arrow

राष्ट्र के हो ? समुन्नत राष्ट्रको लागि यस्तो छ पौराणिक मार्गदर्शन

logo
डा. प्रकाश ढकाल,
प्रकाशित २०७३ भदौ २४ शुक्रबार
nation-mahabharath-1.jpeg
काठमाडौं। राज् धातुमा सर्वधातुभ्यः ष्ट्रन् सूत्र ले ष्ट्रन् गरेर राष्ट्र शब्द बन्दछ। वैदिक वाङ्मयमा देश, जनपद, भूमि आदि शब्दलाई राष्ट्रको पर्यायवाची शब्दका रूपमा प्रयोग गरिएको पाइन्छ। यसरी शाब्दिक दृष्टिले सुसंस्कृत र सुसाशित देश नै राष्ट्रका रूपमा परिभाषित हुन्छ। सामान्यतया राष्ट्र भन्नाले जनसमुदाय सहितको थलो वा देशलाई बुझिन्छ। व्यक्तिको सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक र राजनीति आदि विविध उन्नतिहरूको आधारशिला राष्ट्र हो।  राष्ट्रको समुन्नतिमा व्यक्तिको उन्नति निहित छ। वर्तमानमा देश र राष्ट्र भन्नाले उस्तै कुरा बुझिने भए पनि राष्ट्र र राज्यको अवधारणा चाँहि अलिक भिन्न छ। अहिले एउटा ‘राष्ट्र’ भित्र अनेकौँ ‘राज्य’ हुन सक्छन्। तर वैदिक अवधारणामा चाँहि राष्ट्र र राज्य वीच कुनै भिन्नता रहेको पाइदैन।
 
आधुनिक तात्पर्यमा चाँहि ‘राष्ट्र’ भन्नाले निश्चित भूगोलमा बसोबास गर्ने त्यस्तो जन समूहलाई बुझिन्छ, जसको आफ्नै एउटा पहिचान हुन्छ। ‘राष्ट्र’ बन्नका लागि त्यहाँ बस्ने जनताको भाषा, धर्म, इतिहास, संस्कृति, नैतिक आचार वा मूल उद्गम मध्ये  केही कुरा मिल्नुपर्छ। यही साझा मिलनबिन्दुले उनीहरूलाई आपसमा जोडेर राख्छ र उनीहरू एउटै राष्ट्रका नागरिक बन्छन्। यसरी ‘राष्ट्र’ लाई बुझिने गरी एउटा त्यस्तो जनसमूहका रूपमा परिभाषित गर्न सकिन्छ, जो निश्चित भौगोलिक सीमाभित्रको एउटै देशमा बस्छ, समान परम्परा, समान हित र समान भावनाले बाँधिएको छ र जसमा एकताबद्ध हुने उत्सुकता एवं समान राजनीतिक महत्वाकाङ्क्षा छ। जसरी समुन्द्रमा पुगेपछि नदीहरूको जल एकरूप र एकाकार हुन्छ, त्यसैगरी राष्ट्रले विभिन्न वर्गका मानिसहरूलाई एक रूपता प्रदान गर्छ। 

 
 
“सिंहाक्षेत्रम् वा व्याघ्रक्षेत्रम्” जसरी एउटा सिंहले आफु पूर्ण वयस्क हुँदा जुन गर्जन गर्छ सो गर्जन सुनिने क्षेत्रलाई आफ्नो क्षेत्र घोषणा गर्दछ, त्यसरी नै एउटा राजाले जहाँसम्म सकेसम्म आफ्नो सामथ्र्यले हित अनुकूल रहनेगरी राज्यसञ्चालन एवं प्रशासनिकप्रभाव पार्न सक्छ त्यो नै राष्ट्र हो। राज्यका सातवटा अङ्गहरूमध्येको ‘राष्ट्र’ सर्वश्रेष्ठ हो। वरुण देवता नदिका रूपमा आफ्नै बलले राजा जसरी सबै स्थानमा पुग्दछन्। राष्ट्र शब्दको प्रयोग ऋग्वेदमा सर्वप्रथम भएको पाइन्छ। राज्यका अन्य अङ्गहरूको आधार भनेको राष्ट्र हो। त्यसैले राजा वा राज्यप्रमुखको इज्जत,प्रतिष्ठा, शौर्य राष्ट्रको सम्वृद्धि तथा शान्तिको अवस्थामा रहन्छ भन्ने मान्यता छ।
जनपद र राष्ट्रलाई एकै वर्गमा राखेर व्याख्या विश्लेषण गरिएको छ। जनपद रहने स्थान अर्थात् स्थानीय तहमा  निर्धारित  शासन व्यवस्था नै राष्ट्र हो। तर आधुनिक राजनैतिक सेरोफेरोमा राष्ट्रको यस्तो परिभाषाले सन्तुष्ट हुन सकिँदैन। जब राष्ट्रको निर्माण हुन्छ अनि त्यस राष्ट्रको आफ्नो  शासन व्यवहार नियम हुनु स्वाभाविक हुन्छ। जनपद र राष्ट्रको गोप्य सम्बन्ध यहाँ नेर प्रष्ट हुन्छ। भौगोलिक अवस्था कर्म विशेष अवस्थालाई ध्यानमा राखेर गरिएको  शासन राष्ट्र हो। राष्ट्रमा भूगोलमा रहेका संस्कार,कर्तव्य र धर्मको सहभागिता हुन्छ। सोही सहभागिताको आधारमा राज्यको निर्माण हुन्छ।
 
विना राष्ट्र जनपदको अस्तित्व र विना जनपद राष्ट्रको औचित्य नरहने हुनाले दुवैलाई एकै स्थानमा राखेर विश्लेषण गरिएको पाइन्छ। राष्ट्रको समृद्धि भूमिको गुणमा रहन्छ। राष्ट्रको समृद्धिले मात्र राजाको श्रीवृद्धि हुन्छ। अतः शासकले आफ्नो समृद्धिका लागि उपयुक्त भूमिको चयन गर्नुपर्छ। जहाँ प्रचुर मात्रामा अन्न उब्जियोस्। जहाँ पशुपालन व्यवसाय राम्रो होस्। अत्यधिक मात्रामा जल होस्। सुसंस्कृत व्यक्ति रहने, जङ्गल भएको, जल स्थल दुवै मार्ग भएको स्थानको खोजीमा निरन्तर राजा रहनुपर्छ। राजा भइसकेपछि त्यस्ता सुसंस्कृत नागरिक भएको राष्ट्र अर्थात् क्षेत्रमा राजा हुने चाहना राख्नु स्वाभाविक हुन्छ। यहाँ राष्ट्र भन्नाले जनताहरूले एक आपसमा मिलाएर बनाएको भूमि हो। जुन भूमिलाई मानवले आफ्नो हित अनुकूल बासस्थान, आवादी, कृषि, पशुपालन लगायतका क्षेत्रमा उपयोग गर्दछ। 
 
शासकले नयाँ वस्ती बसाल्ने क्रममा जल, निकास, सुरक्षा, खाद्यान्न, औषधोपचार जस्ता आधारभूत कुराहरूलाई लिएर अघि बढ्नु पर्दछ। शासकले ग्रामहरूको मण्डल प्राचीन स्थल या नवीन स्थलमा बनाउनुपर्दछ। स्थापित बस्तीमा अन्य देशका मान्छेहरू बस्न प्ररित गर्न सकियोस्, जहाँ राष्ट्रको अधिक जनसंख्या हुँदा स्थानान्तरण गर्न सकियोस् तर प्रत्येक ग्राममा १०० भन्दा कम र ५०० भन्दा बढी घर हुनुहुँदैन। अझ त्यसमा पनि अधिकतम कृषकहरूलाई बसाल्नुपर्छ। यस्ता स्थापित ग्रामहरूबीचको अन्तर एक या दुई कोशको हुनुपर्छ जसले छिमेकीलाई सहयोग गर्न सकियोस्। महाभारतमा राष्ट्रलाई पाँच प्रकारमा लिइएको छ। राष्ट्र बन्नका लागि पाँच भौगोलिक मानवीय संरचना आवश्यक हुन्छ। एक गाउँको दश गाउँको, बीस गाउँको, सय गाउँको र हजार गाउँको एक अधिपति बनाउनु पर्दछ।
 
एक गाउँ राष्ट्रको आधार हो। दश गाउँ सामूहिक जीवन पद्दतिको विशेषता हो। बीसगाउँ राष्ट्रको स्वरूप हो। सय गाउँ चेतनशील जनताको मुखरित गर्ने शक्ति हो। हजार गाउँ स्वयं राष्ट्र हो। यस्ता राष्ट्र-राष्ट्र मिलेर बल्ल राज्यको निर्माण हुन्छ। राष्ट्रको निर्माण पश्चात् बल्ल जनतामा राष्ट्रियताको भावना जागृत हुन्छ। राष्ट्रको आधार खोज्नुपूर्व हाम्रा ऋषिमुनिहरूको विभाजनलाई समझ्नु हेर्नु आवश्यक छ। सारा गोल ब्रह्माण्ड पृथ्वीलाई विभिन्न मुनिहरूले विभाजन गरेका छन्।  पौराणिक भूगोलको व्याख्या अनुसार द्वीप सातवटा छन्। 
 
जम्बु, प्लक्ष, कुश, क्रौञ्च, शाक, शाल्मली एवं पुष्कर। महाभारतमा पनि विभिन्न प्रकारका १८ वटा द्वीपहरूको नाम लिएको पाइन्छ। पवित्र कुरुक्षेत्र, मत्स्यदेश, पाञ्चालदेश र शूरसेनहरूको भूमिलाई सर्वोत्तम मानिएको छ। महाभारतको सम्पूर्ण कथाहरूमा करिब २०० जति देशहरूको नाम उल्लेख गरिएको पाइन्छ। ती मध्येका अजमीढ, अङ्ग, उशीनर, कलिङ्ग, कश्मीर, हस्तिनापुर, काशी, कुन्ती, कुरु, केरल, कोशल, गान्धार, चोड, निघ्न, त्रिगर्त, दशार्ण, नीचक, मगध, मद्र, मालव, इन्द्रप्रस्थ, विदर्भ, विदेह, हिमालय, विराट, शिवी, सौवीर, काम्बोज आदि प्रमुख छन्। 
 
कुनै राष्ट्रको निर्माणका लागि कुनै परिमाणको भूमि एवं ठूलो जनसंख्याको आवश्यकता पर्दछ। थोरै जनसंख्या एवं केही ग्रामहरूबाट राष्ट्रको निर्माण हुँदैन। प्राचीन भारतवर्षमा अहिलेको जस्तो राष्ट्रियताको भावना थिएन। सम्पूर्ण जनताहरूमा राष्ट्रियताको भावनाको पूर्ण अभाव थियो। किनकी उनीहरूमा पूजापाठ लगायत आफ्ना नितान्त संस्कारका विषयहरूमा मात्र केन्द्रीत थिए। 
उनीहरूलाई आफ्नो संस्कारप्रति सरोकार थियो। पहिला राष्ट्र भन्दा पनि संस्कार महत्वपूर्ण थियो पछि यही संस्कारको आधारमा नै राष्ट्रियता बन्यो। वर्तमान समयमा हामीले जसलाई राष्ट्र भन्छौं त्यो भौगोलिक, नैतिक र आन्तरिक अनुभूति मात्र हो। विशेषतः राष्ट्र संस्कार, धर्म , रीति रिवाज एवं सद्भावनायुक्त राजनैतिक नेतृत्वले छोपिएको हुन्छ। तसर्थ राष्ट्र महान् हुन्छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ