arrow

काठमाडौं ६ मा भीमसेनदास प्रधानलाई सहज, कस्तो छ चुनावी माहोल ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ६ बिहिबार
bhimsen-das-pradhan-jhakku-subedi.jpg

काठमाडौं । संसदीय निर्वाचन क्षेत्र काठमाडौं ६ मा पनि चुनावी प्रतिस्पर्धा बलियो हुने देखिएको छ । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका भीमसेनदास प्रधानले जित हात पारेका थिए ।

प्रधानले १६ हजार ७ सय ८५ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीले १५ हजार ४ सय ८५ मत प्राप्त गरेका थिए ।

यस्तै विवेकशील साझाका रमेश चिलुवालले ४ हजार २ सय २५, जनसमाजवाद पार्टी नेपालका शैलसराज श्रेष्ठले ७ सय ९१ र नेपाल मजदुर किसान पार्टीका सनक मान महर्जनले ५ सय ४१ मत प्राप्त गरेका थिए ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर ६ बाट १३ सय मतान्तरले जित हात पारेको थियो।

स्थानीय तहमा कस्तो छ अवस्था?

काठमाडौं महानगरपालिकाको २६, २७ र २८ नम्बर वडा, टोखा नगरपालिकाको १, ८, ९, १० र ११ र तारकेश्वर नगरपालिकाका वडा १, २, ६, ७, ८, ९, १० र ११ मिलेर काठमाडौं क्षेत्र नम्बर ६ बनेको छ ।

२०७४ को निर्वाचनमा स्थानीय तहमा भने नेकपा एमालेले बलियो देखिएको थियो । तर, अहिले २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेस नै अगाडि आएको छ ।

०७४ को निर्वाचनमा क्षेत्र नम्बर ६ का सबै स्थानीयको मत जोड्दा नेकपा एमालेले १५ हजार ५ मत प्राप्त गरेको थियो । नेपाली कांग्रेसले १३ हजार २ सय ८६ मत प्राप्त गरेको थियो । माओवादी केन्द्रले ४ हजार ३ सय ६६ र र राप्रपाले १ हजार ३ सय ५९ मत प्राप्त गरेको थियो ।

अहिले २०७९ को स्थानीय तह निर्वाचनमा भने कांग्रेसले अग्रता लिएको छ । क्षेत्र नम्बर ६ का सबै स्थानीय तहमा गरी कांग्रेसले १७ हजार  २ सय ७७ मत प्राप्त गरेको छ । नेकपा एमालेले भने १४ हजार ३ सय ३ मा झरेको छ ।

माओवादी केन्द्रले २ हजार ४ सय ६२, राप्रपाले १ हजार ७ सय ४६ र एकीकृत समाजवादीले १ हजार ९ सय ५९ मत प्राप्त गरेको छ ।

गठबन्धनलाई फाइदा

काठमाडौं क्षेत्र नम्बर ६ मा यसअघि ०७४ को निर्वाचनमा पनि नेपाली कांग्रेसका उम्मेदवार नै विजयी बनेका छन् । अहिले स्थानीय तहको मतस्थिति हेर्दा पनि कांग्रेस नै अगाडि छ । 

यसमाथि कांग्रेस स्थानीय तहमा करिब साढे २ हजार मत लिएको माओवादी केन्द्र र करिब २ हजार मत लिएको एकीकृत समाजवादी सहितले साझा उम्मेदवार बनाएको अवस्थामा जितका लागि झनै सहज हुने देखिन्छ, जुन एमालेलाई खरो चुनौती हुन जानेछ ।

एमालेबाट प्रभावशाली व्यक्ति उम्मेदवार बनेको अवस्थामा र स्वतन्त्रतर्फका उम्मेदवार एवं अन्य दलकाबाट पनि चुनावमा लड्नेहरुको महत्वपूर्ण प्रतिस्पर्धा रहनेछ ।

एमाले र गठबन्धनबीचको स्थिति मात्रै आंकलन गर्ने हो भने गठबन्धनलाई जितका लागि सहज हुनेछ भने एमालेलाई चुनौती रहनेछ ।

स्वतन्त्रतर्फका उम्मेदवार र अन्य दलका उम्मेदवारहरुले समेत प्रतिस्पर्धामा विशेष महत्व राख्नेदेखि विजयी हुने सम्भावना पनि रहने नै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ