arrow

मुस्किलमा गोकुल बाँस्कोटा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १४ सोमबार
Gokul-baskota-1.jpg

काभ्रेपलाञ्चोक । सञ्चारमन्त्री हुँदा पटक पटक विवादमा परेका गोकुलप्रसाद बाँस्कोटा अहिले प्रतिनिधि सभा निर्वाचनमा काभ्रेपलाञ्चोक क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका उम्मेदवारसँग प्रतिस्पर्धा गरिरहेका छन् । 

२०७४ सालको आम निर्वाचनमा अध्यक्ष केपी शर्मा ओलीपछि दोस्रो बढी लोकप्रिय मत ल्याएर काभ्रे क्षेत्र नम्बर–२ बाट निर्वाचित बनेका बाँस्कोटा फेरि त्यही जित हात पार्ने कोसिसमा छन् । 

झण्डै तीन वर्षसम्म सञ्चारमन्त्रीको हैसियतमा सरकारको प्रवक्ता रहँदा निकै विवादमा मुछिएपछि उनी राजीनामा दिएर बाहिरिएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र रहेका बाँस्कोटाको रुखो शैलीले धेरैलाई चिढ्याएको थियो । 

उनको यो शैलीले पार्टीभित्र र बाहिर आलोचना हुने गरेको थियो । मन्त्री पदमै रहँदा उनी सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सार्वजनिक भएको अडियोपछि उनले त्यही विवादमा ओली सरकारलाई जोगाउन मन्त्री पदबाट राजीनामा दिए । 

अडियो हाम्राकुराले नै सार्वजनिक गरेको थियो । यो प्रकरणले उनलाई सधै प्रतिरक्षामा बस्न बाध्य बनाएको छ । यसैकारण गोकुलको लोकप्रियतामा कमी आएको छ । उनीमाथि प्रेस खरिदमा ७० करोड कमिशन लिने तयारी गरेको आरोप छ । 

अहिले यही ७० करोडको आरोप खेप्दै आएका बाँस्कोटा फेरि जनताबीचमा गएका छन् । मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा काभ्रे–२ बाट उम्मेदवार बनेका बाँस्कोटालाई पुरानै नतिजा प्राप्त गर्न ठूलो चुनौती खडा भएको छ ।

अघिल्लो निर्वाचनमा माओवादीसहितको गठबन्धन थियो, एमाले एक  थियो । तर अहिले परिस्थिति फेरिएको छ । यसअघिको दल माओवादी केन्द्रले अहिले नेपाली कांग्रेससँग गठबन्धन गरेको छ भने एमाले विभाजित अवस्थामा छ । 

पार्टी विभाजनको असर तुलनात्मक रुपमा अन्त भन्दा बढी काभ्रे जिल्लामा बढी परेका कारण पनि उनी अप्ठेरोमा छन् । बास्कोटाको प्रतिस्पर्धा ०५६ साल र ०७० सालमा जित निकाल्न सफल कांग्रेसका शिव हुमागाईंसँग हुँदैछ । 

मन्त्री हुँदा गरेको विकासको काम, केन्द्रसम्म पहुँच भएको र जनतासँग भिजेको हिसाबले पनि यो पटक गठबन्धनलाई हराउन सक्ने नेता गोकुल बाँस्कोटा भएको भन्दै उनलाई पार्टीले अघि सारेको बताइएको छ । 

बाँस्कोटाले मन्त्री हुँदा के मात्रै गरेनन्, उनले विपक्षलाई पेल्नेदेखि कर्मचारीहरुको सरुवा र खरिद प्रकरणमा समेत भद्रगोल बनाएका थिए । नाफा कमाइरहेको एक मात्र सरकारी संस्थान नेपाल टेलिकमकी पहिलो महिला प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई उनी आउने बित्तिकै हटाएका थिए । 

बाँस्कोटाको हस्तक्षेप बढ्दै गएपछि निरन्तर नाफामा रहेको टेलिकमको मुनाफा  १७ अर्बबाट साढे १० अर्ब रुपैयाँमा झरेको थियो । बाँस्कोटाले आफ्नो कार्यकालमा गरेका यस्ता दर्जनभन्दा बढी निर्णय विवादित बनेसँगै उनको चुनाव जित्ने आधार पनि कमजोर बन्दैछ ।

१९ अर्बको फोरजी विस्तारसहित अन्य महत्वपूर्ण परियोजना कार्यान्वयनको चरणमै रहेका बेला नेतृत्व फेर्ने चलखेलका कारण अलपत्र परेको थियो । एमाले सरकारले  इन्टरनेटमा १३ प्रतिशत सेवा शुल्क लगाउने निर्णय गरेको थियो । 

तत्कालीन सञ्चारमन्त्री बाँस्कोटाले इन्टरनेटका गार्हस्थ्य प्रयोगकर्तालाई पैसा नबढाउने सर्तमा सेवा प्रदायकसँग कानूनले दिएको सीमाबाहिर गएर सहमति गरेर उपभोक्तालाई आर्थिक भार पारिदिए ।  

सोही सहमतिअनुसार उनले सेवा प्रदायकका लागि दूरसञ्चार नियमावली परिवर्तन गरिदिए । दूरसञ्चार नियमावलीमा इन्टरनेट सेवा प्रदायकले मर्मत शुल्कका नाममा रकम लिन नपाउने व्यवस्था गरेकामा उनले सेवा प्रदायकसँग सहमति गरी इन्टरनेट शुल्कको आधा मर्मत शुल्कका रूपमा लिन पाउने व्यवस्था गरिदिए, जसका कारण दीर्घकालीन रूपमा उपभोक्तालाई आर्थिक भार पर्यो । 

त्यस्तै सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जालमा लेखेकै आधारमा पाँच वर्षसम्म कैद र १५ लाख जरिवाना, सामाजिक सञ्जालमा लेखिएको सामग्री सरकारी कर्मचारीले हटाउन निर्देशन दिन सक्ने, सरकारले चाहेका बेला सामाजिक सञ्जाल बन्द गर्नेजस्ता आपत्तिजनक प्रावधान राखेर झन् विवादमा तानिएका थिए । 

नेपाल पत्रकार महासंघ लगायतका सरोकारवाला निकायले चर्को आलोचना गरेका कारण संशोधन भएको थियो । समाचार लेखेकै आधारमा लाखौं रकम जरिवाना तिर्नुपर्ने गरी उनकै पालामा मिडिया काउन्सिल विधेयक संसदमा दर्ता भएको थियो । 

बाँस्कोटाको कार्यकालमा भएको फ्रिक्वेन्सी लिलामी प्रक्रिया पनि विवादित बनेको थियो । यस्ता दर्जनौं विवादित निर्णय गरेर सरकारबाट बाहिरिएका बाँस्कोटालाई विगतको काम नै यसपटकको निर्वाचन भारी हुने भएको हो । 

चुनावी दौडको क्रममा बाँस्कोटा मन्त्री हुँदा विशेष गरी खानेपानीको समस्या समाधानका लागि धेरै काम गरेको दाबी गर्दै मत मागिरहेका छन् । ओली सरकारको पालामा काभ्रेमा धेरै बजेट पारेका दाबी गर्दैै आए पनि उनले गरेका दर्जनौं राष्ट्रहित प्रतिकुलका कामले नै चुनाव जित्ने आधार गुमाउँदै आएका छन् । 

काभ्रे–२ को बनेपा, पनौती, धुलिखेल र पाँचखालमा खानेपानीका ठूला आयोजना, सूर्यविनायक धुलिखेल राजमार्ग विस्तार, ग्वार्को–कुशादेवी–पनौती सडकलाई राजमार्गको रूपमा विकास जस्ता कामले आफू चुनाव जित्ने बताउँदै आएका बाँस्कोटा लागि यसपटकको निर्वाचन फलामकै च्यूरा भएको छ । 

काभ्रे–२ मा २०६४ को संविधानसभा निर्वाचनमा उक्त क्षेत्रबाट कृष्णप्रसाद सापकोटा र २०७० मा अहिलेको क्षेत्र नम्बर २ कै एक हिस्सा रहेको क्षेत्र नम्बर ४ बाट विदुर सापकोटाले चुनाव जितेका थिए । 

एमालेबाट चुनाव जितेका सापकोटाद्वय अहिले अहिले बाँस्कोटाका साथमा छैनन् । एमालेका प्रभावशाली नेता रूपमा लिने उनीहरू दुवैजना नेतासँग क्षेत्र नम्बर २ को क र ख का दुवै सांसदद्वय बसुन्धरा हुमागाईं र लक्ष्मण लम्साल लगायतका अधिकांश नेता एकीकृत समाजवादीमा छन् । यी नेताहरूको उपस्थिति नै बाँस्कोटालाई ठूलो चुनौती छन् । 

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गरेर गोकुल विजयी भएका थिए । 

गोकुलले ५४ हजार ४ सय २७ मत पाउँदा प्रतिद्वन्द्वी कांग्रेसका मधु आचार्यले ३६ हजार ५ सय ७९ मत प्राप्त गरेका थिए । 

दुई उम्मेदवारबीचको मतान्तर १७ हजार ८ सय ४८ थियो । बैशाख ३० गते सम्पन्न स्थानीय तहको मतमा पनि एमाले अगाडि छ । एमालेको ४५ हजार ५ सय १४ मत छ भने कांग्रेसको ४५ हजार ४ सय ५६ मत छ । 

काभ्रे–२ मा १ लाख ५७ हजार ४ सय ४२ मतदाता छन । कांग्रेसको मतमा माओवादीको मत थपिदा बाँस्कोटालाई अप्ठेरो परेको छ ।

सम्बन्धित आर्काइभ समाचार-

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ