arrow

काठमाडौं ८ मा नेकपा एस कि एमाले !

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ११ मंगलबार
congress-uml-maobadi-as-jasapa.jpg

काठमाडौं । काठमाडौं संसदीय निर्वाचन क्षेत्र ८ बाट २०७४ को निर्वाचनमा तत्कालीन नेकपा एमालेका उम्मेदवार जीवनराम श्रेष्ठले जित हात पारेका थिए । अहिले श्रेष्ठ माधवकुमार नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादीका नेता हुन् भने उनी संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हुन् ।

नेपाली कांग्रेसका उम्मेदवार स्वर्गीय नविन्द्रराज जोशी ४ सय ४४ मतले पराजित भएका थिए । तत्कालीन नेकपा एमालेबाट उठेका श्रेष्ठले १३ हजार ३ सय ९७ मत प्राप्त गर्दा कांग्रेसका स्वर्गीय जोशीले १२ हजार ९ सय ५३ मत प्राप्त गरेका थिए । एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी एकता भएको थियो । जसका कारण जीवनरामले जित हासिल गरेका थिए ।

विवेकशील साझा पार्टीका पुकार बमले ४ हजार ४ सय १४, जनसमाजवादी पार्टी नेपालका मनोजकुमार खड्गीले ४ सय ३७ र नयाँ शक्ति पार्टी नेपालका केशव प्रशाद तझयाले २ सय ७४ मत प्राप्त गरेका थिए । निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसबीच बलियो प्रतिस्पर्धा भएको थियो ।

क्षेत्र नम्बर ८ मा जितेका श्रेष्ठ नेकपा एकीकृत समाजवादीमा प्रवेश गरे पनि यस क्षेत्रमा स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले नै बलियाे देखियाे ।

अहिलेको स्थानीय चुनाव कांग्रेस अघि

काठमाडौं ८ संसदीय निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिकाको १३, १५, १९, २०, २३ र २४ र नागार्जुन नगरपालिकाको ४ र ५ नम्बर वडा रहेका छन् ।

२०७४ को स्थानीय निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेले १३ हजार ५ सय ८१ मत प्राप्त गरेको थियो भने नेपाली कांग्रेसले १० हजार ७२ मत प्राप्त गरेको थियो ।

नेकपा माओवादी केन्द्रले २ हजार ८ सय २८ मत प्राप्त गरेको थियो भने राप्रपाले ३ हजार १ सय ५६ मत प्राप्त गरेको थियो ।

यस पटकको स्थानीय तह निर्वाचनमा भने यस क्षेत्रबाट नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । यस पटक नेपाली कांग्रेसले १० हजार ८ सय ७२ मत प्राप्त गरेको छ भने नेकपा एमालेले ९ हजार २ सय ५३ मत प्राप्त गरेको छ ।

यस्तै माओवादी केन्द्रले १ सय ८९ र राप्रपाले ३ हजार १ सय ६० मत प्राप्त गरेको छ ।

दुवै प्रमुख दलका लागि उस्तै अवस्था

क्षेत्र नम्बर ८ मा अहिलेको स्थानीय तह निर्वाचनको मत परिणामका आधारमा नेपाली कांग्रेस केही अघि देखिए पनि एमालेको पकड पनि उत्तिकै बलियो रहेको छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादीसँग खासै मत नहुँदा गठबन्धन भएकैले फाइदा हुने स्थिति पनि देखिँदैन । स्थानीय तहको मत हेर्दा एमालेले राप्रपासँग तालमेल गर्ने हो भने एमाले झनै बलियो रहने अवस्था छ ।

यसभन्दा बढी नेपाली कांग्रेस अथवा गठबन्धनतर्फका साझा उम्मेदवार र नेकपा एमालेका उम्मेदवारको व्यक्तिगत प्रभावलेसमेत हार जित निर्क्याैल गर्न महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ । 

२०७४ को निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको अवस्थामा पनि त्यतिबेला एमाले नफुटेकाे अवस्थामा उम्मेदवार बनेका श्रेष्ठले करिब ४ सयको मतान्तरले मात्रै जित हात पारेका थिए ।

धेरै मतान्तरकाे जित नभएकाे हुँदा एमालेलाई पनि सहज स्थिति छ भनेर भन्न सकिने अवस्था छैन । जे होस् काठमाडौं क्षेत्र नम्बर ८ मा संसदीय निर्वाचनका उम्मेदवारबीच यस पटक पनि बलियो प्रतिस्पर्धा हुनेछ ।

तर एउटा निश्चित कुरा के हो भने जीवनराम त्यहाँका स्थानीय नेता हुन् । उनी कुनै समय वडाध्यक्षसमेत थिए । तल्लाे तहदेखि नै राजनीति गरेका हुनाले उनले स्थानीयको मत पाउने देखिन्छ । यसको फाइदा गठबन्धनले बढी उठाउनेछ । 

स्वतन्त्रले पाउने मतले भने अहिलेकाे  आँकलनलाई उथलपुथल नपार्ला भन्न सकिन्न ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ