- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आँखीझ्याल नेपालीको पहिचान हो । अझ विशेषगरी नेवार समुदाय आफ्नै मौलिक कला संस्कृतिहरूमा आँखीझ्याललाई प्रख्यात मानिन्छ ।
नेवार समुदायले परम्परागत रूपमा आफ्नो घर बनाउँदा विशेष प्रकारको आँखी झ्यालको प्रयोग गर्ने गर्छन् । आँखी झ्यालमा बुट्टाहरूको प्रयोग गरिएको हुन्छ जसका कारण यसलाई निकै सुन्दर तथा कलात्मक बनाएको हुन्छ ।
भक्तपुरको तचपाल टोलमा अवस्थित मयूर झ्याल त झन् विश्व सम्पदा सूचीमा सूचीकृत छ । नेपाल र नेपालीको पहिचान बनेको आँखीझ्यालको माग अहिले सीमित कामदारबाट पूर्ति हुँदै आएको छ ।
आँखीझ्याललाई हामी लिच्छविकालीन सभ्यतासित जोडिएको पाउँछौं । यसको प्रत्यक्ष प्रामाणिक इतिहास भक्तपुरमा रहेको विश्वविख्यात चाँगुनारायणको मन्दिर हो । यो मन्दिरमा जडित काष्ठकारीपूर्ण झ्यालढोका, टुँडाल र अनेक प्रकारका चित्रकारी आँखीझ्याल आन्तरिक तथा बाह्य पर्यटकका आँखामा गड्ने गरेका छन् ।
काठमाडौंको वसन्तपुर, भक्तपुरस्थित न्यातापोल मन्दिर, पचपन्न झ्याले दरबार, पाटन दरबार, पाटनकै कृष्ण मन्दिरलगायतमा आँखीझ्यालका थुप्रै कलात्मक सिर्जना देख्न सकिन्छ । आँखीझ्याललाई नेपालभाषामा तिकिझ्याल, आङ्लोमा पिपिङ विन्दोरल्यातिस भनिन्छ । यसको निर्माण कोठाभित्रबाट बाहिर चियाउन मिल्ने तर बाहिरबाट भित्र केही नदेखिने गरी बनाइएको हुन्छ ।
यस्तै भक्तपुर सूर्यमढीका विष्णुभक्त कुशी झन्डै २० वर्षदेखि आँखीझ्याल निर्माणमा संलग्न छन् । उसो त उनी काष्ठ (फर्निचर) व्यवसायमा भने ३० वर्षदेखि संलग्न छन् । काष्ठकलाको सीप उनले भक्तपुर नगरपालिकाले २०५१ सालमा दिएको तालिममा सहभागी भएर जानेका हुन् । उनले कृष्णगोपाल शिल्पकार गुरुबाट ६ महिनाको तालिम लिएपछि अझ काष्ठकलाको कलात्मक कामतर्फ आकर्षित भएको बताए । ‘तालिमपछि मैले कला र संस्कृति बचाउन र बनाउनका लागि काम सिक्ने मौका पाएँ । काष्ठकलाको कामले म निकै खुसी छु,’ विष्णुभक्त भन्छन् । उनले नेपालमा अहिले काष्ठकला निर्माणका लागि विभिन्न देशबाट काठ आयात गरेको भए पनि नेपालको जस्तो काठ अन्यत्र नहुने दाबी पनि गरे । ‘अहिलेसम्म नेपालको अग्राखको जस्तो राम्रो काठ कुनै पनि देशमा छैन, यसले काष्ठकलाका सामग्री तीन÷चार सय वर्षसम्म टिकाउ पनि हुन्छ,’ उनले अनुभव सुनाउँदै भने, ‘अहिले अग्राखको काठ पाउन अलि मुस्किल छ । हामीसँग भएका गुणस्तरीय काठ विदेश निर्यात हुने तर हामीले नै पर्याप्त प्रयोग गर्न नपाउनु दुःखको कुरा हो । यस्तै भएका काठलाई पनि हामीले पूर्ण रूपमा सदुपयोग गर्न नसकेको तीतो यथार्थ पनि हामीसँग छ ।’
उनले आफ्नो कारखानामा निर्माण भएका काष्ठकलाका सामग्री जर्मन, कोरिया चीनलगायत मुलुकमा निर्यात गरेका छन् । नेपालीको इतिहास र पहिचान बोकेको आँखीझ्याल निर्माणमा व्यस्त कालिगढ तथा विभिन्न क्षेत्रमा रहेका आँखीझ्यालको तस्बिर कथा यसपटक हामीले प्रस्तुत गर्दै छौं । हेरौं थप तस्बिर ः