नलाई कुनै साइत हेरिरहनु पर्दैन । तर चुनावकै मुखमा निरन्तर चिनियाँ उच्चस्तरीय भ्रमणले भने वामगठबन्धन जोड्नका लागि झान्सुले कुन सुपर ग्लू बोकेर आए भन्ने चासो ब्याप्त छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ