arrow

दार्चुलामा गठबन्धनबाट मन्त्री बडू र एमालेका ठगुन्नाबीच रोचक प्रतिस्पर्धा

logo
प्रकाशचन्द्र जोशी,
प्रकाशित २०७९ कार्तिक २ बुधबार
dilendra-badhu-ganesh-thagunna.jpg

दार्चुला । एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको दार्चुला जिल्लामा जितका लागि सत्ता गठबन्धन र नेपाल कम्युनिस्ट पार्टी एमालेबीच नै कडा प्रतिस्पर्धा हुने भएको छ । यो प्रतिस्पर्धा निकै रोचक हुने पनि दाबी गरिएको छ । 

जिल्लामा नेपाली कांग्रेस र नेकपा माओवादीको गठबन्धनका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसमेत रहेका दिलेन्द्रप्रसाद बडू उम्मेदवार रहेका छन् । नेकपा एमालेका तर्फबाट गणेशसिंह ठगुन्ना मैदानमा छन् ।

दार्चुलामा एमाले र कांग्रेसबीच प्रतिस्पर्धात्मक स्थिति देखिँदै आए पनि समग्र स्थाानीय तहको नतिजा हेर्दा एमालेको पकड बलियो रहेको छ । गत बैशाखमा भएको २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुँदा माओवादी केन्द्रले चार ठाउँमा जित हात पार्दै फाइदा लिएको छ ।

२०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमाले र माओवादीको गठबन्धनले बलियो मतान्तरसहित जित हात पारेको थियो । अहिले आसन्न २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएकाे छ ।

तर स्थानीय तहको मतपरिणाम हेर्ने हो भने एमाले शक्तिशाली नै देखिएको छ ।

यस्तो छ प्रतिस्पर्धा

प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा दार्चुलाबाट एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नाले बलियो मतान्तरसहित जित हात पारेका थिए । माओवादी केन्द्रसँग गठबन्धन रहँदा एमालेका ठगुन्नाले २८,९९८ मत प्राप्त गरेका थिए ।

०७४ को प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बिक्रमसिंह धामीले २२,२३३ मत प्राप्त गरेका थिए । यसरी एमालेले कांग्रेसविरुद्ध झण्डै ६ हजार मतान्तरले जित हात पारेको थियो ।

कांग्रेसको छैन एउटै स्थानीय तहमा जित

गत बैशाखमा भएको २०७९ को स्थानीय तह निर्वाचनमा दार्चुला जिल्लामा एमालेले कांग्रेस र माओवादी केन्द्र दुवैको भन्दा बढी मत ल्याएको छ । ९ स्थानीय तहमध्ये ५ वटाको प्रमुख एवं अध्यक्षमा एमालेले जित हात पारेको छ भने ४ स्थानीय तहमा माओवादी केन्द्रका गठबन्धनतर्फका उम्मेदवारले जित हात पारेका छन् ।

एमालेले ३० हजार ३ सय ९२ मत प्राप्त गर्दा नेपाली कांग्रेसले १७ हजार ६३ र माओवादी केन्द्रले १२ हजार ६ सय ८७ मत प्राप्त गरेको छ । कांग्रेस र माओवादीबीच गठबन्धनका बाबजुत पनि एमालेले यी दुवै दलको भन्दा बढी मत प्राप्त गरेको छ । राप्रपाले १९१ र नेकपा एकीकृत समाजवादी (एस) ले १५३ मत प्राप्त गरेको छ ।

०७४ को स्थानीय तहको निर्वाचनमा ९ स्थानीय तहमध्ये कांग्रेसले ५, एमालेले ३ र माओवादी केन्द्रले १ स्थानीय तहमा जित हात पारेको थियो । समग्र मतमा भने एमालेले कांग्रेसलाई लगभग बराबरीमा राखेको थियो ।

०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले २१, ७६८ मत प्राप्त गर्दा एमालेले २०,४४५ मत प्राप्त गरेको थियो । माओवादी केन्द्रले १०,०५१ मत प्राप्त गरेको थियो । यसरी हेर्दा कांग्रेसले पाँच ठाउँमा र एमालेले तीन ठाउँमा जिते पनि समग्र मतमा समान प्रतिस्पर्धा रहेको देखिन्छ । 

राप्रपाले ३५६ र संघीय समाजवादी फोरमनेपालले ५ मत प्राप्त गरेको  थियो ।

यसपालि जित कसको ?

दार्चुलामा नेकपा एमालेका उम्मेदवार ठगुन्ना र गठबन्धनतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार बडूबीचको प्रतिस्पर्धा बलियो रहने देखिएको छ । गत बैशाखमा भएको २०७९ को स्थानीय तहको निर्वाचनको मत परिणामका आधारमा आंकलन गर्ने हो भने एमाले पनि बलियो नै देखिन्छ ।

माओवादी केन्द्रका मतदाताहरुले कांग्रेसमा भोट हाल्न अल्छि गरेमा यसले एमालेलाई जितका लागि सहज हुनेछ । यस भन्दा बढी एमालेका उम्मेदवार ठगुन्नाको व्यक्तिगत सकारात्मक प्रभावसमेत उत्तिकै रहेको छ भने जिल्लामा प्रेमसिंह धामीको गढ रहेको एमालेलाई दलगत सम्मान दिनेहरुसमेत रहने छन् ।

मन्त्रीसमेत रहेका कांग्रेसका उम्मेदवार बडूलाई पनि माओवादी केन्द्रका मतदाताहरुबाट बलियो साथ मिलेको अवस्थामा जितका लागि सहज हुने देखिन्छ । पार्टी र व्यक्तिगत प्रभावको तुलनामा हेर्दा कांग्रेस उम्मेदवार बडूलाई माओवादी केन्द्रसँग गठबन्धनकै अवस्थामा पनि जितका लागि कठिनाई हुनसक्छ ।

जिल्लामा राप्रपाबाट नरेन्द्रसिंह धामी, नेमकिपाबाट विश्वराम दुवाल, राप्रपा नेपालबाट देवबहादुर बम, नेस्नल पिपुल्स पार्टीबाट धर्मसिंह दयाली, नागरिक उन्मुक्ति पार्टीबाट तारादत्त जोशी, संघीय लोकतान्त्रिक मञ्चबाट रमेशराम लुहार र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रबिन्द्रसिंह धामीको समेत उम्मेदवारी दर्ता छ ।

यी उम्मेदवारहरुसहित प्रमुख दुई प्रतिस्पर्धीका रुपमा हेरिएका एमालेका ठगुन्ना र गठबन्धनतर्फबाट कांग्रेसका बडू प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा रहनेछन् ।

गठबन्धनसँगको बलियो प्रतिस्पर्धा बीच एमालेले दार्चुलामा जितको सम्भावना राखेको छ । यद्यपि बडूकाे इमानले पनि उनलाई जित्न सहज हुने देखिन्छ । 

विजेतालाई मतपरिणामले नै सामुन्ने ल्याउनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ