arrow

यस्तो छ काठमाडौं ९ को संसदीय चुनावी अंकगणित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १२ बुधबार
ktm9-ulm-congress-ktm-9.jpg

काठमाडौं । काठमाडौं संसदीय निर्वाचन क्षेत्र ९ बाट २०७४ को निर्वाचनमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका थिए । नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच गठबन्धन भएको त्यतिबेलाको निर्वाचनमा एमालेका उम्मेदवार श्रेष्ठ फराकिलो मतान्तरले विजयी भएका थिए ।

उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका ध्यानगोविन्द रञ्जितले १४ हजार ८ सय २ मत पाएका थिए भने विजयी भएका एमालेका उम्मेदवार कृष्ण गोपाल श्रेष्ठले २२ हजार ८ सय ५२ मत पाएका थिए ।

तत्कालीन विवेकशील साझा पार्टीका मिलन पाण्डेले ४ हजार ९ सय ४६ मत प्राप्त गरेका थिए । नेपाल मजदूर किसान पार्टीका हरिशरण श्रेष्ठले ४ सय ३४ र संघीय समाजवादी फोरम नेपालकी शर्मिला सुवाल (डंगोल) ले ४ सय २ मत प्राप्त गरेकी थिइन् ।

स्थानीय तहको स्थिति कस्तो छ?
 
काठमाडौं संसदीय क्षेत्र नम्बर ९ मा काठमाडौं महानगरपालिकाको १२, १४, २१ र २२, नागार्जुन नगरपालिकाको ६, ७, ८, ९ र १० र चन्द्रागिरि नगरपालिकाको १, १२, १३, १४ र १५ वडा रहेका छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेले संसदीय र स्थानीय दुवै तहको निर्वाचनमा बलियो जित हात पारेको थियो । स्थानीय तह निर्वाचनमा एमालेले १९ हजार १ सय ५८ मत प्राप्त गरेको थियो भने, नेपाली कांग्रेसले १६ हजार ८ सय ६३ मत प्राप्त गरेको थियो ।

माओवादी केन्द्रले ३ हजार ४ सय २२ र राप्रपाले २ हजार १७ मत प्राप्त गरेको थियो ।

अहिले गत २०७९ को स्थानीय तहको निर्वाचनमा भने गठबन्धनका कारण नेपाली कांग्रेसलाई फाइदा भएको देखिन्छ । यसै फाइदाले कांग्रेसले केही थप मत प्राप्त गरेको छ ।

यसपटकको स्थानीय तह निर्वाचनमा कांग्रसले १९ हजार ९ सय १६ मत प्राप्त गरेको छ भने नेकपा एमालेले १९ हजार २ सय ८२ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले ६ सय ९५ र राप्रपाले २ हजार ४ सय १ मत प्राप्त गरेको छ ।

अहिलेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले करिब ६ सय मत बढी ल्याए पनि संसदीय निर्वाचनमा भने पुरानो स्थिति हेर्दा एमालेलाई फाइदा हुनसक्ने स्थिति देखिन्छ ।

यसमा अहिले नेपाली कांग्रेसले गठबन्धनका तर्फबाट बनाउने उम्मेदवार र नेकपा एमालेका तर्फबाट उठ्ने उम्मेदवारको व्यक्तिगत प्रभावले पनि महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।

त्यसाे त त्यतिबेला एमाले र माओवादी केन्द्रबीच एकता भएको थियो । अहिले त्यो एकता पाँच दलबीच छ । याे हिसाबले एमाले कमजोर देखिन्छ ।

दुवै पक्ष उत्तिकै बलियो

काठमाडौं संसदीय निर्वाचन क्षेत्र ९ मा एमाले एक्लै पनि बलियो देखिएको छ । एमालेलाई चुनौती दिनका लागि गठबन्धनतर्फको साझा उम्मेदवार कत्तिको प्रभावशाली रहनेछ भन्ने महत्वपूर्ण विषय हुने देखिन्छ ।

विगतको संसदीय र स्थानीय तहको मतको अंकगणित हेर्ने हो भने नेकपा एमाले र नेपाली कांग्रेस वा गठबन्धनतर्फका उम्मेदवारबीच यस क्षेत्रमा प्रतिस्पर्धा लगभग बराबर हुने देखिन्छ ।

अर्कातर्फ आन्तरिक गद्दारी हुँदै आएका घटना पनि सुनिन्छन् । त्यसले पनि प्रभाव नपार्ला भन्न सकिन्न ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ