arrow

सप्तऋषिको पूजा गरेर कसरी पखाल्छन् महिलाले पाप ? के छ कथा ?

logo
प्रकाशित २०७३ भदौ २१ मंगलबार
saptarishi.jpeg
काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी पर्व सप्तर्षिको पूजा गरी वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीले मनाउँदैछन् । 
 
बिहानै उठेर नारीहरु नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्छन् । 
 
रजस्वलाका समयमा छाइछुइ लगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तर्षिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । 
 
नारीलाई रजस्वलाको प्रथम दिन चण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ ।
 
 यसै कारण आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । 
 
यसरी स्नान गरेपछि दियो, कलश, गणेश स्थापना गरी अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । 
 
सप्तर्षिको पूजा गर्ने पञ्चमी भएकैले आजको दिनलाई ‘ऋषिपञ्चमी’ भन्ने गरिएको हो । 
 
महिलाको रजस्वलासँग जोडिएको ऋषिपञ्चमीका विषयमा एउटा किंवदन्ती पनि प्रचलित छ । प्राचीन समयमा इन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारी हत्या गरेका कारण ब्रह्महत्याको पाप भोग्नुप¥यो । 
 
यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाए । इन्द्रको ब्रह्महत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई फ्याँकिदिए । 
 
यसैकारण उब्जनी नहुने भूमि, वृक्षबाट निस्कने खोटो, पानीको फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहिआएको आध्यात्मिक पुस्तक लेखनमा सक्रिय पण्डित मधुसूदन सुवेदीले जानकारी दिए ।
 
रजस्वला भएका बेलामा छोइछाइ गर्दा महिलाका शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउँछ । 
 
कीटाणुले महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानी नजानी छोइछाइ भएमा आजको दिनमा अरुन्धती सहित सप्तर्षिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वासले यस पर्वलाई वैज्ञानिक मान्नुपर्ने प्रा डा गौतम बताउँछन् । 
 
सुयोग्य र गुणसम्पन्न सन्तान प्राप्तिका लागि पनि ऋषिपञ्चमीको व्रत एवम् पूजा आवश्यक भएको धर्मशास्त्रविद्को भनाइ छ । रज भनेको फोहोर हो जुन महिलामा मासिक धर्मका समयमा निस्कने गर्छ । 
 
यसबाट बच्नु स्वास्थ्यका लागि राम्रो हुने भएकाले अध्ययनअनुसन्धानबाट प्रमाणित भएपछि समाजमा लागू गरिएकाले यसका विषयमा आधुनिक विज्ञान र स्वास्थ्यका दृष्टिकोणबाट समेत अध्ययन गरी सार्वजनिक गरिनुपर्नेमा पनि उनले जोड दिए ।
 
 स्नान गरी ऋषिपञ्चमीको पूजा लगाएपछि नरोपी उम्रेका अन्न सामाको धान खनजोत नगरी जङ्गलमा उम्रने, कागुनो, कन्दमूल र कर्कला आदि एक छाक खाई हविष्य बस्नुपर्ने व्रतविधि छ । 
 
काठमाडौँ टेकुको ऋषेश्वर मन्दिर लगायत मुलुकभरका ऋषि मन्दिरमा पूजाअर्चनाका लागि श्रद्धालु महिला भक्तजनको भिड लागेको छ । 
 
ऋषिपञ्चमीका दिन अरुन्धतीसहित सप्तर्षिको पूजा लगाएपछि तीज समाप्त हुन्छ । भाद्र शुक्ल तृतीयाका दिन शिव र पार्वती, चौथीका दिन गणेशको पूजा तथा तेस्रो दिन विद्या र वेद मन्त्रका द्रष्टा ऋषिको पूजा गरेपछि महिलाको प्रमुख चाड तीज समाप्त हुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ