arrow

काठमाडौं ५ मा यसपटक एमालेलाई कति छ चुनौती ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ५ बुधबार
ishwor-pokharel-ramsharan-mahat-2074.jpg

काठमाडौं । नेकपा एमालेको बलियो पकड रहेको काठमाडौं जिल्लाको संसदीय निर्वाचन क्षेत्र नम्बर ५ मा यस पटक कडा प्रतिस्पर्धा हुनसक्ने देखिएको छ । २०७४ सालको संसदीय निर्वाचनमा काठमाडौं ५ मा तत्कालीन नेकपाबाट उम्मेदवार बनेका ईश्वर पोखरेल विजयी बनेका थिए ।

पोखरलले ०७४ को निर्वाचनमा काठमाडौं ५ बाट बलियो जित हात पारेका थिए । उनले २३ हजार २९ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका डा प्रकाशशरण महतले १३ हजार १ सय ६९ मत प्राप्त गरेका थिए ।

यस्तै विवेकशील साझा पार्टीका उम्मेदवार स्वर्गीय उज्वलबहादुर थापाले ६ हजार ८ सय ५३ मत प्राप्त गरेका थिए । नेपाल मजदुर किसान पार्टीको तर्फबाट उम्मेदवार बनेका वीरबहादुर डंगोलले ६ सय ३६, नयाँ शक्ति पार्टी नेपालबाट शारदा मल्ल राजभण्डारीले २४१ र नेपाल कम्युनिस्ट पार्टी मालेका उम्मेदवार दिपक पुन मगरले १ सय ४७ मत पाएका थिए ।

स्थानीय तहमा पनि एमाले बलियो

काठमाडौं ५ संसदीय क्षेत्र काठमाडौं महानगरपालिकाको वडा २, ३, ४, ५, बूढानीलकण्ठ नगरपालिकाको वडा ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाको २, ३, ४, ५, ६, ७ वडा मिलेर बनेको छ ।

यस क्षेत्रमा ०७४ को स्थानीय चुनावमा र अहिले २०७९ को स्थानीय चुनाव दुवै पटक एमाले नै बलियो रहेको छ । गत ०७४ को स्थानीय चुनावमा एमालेले यस क्षेत्रमा १७ हजार ४ सय ५९ मत पाएको थियो । नेपाली कांग्रेसले १५ हजार ४ सय ६१ मत प्राप्त गरेको थियो । माओवादी केन्द्रले ३ हजार १ सय २२ र राप्रपाले १ हजार ८ सय ८६ मत प्राप्त गरेको थियो ।

अहिले गत ०७९ को स्थानीय तह निर्वाचनमा एमालेले काठमाडौं क्षेत्र नम्बर ५ मा मतान्तर झनै बढाएको छ । यस पटक एमालेले यस क्षेत्रमा १९ हजार ७ सय ६३ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले १४ हजार ८ सय ५३ मत प्राप्त गरेको छ ।

माओवादी केन्द्रले १ हजार १ सय ९, राप्रपाले २ हजार ८ सय ८१ र नेकपा एकिकृत समाजवादीले १ हजार ८ सय २७ मत प्राप्त गरेको थियो । स्वतन्त्रतर्फ ५ सय १२ मत खसेको छ ।

स्थानीय तहमा एमालेको मतान्तर हेर्दा माओवादी केन्द्र, एकीकृत समावादी र कांग्रेसको मतले समेत एमालेलाई छुन नसक्ने देखिन्छ ।

एमालेलाई चुनौती कति ?

गत संसदीय निर्वाचनमा पनि बलियो मतान्तरले जित हात पारेको एमाले यस क्षेत्रमा स्थानीय तहको निर्वाचनमा पनि बलियो मतान्तरले अघि छ । यसरी हेर्दा यहाँ एमालेको पकट बलियो रहेकोमा दुईमत छैन ।

तथापि काठमाडौं क्षेत्र नम्बर छ बाट अहिले झण्डै आधा दर्जन केही प्रभावशाली व्यक्तिहरुले स्वतन्त्रतर्फबाट उम्मेदवारी घोषणा गरेका छन् । यसले पनि निर्वाचनमा बलियो प्रतिस्पर्धा हुने संकेत गरेको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतको गठबन्धनले साझा उम्मेदवार बनाएको खण्डमा र स्वतन्त्रतर्फका उम्मेदवारहरुसमेत बलियो देखिए भने एमालेका लागि पनि कडा चुनौती हुने देखिन्छ ।

एमाले बलियो देखिए पनि गठबन्धन तर्फबाट वा स्वतन्त्रबाट प्रभावशाली व्यक्ति उम्मेदवार बनेको खण्डमा यस्ता उम्मेदवारले जित हात पार्ने सम्भावना पनि उत्तिकै देखिन्छ ।

तथापि गत संसदीय निर्वाचन र स्थानीय तहको मत परिणामका आधारमा भने काठमाडौं क्षेत्र नम्बर ५ मा एमाले बलियो देखिन्छ ।

फरक परिस्थिति–
यसपटक परिस्थिति केही फरक देखिएको छ । ईश्वर पोखरेल एमालेबाट पुनः दोहोरिने पक्का छ भने कांग्रेसबाट प्रकाशशरणको नाम समानुपातिकमा गइसकेकाले प्रत्यक्षमा लड्ने उम्मेदवार अझै तय भएको छैन । फेरि पाँच दलीय गठबन्धन कायमै रहने भएकाले पनि परिस्थिति अझै फरक हुने देखिन्छ । 

अर्कातर्फ स्थानीय तहको निर्वाचन र संघीय निर्वाचन फरक हो । ईश्वर पोखरेलले गरेका कामको पनि लेखाजोखा हुनेनै छ । त्यतिमात्र होइन उनीसँगै उनको पार्टी एमालेको नीति कस्तो रह्यो त भन्ने पनि महत्वपूर्ण छ । 

त्यस्तै काठमाडौंमा स्वतन्त्र उम्मेदवारले केही न केही प्रभाव पार्ने संकेत स्थानीय तहको निर्वाचनले दिइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ