arrow

काठमाडौं १० मा प्रचण्डलाई हराएका राजेन्द्र ह्याट्रिक गर्न आतुर 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १३ आइतबार
rajendra-kc-kathmandu10.jpg

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं क्षेत्र नम्बर १० मा चुनावी सरगर्मी बढ्दो छ । देशभरका निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धन आबद्ध दलका उम्मेदवार र नेकपा एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । तर काठमाडौंमा १० मा चुनावी समीकरण अलिक भिन्न छ ।

नेपाली कांग्रेसका तर्फबाट राजेन्द्रकुमार केसी (राजन) तेस्रो पटक मैदानमा छन् । माओवादी केन्द्रकी अन्जना विशंखे पनि प्रतिस्पर्धामा उत्रिएपछि गठबन्धनको संयुक्त र साझा उम्मेदवार भन्ने यो क्षेत्रमा छैन । 

त्यस्तै मुख्य प्रतिस्पर्धीका रुपमा रहेको नेकपा एमालेको तर्फबाट ३९ वर्षीय हिमेश केसी मैदानमा छन् । तीन मुख्य उम्मेवादर बाहेक स्वतन्त्र र अन्य दलका उम्मेदवारहरु पनि घरदैलोमा व्यस्त छन् । तथापि यहाँ त्रिपक्षीय भिडन्त हुने देखिन्छ । केसी र विशंखेले मित्रवत प्रतिस्पर्धा गर्ने भन्दै गठबन्धन तोडेका थिए । 

कांग्रेसका तर्फबाट एकल सिफारिस भएका राजन केसी लगातार तेस्रो पटक चुनाव जित्दै ह्याट्रिक गर्ने अभियानमा छन् । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई करिब सात हजार मतान्तरले हराएर चर्चा बटुलेका केसीले २०७४ को प्रतिनिधि सभा निर्वाचनमा पनि कम्युनिष्ट गठबन्धनतर्फका माओवादी नेता हितमान शाक्यलाई हराएर सदन छिरेका थिए । 

०७० मा केसीले २० हजार मत ल्याउँदा प्रचण्डले १३ हजार हाराहारीमा मत ल्याएका थिए । त्यसबेला उनले ‘म्यान अफ दी इलेक्सन’ को उपाधि नै पाएर चर्चा कमाएका थिए ।

२०७४ को निर्वाचनमा केसीले २४ हजार १९० भोट पाउँदा उनका निकटतम प्रतिस्पर्धी शाक्यले २१ हजार ९०७ मत पाएका थिए । यस पटक त्रिपक्षीय भिडन्त हुँदा आफूले सहज जित निकाल्ने केसीको दाबी रहे पनि त्यति सहज देखिँदैन । 

एक दशक सांसद हुँदा सदनमा नेतृत्वदायी भूमिका नखेलेको, काठमाडौं–दक्षिणकाली सडक अलपत्र छाडेको, खानेपानीको विकराल समस्या हल गर्न नसकेको, ग्रामीण र कृषि सडकका लागि प्रभावकारी योजनाहरु ल्याउन नसकेको भनेर केसीको आलोचना भइरहेको छ । 

तर केसीे यी आरोपहरुलाई चिर्न र अधुरा कामहरुलाई पाँच वर्षभित्र पूरा गर्न आफ्नो उम्मेदवारी रहेको दाबी गरिरहेका छन् ।

अवस्था सहज छैन 
गठबन्धनमै आबद्ध दल माओवादी केन्द्रकी अन्जना विशंखे चुनावी प्रतिस्पर्धामा उत्रिएकाले राजन केसीलाई विगत जस्तो सहज छैन । किनकि माओवादीसहितका गठबन्धनमा आबद्ध दलहरुको मत केसीलाई खस्ने अवस्था देखिँदैन । 

मत विभाजनको अवस्था छ । माओवादी केन्द्रकै केन्द्रीय सदस्य दिलिप महर्जनलाई प्रदेश सभा (क) र बागमती प्रदेश सदस्य गणेश कुँवर प्रदेश सभा (ख) मा उम्मेदवार बनाएर घरदैलो गरिरहेकी विशंखेले केसीलाई चुनौती दिइरहेकी छिन् । ०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा विशंखे समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर प्रभावकारी भूमिका निर्वाह गरेको दाबी गर्दै आएकी छिन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा प्रशस्त योजनाहरु भित्र्याउन सफल भएको बताएकी छिन् । 

क्षेत्र नम्बर १० मा केसी र विशंखेसहित १८ उम्मेदवार मैदानमा छन् । जसमा तीन जना स्वतन्त्र उम्मेदवार छन् । मैदानमा रहेका उम्मेदवारहरुले आफ्नो बाहेक मुख्य दलकै मत तान्ने भएकाले मुख्य प्रतिस्पर्धी उम्मेदवारहरुका लागि असहज हुन सक्छ । 

एमालेका उम्मेदवार हिमेश केसीले राजन युवाहरुका लागि बाधक भएको भनेर प्रचार गर्नुमात्र होइन विकासे काममा अवरोध पुर्याइरहेको बताइरहेका छन् । 

उनले क्षेत्र नम्बर १० पछि पर्नुको मुख्य कारक राजन केसी भएकाले अब युवाले नेतृत्व लिनुपर्ने भनेर चुनावी अभियानलाई चर्काएका छन् । 

माहोल बदल्दै केसी
आरोप–प्रत्यारोप जे सुकै भए पनि कांग्रेसका राजन केसी नै काठमाडौं १० का बलिया उम्मेदवार हुन् । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणामलाई नै हेर्ने हो भने कांग्रेसको मत अग्रथानमा देखिन्छ । दक्षिणकाली,  कीर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिकाका वडा नम्बर २ देखि ११ सम्म यो निर्वाचन क्षेत्रमा पर्छ । यी तीनवटै नगरपालिकाको नेतृत्व कांग्रेसले लिएको छ । अधिकांश वडाको नेतृत्व पनि कांग्रेसकै हातमा छ ।

वडाध्यक्षहरुले प्राप्त गरेको मत जोड्दा कांग्रेसको २४ हजार ६७५ मत छ । दोस्रो स्थानमा रहेको रहेको एमालेले १८ हजार ८३८ मत ल्याएको थियो । यस हिसाबले कांग्रेसको मत एमालेको भन्दा ७ हजार १६१ मतले बढी देखिन्छ । सत्तारुढ गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी) को १ हजार ३४२ मत छ । यसो हुँदा गठबन्धनका संयुक्त उम्मेदवार ८ हजार बढी मतले अगाडि देखिन्छन् । 

आफ्नो क्षेत्रमा केही नगरेको आरोप खेपिरहेका केसी भन्छन्, ‘मतका हिसाबले हामी बलियो छौं । त्यो भन्दा पनि मैले असंख्य कामहरु यस क्षेत्रका लागि गरेको छु । 

काठमाडौं–दक्षिणकाली सडक अहिलेको अवस्थामा पुग्नु, ग्रामीण र कृषि सडकहरु विस्तार भर कषि उत्पादन बढ्नु, पर्यटनका पूर्वाधारहरुको विकास हुँदै जानुमा मेरो प्रमुख भूमिका छ, ‘उनले अगाडि भने, ‘हाल मैदानमा रहनुभएका उम्मेदवारहरु भन्दा सबैभन्दा धेरै पटक जनताको घरदैलोमा पुग्ने म नै हुँ । हरेक मतदाताको दुःख–सुखमा साथ दिनु मात्र होइन जनताका सामान्य भन्दा सामान्य कामहरुमा पनि मैले सयौं पटक साथ दिएको छु । यो मतदाताले मजाले अनुभुत गर्नुभएको छ ।’

एजेन्डा विकासमुखी
हुनत मैदानमा रहेका सबै उम्मेदवारहरुले विकासमुखी मुद्दाहरुलाई अघि सारेका छन् । तर चोभारबासी कांग्रेसका उम्मेदवार केसीले भने १० वर्षमा अधुरा रहेको योजनाहरुलाई पूर्ति गर्न र अन्य रोजगारमुखी योजनाहरु अघि सारेको दाबी गरिरहेका छन् । 

अर्थशास्त्रमा स्नातकोत्तर गरेका उनले विकासका साथै राजनीतिक स्थायित्वका लागि आफ्नो उम्मेदवारी रहेको बताए । आफ्नो निर्वाचन क्षेत्रमा दुई वटा केवलकारको योजना पनि पाँच वर्षभित्रमा पूरा गर्ने बताए ।

‘ग्रामीण स्तरमा रहेका कृषि सडकहरुलाई पूरा गर्ने, कीर्तिपुर र दक्षिणकालीको पर्यटन र कीर्तिपुर तथा चन्द्रागिरीको उद्योग क्षेत्रलाई अघि बढाउँदै युवाहरुलाई रोजगारी दिने किसिमका महत्वपूर्ण योजनाहरु अघि सारेको छु, उनले भने,‘विकास सँगसँगै हाम्रो संविधान जोगाउन र लोकतन्त्रको रक्षा गर्न पनि मेरो उम्मेदवारी अपरिहार्य भएको हो ।’ केसीले प्रत्यक्षतर्फ आफ्नो यो उम्मेदवारी अन्तिम हुने र अब नयाँ पुस्तालाई प्रवद्र्धन गर्ने प्रतिबद्धता पनि जनाए । 

२०४६ सालको आन्दोलनसँगै पूर्णकालीन राजनीतिमा प्रवेश गरेका केसी २०४७ सालमा नेपाली कांग्रेस चोभार गाविसको इकाइ सभापति भएका थिए । २०४९ को स्थानीय निर्वाचनमा चोभार गाविस वडा नम्बर २ को वडाध्यक्ष हुँदै २०५४ सालमा कांग्रेसको क्षेत्रीय समिति सभापति भएका केसी अनुभवी राजनीतिज्ञका रुपमा चिनिन्छन् ।

उनीसँग प्रतिस्पर्धा गरिरहेका विशंखे र एमालेका केसी प्रत्यक्ष निर्वाचनमा विल्कुल नयाँ अनुहार हुन । नयाँ र खारिएको पुरानो अनुहार बीचको प्रतिस्पर्धालाई निकै महत्वका साथ हेरिएको छ । 

पूर्वमन्त्रीसमेत रहेका केसीलाई प्रदेश सभा (क) मा कांग्रेसका पुकार महर्जन र प्रदेश सभा (ख) मा नेकपा एकीकृत समाजवादीकी रमा आलेले साथ दिएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ