- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
त्यस दिन यानी २०७३ मंसीर ३ गते बिहान ७ बजे लाकुरी भञ्ज्याङ जान भनेर लगनखेलको बसपार्कमा म र डिल्लीराज अर्याल पुग्यौं । त्यहाँ हामीलाई पर्खिरहेका जय छाङछा, डा.भक्त राई र डिल्लीरमण सुवेदीसँग मिसियौं । थाहा भयो अझ दुई जना आउँदै छन् । हस्याङ फस्याङ गर्दै प्रवीण पुमा आइपुगे— कोटेश्वरतिर बसमा रहेको जसध्वज गुरुङलाई ‘ग्वार्खोमा बस चढी लामाटार आउनुहोला त्यही भेटौं’ भनियो र हामी बस चढेर गन्तब्यतर्फ लाग्यौं ।
हो, आज सफलता पूर्वक सोह्रौं पदयात्रा सम्पन्न गरिसकेका छौं । स्रष्टा पदयात्राको प्रस्थान बिन्दु भनेको लाकुरी भञ्ज्याङ हो । यो कुरो हामीले बिर्सेका छैनौं । तर स्रष्टा पदयात्राको थालनी कसरी भयो ? पुरानो कुरा सम्झन मन लाग्यो । जय छाङछा र मबीच केही वर्षअघि काठमाडौं वरीपरी पदयात्रा गर्ने सल्लाह भएको हो । तर मूर्तरूप लिन सकेको भने थिएन र लिएन पनि ।
लोकवार्ता परिषद् नेपालको चौथो राष्ट्रिय सङ्गोष्ठी दाङमा भएको थियो । हो सोही अवसरमा डा.भक्त राईसँग चिनजान भएको हो मेरो । विस्तारै विस्तारै सम्बन्ध बाक्लिदै गयो, कुराकानीको क्रममा पदयात्राको कुरा निस्कियो । पदयात्रा थालौं भनियो र थालि पनि हालियो ।
लामाटारमा जसध्वज गुरूङ आइपुग्नु भयो । हाम्रो पाइला पनि लाकुरी भञ्ज्याङमा पुग्न लम्किन थाले । थाहा भयो लाकुरी भञ्ज्याङ जाने पैदल मार्ग डरलाग्दो नभए पनि सहज भने थिएन । ग्रेभल सडकमा बाहन चल्ने हुँदा धुलै धुलो । यस्तो अवस्थामा गोरेटोबाटो अप्ठ्यारो भए पनि प्राथमिकतामा पर्नु स्वभाविक हो ।
लाकुरी भञ्ज्याङ काठमाडौंबासीको रोजाइमा परेको पिकनिक स्थल बन्न पुगेको थाहा भयो । त्यो दिन कम्तीमा पनि दश वटा बसभरीका विद्यार्थी पिकनिकमा रमाउँदै गरेको हामीले भेटेका थियौं । हामी पनि रमाइलो गर्न भनेर गएका थियौं तर उद्देश्य भने फरक थियो ।
त्यही फरकले हाम्रो अभियानको नाम जुर्न पुग्यो— स्रष्टा पदयात्रा २०७३ । पिकनिकमा रमाएकाहरू लाकुरी भञ्ज्याङमा रहेको शृङ्गी ऋषिको गुफामा पक्कै पुगेनन्, भ्यू टावरमा पुगे पनि सेल्फीमै रमाए किनभने उद्देश्य फरक–फरक थियो ।
हामी संस्कृति मन पराउने, जगेर्ना गर्न चाहने, अध्ययन गर्ने स्रष्टा थियौं । भाषाका सेवक थियौं । रमाइलोमात्र गर्न चाहनेहरू त्यहाँमात्र जान्छन्, जहाँ सजिलै जान सकिन्छ । हामी संस्कृतिको जगेर्ना गर्न पछाडि परेको–पारिएका धार्मिक, ऐतिहासिक, पर्यटकीय महत्त्वका क्षेत्र अवलोकन गर्न र त्यसको बारेमा लेख्न रूचाउने पर्यौं ।
यसकारण वनको लहरा, काँडा पन्छाउँदै, गोरेटो बाटो पछ्याउँदै शृङ्गी ऋषिको गुफामा पुगी छाड्यौं । बरु लामाटारदेखि शृङ्गी ऋषिको गुफासम्म ढुङ्गा छापेर बाटो बनाइदिने हो भने धार्मिक पर्यटकको रूपमा यसले आफ्नो अलग्गै पहिचान दिने थियो । त्यहाँको अग्लो स्थानमा रहेको भ्यू टावरबाट उपत्यका अवलोकन गरियो । हो त्यही भ्यू टावरमा हामीले संकल्प गर्यौं काठमाडौं वरिपरिका अग्ला डाँडा काँडा पाइतालाले नाप्ने ।
अनि कुरा मिल्यो प्रत्येक महिनाको पहिलो शुक्रवार पदयात्रा गर्ने र त्यही समयदेखि गर्दै पनि छौं । अहिले पदयात्रा हाम्रो अभियान बनेको छ । यसले संस्थाको रूप लिएको छ । सात जनाबाट शुरु गरिएको यस अभियानमा श्रष्टा पदयात्री जुट्ने छुट्ने क्रम चल्दैछ । अनुभवले यस अभियानको लागि केही नियम पनि बनाउन सिकायो । एक आपसको सहयोगमा कसले के ल्याउने र कति ल्याउने— खानेकुरा बढी हुन थालेपछि, फाल्नु भन्दा जिम्मेवारी तोक्न पर्ने समयले सिकायो ।
स्रष्टा पदयात्राको पोशाक तोकियो । मन मौजी किसिमले नभएर एकै साथमा सबै सङ्गै हिँड्न पनि लगायो । २०७४ साउन १४ गते ५ सदस्य रहेको ‘स्रष्टा पदयात्रा २०७३ व्यवस्थापन समिति’ मेरै संयोजकत्वमा गठन भयो । अनि व्यवस्थापन समितिले कोषको व्यवस्था गर्नुको साथै बीसवटा यात्रा पूरा गरेपछि प्रत्येक यात्राको संस्मरण संकलन गरी “स्रष्टा पदयात्रा” नामक संस्मरण संग्रह प्रकाशित गर्ने निर्णय लियो । यानी यात्रा गरिएको स्थानको बारेमा अरूलाई पनि जानकारी गराउने । आफूले प्राप्त गरेको अनुभूति बाँड्ने । यात्रा गर्ने सम्पूर्ण स्रष्टाको सिर्जना अटाउने । यात्रा संस्मरणको स्वाद पाठकलाई चखाउने चाहना छ । आज यात्रामा भोगेका सुख–दुःख बाँडेर रमाउने । यतिमात्र होइन यात्राको क्रममा साहित्यिक कार्यक्रमलाई महत्व दिँदै आएको छ । असहज भए पनि सकेसम्म स्थानीय जानकार व्यक्तिबाट सहयोग लिने प्रयत्न गरिएको छ ।
यात्रा नीरस नबनोस् भनी यात्रा गर्ने स्थानको बारेमा अग्रिम जानकारी संकलन गर्ने गरिन्छ । स्रष्टा पदयात्राको उद्देश्यसँग नमिल्ने व्यक्तिलाई सकभर सहभागी गराउने गरिएको छैन । यात्रा गरेको स्थानको कला संस्कृति अध्ययन गरी सिर्जनामा स्थान दिने प्रयत्न गरिएको छ । आपसमा सल्लाह गरेर पदयात्रा गर्ने नयाँ रुट पहिल्याउने गर्दै आएको छ ।
संस्मरण लेखनमा पृथक कुरोलाई ध्यान दिइएको छ । उद्देश्य मिल्दो जुल्दो निकायसँग सम्पर्क बढाएर सहकार्य गर्ने सोच बनाइएको छ । यात्राको क्रममा कृषि र पर्यटनलाई विशेष महत्व दिइएको छ । यात्रा अनुभव भनेको आर्जन गरेको सम्पत्ति हो । यसर्थ लिपीबद्ध गरी प्रकाशित गरिनेछ । यात्रा गर्दा पुरातत्व महत्वका बस्तु पाइएमा अध्ययन गर्ने गरिएको छ ।
समूहमा हिँड्ने बानीको विकास गरिएको छ । व्यक्तिको क्षमता अभिवृद्धि गर्न मन्तब्य दिन लगाउने गरिन्छ । मानव प्रकृतिमा विश्वास गर्दै यात्रा उत्पादनमूलक र व्यवस्थित बनाउनेतर्फ ध्यान दिइएको छ । स्रष्टा पदयात्राले स्रष्टालाई स्वस्थ रहन र सिर्जना गर्न प्रेरणा प्रदान गरेको छ ।
पदयात्रामा सहभागी सबै स्रष्टा हुन् । घुम्न र रमाइलो गर्न मात्रै हाम्रो अभियान होइन । कोठामा बसेर लेखिएकोभन्दा भ्रमण गरी ज्ञानार्जन गरी लेखिएको साहित्य जीवन्त हुन्छ । स्व–आर्जन ज्ञानले हिनभाव साहित्यमा प्रवेश गर्नबाट रोक्छ । जब स्वप्रतिष्ठामा रमाउने व्यक्तिको यथार्थ क्षमता प्रकट हुन्छ तब हीनताबोधले घर न घाटको देखिन्छ ।
काठमाडौं उपत्यका छोटो दूरीको पदयात्राको लागि हाम्रो रोजाइमा परेको हो । शहरको व्यस्त दैनिकीबाट केही घण्टाकै फरकमा स्वच्छ र स्वस्थ्य अनि शान्त प्रकृतिको अनुभव, मन मुग्ध बनाउने ग्रामीण परिवेश र पङ्क्तिबद्ध हिमाल दृश्यावलोकनको सुविधा उपत्यका वरपरको डाँडाकाडाँ उक्लिँदा हामीले प्राप्त गरेको यथार्थ हो । बिहान गएर बेलुकी फर्कन सकिने भएकोले पनि स्रष्टा पदयात्राले निरन्तरता पाएको हो ।
हजुर स्वास्थ्यका हिसाबले पनि उपत्यकाका डाँडासम्मको पदयात्रा फाइदाजनक रह्यो त्यस आधारमा सामान्य जानकारी गराउन चाहेको हुँ । पदयात्रा गर्दा प्राप्त हुने सुख–दुःखको आनन्द नै बेग्लै हुन्छ । हामी स्रष्टा पदयात्रीले थकाइ मार्न नपरोस् । पदयात्राको क्रममा पहिलो पटक हामी पुगेको ठाउँ हो लाकुरी भञ्ज्याङ । एक दिनको पदयात्राको लागि उत्कृष्ट यात्रा बनेको अनुभूति गर्न पाएका थियौं । लाकुरी भञ्ज्याङको फेदी लामाटारसम्मको गाडीको यात्रापछि पदयात्रा गर्दै पुग्न सकिन्छ ।
डाँडामा रहेको भ्यू टावरबाट हिमाल अवलोकन गर्ने सुबिधा छ । उपत्यकाको धेरैजसो ठाउँसमेत देख्न सकिन्छ । दोस्रो पदयात्राको क्रममा हामी बसबाट सुन्दरीजल पुग्यौं र बाटै बाटो उकालो लागि राष्ट्रिय निकुञ्जमा टिकट लिएर अगाडि बढेका थियौं । सुन्दरीजल पहिल्यैदेखिकै प्रख्यात ठाउँ पनि हो । चराचुरुङ्गीमा रुची भएका हामी स्रष्टाको लागि बूढानीलकण्ठसम्मको यात्रा निकै रमाइलो बनेको थियो । सुन्दरीजलको पानी पोखरी, घना जङ्गलको बीचबाट शान्त वातावरणमा हिँड्नु, प्रकृतिमा रमाइरहेका चराहरूको आवाजमा रमाउँदै अघि बढ्नु, अजङ्गको तारे भीर देख्नु यसको छुट्टै आफ्नै किसिमको आनन्द रह्यो ।
तेस्रो पदयात्राको क्रममा सीतापाइला चोकबाट हिँडेर हामी ऐतिहासिक र सांस्कृतिक महत्त्वका कारण प्रख्याती कमाएको दहचोक पुगेका थियौं । काठमाडौंदेखि पश्चिमतर्फ अग्लो स्थानमा रहेको दहचोकमा इन्द्रदह, कालु पाण्डेको समाधिस्थल, पश्चिमतर्फदेखिने धादिङको गाउँ बस्ती अनि त्यही बस्तीबाट माथि देखिने हिमाल अवलोकनले मन आनन्दमा नाच्न थाल्छ, शान्त वातावरणले थकित ज्यानलाई एकै छिनमा आराम दिन्छ ।
त्यहाँबाट पश्चिम दक्षिण तर्फको जंगल हुँदै ओरालो ओर्लिएर दहचोक गाउँमा पुगेका थियौं । छोटोदुरीको पदयात्रामा वनजंगलको आनन्द लिन, हिमाल अवलोकन गर्न, ऐतिहासिक र धार्मिक महत्वको स्थान हेर्नको लागि दहचोक उपयुक्त ठाउँ हो । चौथो पदयात्रा साँगा भञ्ज्याङसम्म मोटरमा गएर उकालो उक्लिएर काभ्रे जिल्लाको तामाङबस्ति हुँदै भक्तपुर जिल्लामा पर्ने आशापुरी पुगेका थियौं । अनी खासै चर्चामा नरहेको रानीकोट पुगेर त्यहाँबाट काठमाडौं उपत्यका हेरेर रमाएका थियौं । ध्याम्पेडाडा पिननिक स्पटको रुपमा प्रख्यात स्थान बन्दैछ भने पाइलट बाबाको आश्रम हेर्न हरेक दिन दशनार्थीको घुइचो लाग्ने गर्छ ।
काठमाडौंको पश्चिममा रहेको चम्पादेवीको पदयात्रा टौदहदेखि शुरु गरिएको थियो । पदयात्राको लागि नै भनेर मार्ग बनाइएको हुँदा यात्रा सहज बन्यो । पदयात्रा थालनी गर्ने स्थल टौदह आफैमा सुन्दर रहेको साथै पौराणीक र ऐतिहासीक प्रसङ्ग जोडीएको पोखरीको कारणले पनि चर्चित छ । टौदहदेखिको यात्रामा स्थानीय परिवेशसँग साक्षात्कार गर्दै प्राकृतिक आनन्दको लाभ लिइएको थियो । दुई हजार तीन सय मिटर अग्लोरहेको चम्पादेवी पुगेर मच्छेगाउँको बाटो भएर ओर्लिएर यात्रा समापन गरिएको थियो ।
मान्नै पर्दछ उपत्यकाको दक्षिणतर्फ रहेको ललितपुरको गोदावरीदेखि उकालो उक्लिएर पुगिने फूलचोकी पदयात्राको लागि उपयुक्त गन्तब्य हो । काठमाडौंदेखि १४ किलोमिटर दक्षिणमा रहेको गोदावरीदेखि उकालो उक्लिएर उपत्यका वरीपरीको सबभन्दा अग्लो डाँडो फूलचोकीको उचाई दुई हजार सात सय तिरासी मिटर रहेको छ ।
निकै चर्चामा रहेको शिवपुरी पदयात्राको लागि उपयुक्त स्थान हुनुको साथै योग र ध्यानको लागि पनि प्रसिद्ध स्थान रहेछ । काठमाडौं बूढानिलकण्ठदेखि ६ किलोमिटर उचाईमा रहेको रमणिय स्थान हो शिवपुरी । शिवपुरी पदयात्राको क्रममा हिमालको दृश्य, चराचुरुङ्गीको कलरवमा रमाउनुको साथै, वागमतीको उद्गमस्थल बागद्वारमा आश्रम बनाई बसेका टोड्के बाबा (टोड्कामा करीब एक दशक साधनामा बसेका भनेर भन्ने गरिएको छ, उनी साधना गरेको रुखको टोडका पनि अवलोकन गरेका थियौं) सँग भलाकुसारी गरेका थियौं ।
२०७४ साल असार २ गते चाँगुनारायण मन्दिर अवलोकनगरी तेलकोट हुँदै मुक्तिनाथ बाबाको आश्रम निरीक्षणगरी शालीनदी हेर्दै वज्रयोगीनी मन्दिर भएर शंख आकारको बनोटमा तान्त्रीक विधीबाट बसालीएको प्राचीन नगरी साँखु हेर्दै तरेली साहित्य प्रतिष्ठानले राखेको स्वागत कार्यक्रममा स्रष्टा पदयात्री सहभागी भएका थिए ।
पछिल्लो समय लेले आफैंमा एउटा पर्यटकीय स्थलको रूपमा विकास गर्दै गरेको पाइयो । उपत्यकाको दक्षिणतर्फ रहेको ललितपुरको लेलेदेखि नल्लु गाउँ हुदै लामीडाडा छोटो पदयात्राको लागिउपयुक्त गन्तब्य लाग्यो । लामीडाडाबाट देखिने हिमाल शृङ्खलाको दृश्यावलोकन तथा चराचुरुङ्गीको चिरवीरले एउटा फरक अनुभूती पदयात्रामा प्राप्त भएको थियो । ललितपुरको लेलेदेखि लामीडाँडा पदयात्रा गजबको गन्तब्य बनेको थियो ।
सीतापाइला चोकदेखि सेतो गुम्बा, केदारनाथ गुफा, इचङ्गुनारायण हुँदै हलचोकसम्मको पदयात्रा आफैमा चर्चित बन्न पुगेको थियो । यसो त मणिचुड पर्वतको पदयात्रामा स्थानीय परिवेशसँग साक्षात्कार गर्दै प्राकृतिक आनन्दको लाभ उठाएका थियौं । चन्द्रागिरी भञ्ज्याङको दक्षिणतर्फ रहेको ऐतिहासीक नगरी चित्लाङको पदयात्रा क्रममा देखिएको प्राकृतिक छटा, हिमालको लोभलाग्दो दृश्य अवलोकन र ऐतिहासीक, धार्मिक तथा पुरातात्वीक महत्वका मन्दिर चैत्यले मनमा उत्साह जगाएको थियो ।
पदयात्राको क्रममा चिसापानी पुगेर सूर्योदयको मनमोहक दृश्य हेरियो, नेपालको पहिलो जलविद्युत गृह (चन्द्रज्योती) र सोको पानी पोखरी पनि हेरियो, टोखाबाट पदयात्रा गरि अति विशिष्ठ तारकेश्वर पनि पुगियो, नालाबाट पदयात्रा गरि अति प्रचारीत नगरकोट पनि गइयो र पदयात्रा गर्ने क्रम अझै जारी छ, निरन्तर चलिरहन्छ ।
यही यात्राले हामीलाई निकै अगाडि लगिसकेको छ । हामीले अहिलेसम्म अर्थात् २०७९ असोजसम्म ६२ स्थानमा पदयात्रा गरेर अनुभव बटुल्न पाएका छौं । यसक्रममा हामीले २० वटा यात्राको पहिलो पुस्तक समयमै निकाल्यौं । त्यसपछि रचना पत्रिकाले सघायो । रचनाले श्रष्टा पदयात्रा अंक नै निकालिदियो । रचनाले १५ वटा श्रष्टाको यात्रा निकाल्यो । धेरै बाँकी छन् । ती प्रकाशनको पर्खाइमा छन् । हाम्रो यात्रा भने जारी छ ।