arrow

रसुवाको विकासका लागि मोहन आचार्यले के गरे ? यस्ता छन् मुख्य उपलब्धिहरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १२ शनिबार
mohan-acharya-rasuwa-mp.jpg
तस्बिर – फाइल ।

रसुवा । आसन्न निर्वाचनमा रसुवाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य इन्जिनियर मोहन आचार्यले जिल्लाको विकासका लागि दर्जनौं गतिविधिहरु गरेका छन् । २०७४ सालमा जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका आचार्यले व्यक्तिगत, सरकारी तथा अन्य निकायसँगको पहलमा जिल्लाको विकासमा दर्जनौं विकासका कामहरु गरेका हुन् । 

समृद्ध रसुवा निर्माण अन्तर्गत आचार्यले भौतिक संरचना निर्माणदेखि अन्य विकासका पूर्वाधार निर्माणमा पहल गरी निर्माण गरेका छन् । आचार्यकै पहलमा भौगोलिक रुपमा पिछडिएको बस्ती तिरुगाउँ सडक सञ्जालमा जोड्न सफल भएको छ । 

संसद विकास कोष, बागमती प्रदेश सरकारको सहयोगमा तिरु गाउँसम्म सडक निर्माण गरिएको हो । गाउँमै सडक पुगेसँगै अहिले तिरुका नागरिकको जिवनशैलीमा परिवर्तन आएको छ । उत्पादित बस्तु बजारसम्म लैजान तथा अन्य सामग्री गाउँसम्म ल्याउन सहज भएको स्थानीय मेन्दो तामाङले बताइन् । ‘माननीय मोहन आचार्यज्यूले हाम्रो गाउँको मुहारै फेरिदिनुभयो, पहिला कस्तो थियो यो ठाउँ, अहिले कस्तो भयो, धेरै परिवर्तन भयो’, उनले भनिन्, धन्यवाद भन्न चाहन्छु उहाँलाई ।’

आचार्यको पहलमा तिरुमा एकिकृत बस्तीसमेत निर्माण भएको छ । त्यसैगरी आचार्यको पहलमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको आर्थिक सहयोगमा हाकु, स्यो, नेसिंङ, बृदिम खाम्जिम, बृदिम सुर्का, करुमर्याङ, गुम्बुडाडा प्राङ्से लगायतका बिकट भेगहरुमा समेत सडक पुगेको छ । दुर्गम भेगका रुपमा चिनिएका वस्तीहरुमा सडक पुगेसँगै नागरिकको जिवनशैलीमासमेत परिवर्तन आएको छ ।

स्थानीय पूर्वाधार साझेदारी कोषमार्फत आचार्यले जिल्लामा संरचना निर्माणदेखि विकास निर्माण लगायतमा प्राथमिकता दिई बजेट बिनियोजनसमेत गरेका छन् । 

आचार्यको व्यक्तिगत सहयोग

आचार्यले आफ्नो व्यक्तिगत स्काभेटर जिल्लामा हुने मुख्य मुख्य गतिविधिमा सहयोग गरेका छन् । प्रत्येक वर्ष वर्षायाममा अवरुद्ध सडक नियमित सुचारु गर्न, कुनै विकास निर्माण लगायतमा स्काभेटरको प्रयोगका लागि सहयोग गर्दै आएका छन् । 

त्यसैगरी आचार्यले कोभिड–१९ को समयमा काठमाडौंमा बसोबास गर्ने रसुवाली नागरिकका ९३५ परिवारलाई खाद्यान्न वितरण गरेका थिए । 

सोही समयमा सार्वजनिक यातायातको अभावका कारण काठमाडौंमा रोकिएर बसेका ६ सयलाई यातायातको व्यवस्था गरेर रसुवा पुर्याएका थिए । 

कोभिडको समयमा जिल्लामा रहेका विपन्न, अतिविपन्न परिवारलाई दैनिक उपभोग्य सामग्रीहरु व्यक्तिगत रुपमा सहयोग गरेका थिए । 

कोभिड–१९ को समयमा रसुवाली नागरिकका लागि उनले आफ्नै घरमा आईसोलेसन सेन्टरकोसमेत स्थापना गरी कोभिड प्रभावित जिल्लाबासीलाई सहयोग गरेका थिए । 

उनले कोरोनाको समयमा अग्रपङ्तिमा खटिने जिल्लाका ६ सय भन्दा बढी व्यक्तिको आफ्नो व्यक्तिगत खर्चमा कोभिड बिमा गर्नुका साथै जिल्लाभर स्वास्थ्य सामग्री वितरण, माक्स स्यानिटाइजर र साबुन र खाद्यान्नसमेत वितरण गरेका थिए । 

त्यसैगरी सांसद आचार्यको व्यक्तिगत पहलमा रसुवाको दुई अस्पताललाई भेन्टिलेटरसहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए । जिल्लामा कोरोना संक्रमणको जोखिम बढेसँगै आचार्यले धुन्चे अस्पताल र जिबजिबे ग्रामिण अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । 

सांसद आचार्यले दुई अस्पताललाई ४ वटा मिनि भेन्टिलेटर, ३० वटा अक्सिजन, ५ वटा बेड र तीन हजार थान मास्क उपलब्ध गराएका थिए भने छिमेकी जिल्ला नुवाकोटको त्रिशुली अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेका थिए । 

आचार्यको पहलमा अहिले के–के हुँदैछ ?

आचार्यको पहलमा अहिले नौकुण्ड वृहत खानेपानी योजना निर्माणको प्रक्रिया अघि बढेको छ । बजेटको सुनिश्चितता गरी अहिले ईआईएको प्रक्रिया अघि बढेको जनाइएको छ । 

त्यसैगरी स्याउबारी हुँदै गोसाइकुण्डसम्म पुग्ने रणनितिक सडक निर्माण शुरु भएको छ । कालिकास्थान–जिवजिवे सडक अन्तर्गत धोवीखोला पुल, भोर्ले–दनुवास्वार–फलाखु खोलामा पक्कि पुल निर्माणको काम अघि बढेको छ ।

आचार्यकै पहलमा बाहुनडाँडा–स्यो–ग्रे हुँदै डाँडागाउँ–ठुलोगाउँसम्मको ३० किलोमिटर सडक निर्माणका लागि बजेट व्यवस्थापन गरिएको छ । भोर्ले जाने पुल, चिलिमे जाने रोङ्गाको पुलका लागि सम्भाव्यता अध्ययनका लागि बजेट बिनियोजन भएको छ । त्यसैगरी सोमदाङ हुँदै टिमुरेसम्मको वैकल्पिक राजमार्गका लागिसमेत आचार्यले पहल गरेका छन् । 

प्रतिनिधि सभाको दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका आचार्यले समृद्ध रसुवा निर्माणका लागि अधुरा काम पूरा गर्न र थप विकासका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् । 



लोकप्रिय समाचार
नयाँ