arrow

मनबहादुर भन्दा किशोरदत्त अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १५ मंगलबार
Kishordatta-manbahadur.jpg

पोखरा । कास्की निर्वाचन क्षेत्र नं. १ मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका किशोरदत्त बराल सक्रिय भएर निर्वाचन प्रचारप्रसारमा लागेका छन् । बराल कांग्रेसका जिल्ला सभापतिसमेत हुन् । उनको मुख्य प्रतिस्पर्धा नेकपा एमालेसँग हुँदैछ । यो क्षेत्रमा एमालेले जिल्ला अध्यक्षसमेत रहेका मनबहादुर गुरुङलाई उम्मेदवार बनाएको छ । 

गुरुङ निवर्तमान गण्डकी प्रदेशसभा सदस्य पनि हुन् । प्रमुख दुई पार्टी प्रमुखको भिडन्तले यो क्षेत्रको निर्वाचन निकै रोचक हुने आँकलन गरिएको छ । 

बराल र गुरुङको प्रतिस्पर्धामा अन्य १२ जना उम्मेदवार छन् । विसं २०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा यो क्षेत्रबाट एमालेका खगराज अधिकारी विजयी भएका थिए । तत्कालीन समयमा अधिकारीले ३९ हजार २४२ मत ल्याएर कांग्रेसका यज्ञबहादुर थापालाई पराजित गरेका थिए । कांग्रेसका थापाले २५ हजार ८२६ मत ल्याउँदा १३ हजार ४१६ मतले हार ब्यहोरेका थिए ।

थापालाई हराएका अधिकारी अहिले प्रदेश सभा सदस्यमा ओर्लिएका छन् । अघिल्लो निर्वाचनमा जितेकाले एमालेलाई आफ्नो विरासत जोगाउन चुनौती छ । तर एमालेसंग अघिल्लो चुनावको साझेदारी अहिले कायम छैन । 

अघिल्लो निर्वाचनको समीकरण बदलिएर बनेको कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धन उक्त विरासत भत्काउने लक्ष्यका साथ चुनावी गतिविधिलाई सक्रिय बनाएको छ । यसपटक जित्ने गरी तयारीमा जुटेको गठबन्धनबाट कांग्रेसका उम्मेदवार बराल बताउँछन् ।

स्थानीय तहको परिणाम र गठबन्धनमा रहेका दलको साथका कारण कास्की-१ मा आफूले जित्नेमा उनी ढुक्क छन् । आफू जनताको सेवाबाट कहिल्यै टाढा नजाने उनको प्रतिवद्धता छ । 

उम्मेदवार बराल भन्छन्, ‘कृषि पर्यटनमा क्रान्तिका माध्यमबाट देशको समृद्धि र शान्तिको बाटो अँगाल्न सकिन्छ । ज्ञान, उद्यमशील र सीपको शिक्षासहित विद्यालय सुधार गर्ने मेरो योजना छ ।’

उनले समृद्धिको निकासका लागि गुणस्तरीय र योजनाबद्ध विकास आवश्यक रहेको स्पष्ट पारे । राजनीतिक शुद्धतासँगै संसद्को गरिमा र सांसदको मर्यादा कायम गराउने कुरा पनि आफ्नो ध्यान केन्द्रित हुने बताए । 

कास्की क्षेत्र नं. १ का हरेक सम्भावनालाई उजागर गर्दै उनले समृद्धि र विकासका साथै जनताका हरेक समस्या र आवश्यकतालाई सम्बोधन गर्ने कुरालाई प्राथमिकताका साथ अघि बढ्ने स्पष्ट पारे । 

यता, एमाले उम्मेदवार गुरुङ गरिबी अन्त्यका लागि आफ्नो उम्मेदवारी भएको बताउँछन् । कास्की क्षेत्र नं १ प्राकृतिकरुपमा सम्पन्न रहेको भन्दै उनले यसको संरक्षण र उपयोगमा जोड दिने बताए । गाउँ र शहरबीचको दूरी कम गर्नुका साथै शिक्षा, स्वास्थ्यलगायतका क्षेत्र आफ्नो प्राथमिकतामा रहने उनको भनाइ छ ।

जनताको सुख, दुःखमा साथमा रहेकाले आफ्नो विजयी सुनिश्चित रहेको एमालेका उम्मेदवार गुरुङले बताए । “कास्कीमा मेरो सङ्गठन बलियो पनि छ । मेरो क्षेत्रको जनताले मलाई चिनिसकेको छ”, उनले भने, “मेरो काम र क्रियाशीलताले मैले जित्छु भन्नेमा ढुक्क छु ।”

यस निर्वाचन क्षेत्रमा मादी  र रुपा गाउँपालिकासहित पोखरा महानगरपालिकाका १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ गरी ११ वटा वडा पर्दछन् । यीमध्ये वैशाखमा भएको स्थानीय तह निर्वाचनमा मादी गाउँपालिका कांग्रेस र रुपा गाउँपालिका एमालेले जितेको हो भने पोखरा महानगरको ११ वटा वडामध्ये एउटा वडा एमालेले १० वटा वडा कांग्रेसले वडाध्यक्ष जितेको थियो । 

क्षेत्र नं १ मा स्थानीय तहमा वडाध्यक्षका उम्मेदवारको दलगत मतले कांग्रेस ठूलो दल देखिन्छ । गठबन्धनमा रहेका कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्रसमेतको मत जोड्दा कांग्रेसलाई सहज देखिन्छ । 

स्थानीय निर्वाचनमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारले कुल ३३ हजार ८३७ मत प्राप्त गर्दा यस क्षेत्रमा एमालेका वडाध्यक्षले ३० हजार १९६ मत ल्याएको हो । यसबाहेक माओवादी केन्द्रका वडाध्यक्षले तीन हजार २७८ पाएका थिए ।

सो क्षेत्रमा कुल एक लाख १० हजार ७१५ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । यस क्षेत्रमा प्रदेशसभा (क) मा ५८ हजार ४४५ र प्रदेशसभा (ख) मा ५२ हजार २७० मतदाता छन् । न्यौपानेअनुसार यस क्षेत्रको प्रदेशसभा सदस्यका लागि प्रदेशसभा (क) मा आठ र (ख) मा सात जना चुनावी प्रतिस्पर्धामा छन् ।

पछिल्ला निर्वाचन हेर्दा यो क्षेत्र परिणाम बदलिरहने क्षेत्र हो । राजनीतिक नेतृत्वका हिसाबले यहाँबाट निर्वाचित उम्मेदवारले देशको राष्ट्रिय राजनीतिमा राम्रै प्रभाव पार्ने देखिन्छ । यसै क्षेत्रबाट निर्वाचित भएर तारानाथ रानाभाटले सभामुख, यज्ञबहादुर थापा, खगराज अधिकारीले मन्त्री पदको जिम्मेवारी सम्हालिसकेका छन् ।

विसं २०६४ यताका निर्वाचनलाई हेर्दा पनि एकपछि अर्को निर्वाचनमा यहाँको परिणाम कुनै दलका पक्षमा स्थायी देखिएको छैन । विसं २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा यस क्षेत्रबाट नेकपा माओवादी केन्द्र (तत्कालीन नेकपा माओवादी) का देव गुरुङ विजयी बनेका थिए ।

दुई ठाउँबाट विजयी गुरुङले पछि मनाङ रोज्दा २०६५ सालमा उपनिर्वाचन भएको यस क्षेत्रमा उपनिर्वाचनमा पनि माओवादीकै कृष्णबहादुर गुरुङ निर्वाचित बनेका थिए । विसं २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा यस क्षेत्रमा कांग्रेसका यज्ञबहादुर थापा विजयी बने । विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा एमाले र माओवादी गठबन्धनका खगराज अधिकारी विजयी बनेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ