arrow

गठबन्धनमा आन्तरिक तुसबीच बलबहादुरको जित सहज

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १५ मंगलबार
Bal-bahadur-KC.jpg
तस्बिर – फाइल ।

सोलुखुम्बु । पाँचौ पटक संसद छिर्ने तयारीमा रहेका नेपाली कांग्रेसका प्रभावशाली नेता बलबहादुर केसीलाई विपक्ष कमजोर बन्दा पनि आफूले सहज ठानिरहेका छैनन् । 

आगामी निर्वाचनमा सोलुखुम्बुबाट केसीको जितको सम्भावना बलियो देखिए पनि माओवादी केन्द्रका मतबाट धोका हुने हो कि भन्ने आशंकाले उनले सहज नठानेका हुन् । 

गत निर्वाचनमा हराएको दलले नै उनलाई समर्थन गर्दा उनको जितको सम्भावना बलियो देखिएको छ । तर आन्तरिक द्वन्द्वको असर पर्ने सम्भावना रहेको छ । माओवादीका हेमकुमार राईलाई अन्तिम समयमा पछि पार्दै केसीले सोलुखुम्बुमा सातौं पटक टिकट पाएका थिए । यसैको चिन्तामा केसी छन् । 

२०४८ सालपछि केसी निरन्तर सोलुखुम्बुमा उम्मेदवार बन्दै आएका छन् । कांग्रेस केन्द्रीय सदस्य केसी उठेका छ मध्ये चार वटा निर्वाचनमा विजयी भएका छन् । 

२०६४ र २०७४ सालको निर्वाचनमा भने उनी पराजित भए । उनलाई दुवै पटक माओवादीका उम्मेदवारले पराजित गरेका थिए । तर अघिल्लो पटक हराउने माओवादीको समेत यसपटक उनलाई साथ छ । 

२०७४ मा माओवादीका हेमकुमार राई निर्वाचित भएका थिए । त्यतिबेला एमाले–माओवादी वाम गठबन्धनसँग कांग्रेस नेता केसी ३ हजार मतले पराजित भएका थिए । 

त्यतिबेला हेमकुमारले २० हजार ९१२ मत ल्याएर विजयी हुँदा केसीले १७ हजार ७४५ मत पाएका थिए । 

दुई ठूला दलको गठबन्धन हुँदा पनि झिनो मतले पराजित केसी ३१ वर्षदेखिको आफ्नो प्रभाव जिल्लामा कायम राख्ने पक्षमा छन् । 

२०४८, २०५१, २०५६ र २०७० मा भएका निर्वाचनमा केसी विजयी भएका थिए । तर २०६४ सालको निर्वाचनमा उनी तत्कालीन माओवादीका गोपाल किराँतीसँग पराजित भए । 

किराँतीले १९ हजार ९५ मत ल्याउँदा केसीले ९ हजार ४३४ मत पाएका थिए । एमालेका बुद्धिकुमार राजभण्डारीले ६ हजार ७९८ मत पाएका थिए । 

तर त्यसको ६ वर्षपछि भने केसी पुनः संसदमा फर्किए । २०७० सालको निर्वाचनमा उनले १२ हजार ४६४ मत पाएर विजयी भएका थिए ।

त्यतिबेला एमालेले दोश्रो मत पाएको थियो । एमालेका आङ ङिमा लामा शर्पाले १० हजार १०४ मत ल्याएका थिए । माओवादीका गोम्बु शेर्पाले ६ हजार २६९ मत पाएका थिए । 

त्यसपछि पुनः ५ वर्ष संसद बाहिर भएका केसीलाई अहिले अघिल्लो निर्वाचनमा विजयी माओवादीकै सहयोगले संसद फर्किने बाटो खुलेको छ । तर त्यहाँभित्रको आन्तरिक विवादले समस्या उत्पन्न गराउन सक्ने भन्दै सोलुका कांग्रेसी नेताहरु चिन्तित छन् । तर माओवादी नेतृत्व तहबाट नै निर्देशन गइसकेपछि समस्याको जड समाधान उन्मुख भएको दाबीसमेत गरिएको छ । 


सोलुखुम्बुमा एमाले अहिलेसम्म संघमा निर्वाचित हुन सकेको छैन । एमालेका लागि सधैँ केसी नै तगारो बन्दै आएका छन् । 

शुरुका तीन निर्वाचन जित्दै केसीले ह्याट्रिक गर्दा २०६४ मा माओवादी बाधक बन्यो । २०७० मा केसीले नै एमालेलाईं रोके ।  

२०७४ मा माओवादीसँगै गठबन्धन गरेर प्रदेश संसदमा एमालेका बुद्धिकुमार राजभण्डारी विजयी हुँदा अर्को प्रदेशमा एमालेकै उत्तमकुमार बस्नेत र संघमा माओवादीले बाजी मारेको थियो । 

यसपटक एक्लै चुनावमा होमिएको एमाले जिल्लामा पहिलो जितको खोजीमा रहे पनि उम्मेदवार चयनले एमालेलाई घाटा पुर्याएको छ । 

एमालेबाट केन्द्रीय सदस्य मानवीर राई संघको उम्मेदवार बनेका छन् । एमालेभित्र कुनै पनि योजना र क्षमता नभई क्रियाशीलताले मात्रै केन्द्रीय सदस्य बनेका राईले स्वतन्त्र र बौद्धिक तहको मत ल्याउन सक्ने अवस्था छैन । 

सोलुखुम्बुमा आठ वटा स्थानीय तह छन् । जसमध्ये गत बैशाखको स्थानीय तहको निर्वाचनमा एमालेले खुम्बू पासाङ ल्हमु र माप्य दुधकोसी गाउँपालिकामा मात्र जित हासिल गरेको छ । 

दुधकुण्ड नगरपालिका, लिखुपिके, नेचा सल्यान, सोताङ, महाकुलुङ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । थुलुङ दूधकोशी गाउँपालिका माओवादी केन्द्रले जितेको छ ।  

खुम्बू पासाङ ल्हामु गाउँपालिकामा नेकपा (एमाले) दुई हजार २८ मत ल्याएर विजयी भएको थियो भने कांग्रेसले एक हजार ६ सय ९ मत प्राप्त गरेको थियो । त्यहाँ माओवादीलाई ९९ मत खसेको थियो । 

स्थानीय निर्वाचनमा माप्य दूधकोसी गाउँपालिकामा कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए । तर पनि एमालेले तीन हजार तीन सय ४३ मत ल्याएर निर्वाचन परिणाम ल्याएको थियो । 

कांग्रेस–माओवादीको मत दुई हजार ९८७ छ । अर्का दुई उम्मेदवारले त्यहाँ १८ मत प्राप्त गरेका थिए ।

लिखुपिके गाउँपालिकामा कांग्रेसले एक हजार दुई सय ६० मत पाएर विजयी भएको छ । माओवादी उम्मेदवारले ११ सय १३ र नेकपा (एमाले) ले  ६८० मत ल्याएका थिए । 

दूधकुण्ड नगरपालिकामा कांग्रेस चार हजार ९६८, एमालेको चार हजार ३९०, माओवादी केन्द्रको १ हजार १९७ र जसपाको ९२ मत छ । 

नेचा सल्यान गाउँपालिकामा कांग्रेस दुई हजार ५६९, एमाले दुई हजार ३१३, माओवादी केन्द्रको १ हजार ११९ मत छ । त्यहाँ अरु दलले ७२ मत पाएका थिए । थुलुङ दूधकोशी गाउँपालिकामा माओवादीले चार हजार ४९, कांग्रेसले तीन हजार ५११ र नेकपा एमालेले १६ सय एक मत प्राप्त गरेको थियो ।

सोताङ गाउँपालिकामा कांग्रेसले एक हजार ६४८ मत ल्याएका थिए भने त्यहाँ एमाले एक हजार ५२० मत पाएर दोस्रो भएको थियो । 

माओवादी केन्द्रले एक हजार ३५३ मत पाएको थियो । महाकुलुङ गाउँपालिकामा कांग्रेसले २१ सय मत ल्याएको थियो । त्यहाँ १ हजार ६२६ मत ल्याएर माओवादी केन्द्र दोस्रो र १ हजार ४५३ मत प्राप्त गरी एमाले तेस्रो भएको थियो । 

स्थानीय तहमा अध्यक्ष पदमा प्राप्त मत अनुसार कांग्रेसको २० हजार ६५२, एमाले १७ हजार ४०१ र माओवादी केन्द्रले १० हजार पाँच सय ५६ मत छ । 

स्थानीय तहमा प्राप्त परिणामअनुसार सोलुमा कांग्रेस–माओवादीको मत ३१ हजार २०८ र एमालेको १७ हजार ४०१ मत छ । जसले गर्दा केसीलाई जित हासिल गर्न सहज देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ