arrow

केपी ओलीको स्वेच्छाचारीविरुद्ध धरानमा एमाले नेताहरुको विद्रोह, जसपा जिल्ल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १८ शुक्रबार
uml-jasapa.jpg

काठमाडौं । धरान नेकपा एमालेका लागि उर्वर भूमि हो । अन्य दलले जतिसुकै प्रयत्न गरे पनि त्यहाँ एमालेको किल्ला भत्किन कठिन हुन्थ्यो । निकै मेहनत गर्नुपर्दथ्यो । 

०७४ को प्रतिनिधि सभामा निर्वाचनमा सुनसरीको ४ क्षेत्रमध्ये सुनसरी एकमा मात्र एमालेले जितेको थियो । धरानसहितको इलाका पर्ने यो क्षेत्रमा सुनसरीको अन्य क्षेत्रभन्दा एमालेको तुलनात्मक उपस्थिति राम्रो छ । यसपालि एमालेले जनता समाजवादी पार्टी जसपासँग गरेको तालमेलमा सुनसरी १ जसपाको भागमा पर्यो । एमालेबाट टिकटका लागि सर्वसम्मत उम्मेदवारको रुपमा जयकुमार राई सिफारिस भएका थिए । 

तालमेलमा जसपाको भागमा परेपछि यो क्षेत्रमा अशोक राई प्रतिनिधि सभाका उम्मेदवार छन् । ‘एमालेले लौरो उठाए पनि जित्ने स्थानमा नेताको स्वार्थका लागि अशोक राईलाई सहयोग गर्नुपर्ने अवस्था आएपछि साथीहरुले पार्टी परित्याग गरेर बागी उम्मेदवारी दिएको अवस्था छ’, एमालेका एक नेताले भने । 

ती नेताका अनुसार एमालेको घर बिगारेर जसपा पुगेका राईलाई एमालेका कार्यकर्ताहरुले मत हालेर जिताउने सम्भावना निकै कमजोर रहेको छ । 
अशोक राईलाई सघाउनुपर्ने भएपछि धरानका एमाले नेता मनोज मेन्याङ्बोले पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

२०५४ सालमा एमालेबाट धरान नगरपालिकाको मेयरसमेत बनेका मेन्याङ्बोले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आफ्ना चुनावी एजेन्डासमेत सार्वजनिक गरेका छन् । 

मेन्याङ्बो गाउँघरका साना समस्यादेखि राष्ट्रियस्तरका एजेन्डा लिएर निर्वाचनमा होमिएका छन् । लामो समय आन्दोलन भएर त्यतिकै सेलाएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारदेखि रोजगारी दिलाउने चुनावी वाचासहितको प्रतिबद्धतापत्र उनले सार्वजनिक गरेका छन् ।

पर्यटकीय गन्तव्य रहेको क्षेत्र नम्बर १ मा आन्तरिक तथा बाह्रय पर्यटकलाई आकर्षण गर्न पिण्डेश्वर, बुढासुब्बा, दन्तकालीदेखि वराहक्षेत्रलाई अझ व्यवस्थित पार्दै लगिने, सुकुम्वासी समस्या समाधान गर्ने, सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई दिवा खाजाको रकम वृद्धि गर्ने उनको चुनावी बाचा छ ।
 
‘म साबिकमा रहेको नेकपा एमालेको तल्लो कमिटीले सुनसरी क्षेत्र नम्बर १ बाट जयकुमार राईलाई प्रतिनिधि सभाको लागि सिफारिस गरेको थियो । त्यो पनि सर्वसम्मत । तर एक्कासी तालमेलको नाममा अर्कै पार्टीको उम्मेदवारलाई सघाउनुपर्छ भन्ने माथिबाट निर्णय आयो । एकपटक पनि तल्लो तहका नेता कार्यकर्ताहरूसँग छलफल भएन । जनभावना बुझ्न पार्टीले चाहेन । हामी दास त हैन नि । केन्द्रका नेताले जे भन्यो त्यही हुन्छ ? त्यसै गर्दा धरानमा हामीले दुई पटक चुनाव हारी सक्यौँ । त्यसैले अब यसरी हुँदैन भन्ने लाग्यो । अनि पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएँ’, मेन्याङ्बोले भने । 

उता एमालेका कार्यकर्ताहरुले अशोक राईलाई भन्दा मेन्याङ्बोलाई सहयोग गर्न थालेका छन् । निर्वाचनमा हारेपछि एमालेका नेता कार्यकर्ताहरुले धरानमा निकै मेहनत गरेका थिए । तर पार्टीले घात गरेपछि उनीहरु एमाले नै छाड्न बाध्य भएका छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले जसपासँग सहकार्य गरेर मधेस प्रदेशमा धेरै सिट जित्ने प्रयास गरे पनि उनले सोचेजस्तो परिणाम नआउने मधेस विश्लेषकहरु बताउँछन् । 

एमाले अध्यक्षले धरान लगायतका धेरै स्थानमा जसपालाई सहयोग गर्ने वचन दिएका छन् । तर एमालेका नेता कार्यकर्ताहरुले आफूहरु ओलीको दास नभएकाले त्यसलाई अस्वीकार गर्दै स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने बताइसकेका छन् । 

अशोक राई भने एमाले नेता कार्यकर्तासँग मत मागिरहेका छन् । एमाले कार्यकर्ताहरुको बलमा निर्वाचन जित्ने प्रयासमा रहेका अशोकले आफूलाई पुरानै पार्टीले सहयोग गर्न खोज्दा मनमा आनन्द आएको भन्दै एमाले कार्यकर्ताहरुलाई फकाउन प्रयास गरेका छन् । 

उता मनोज मेन्याङ्बोले आफू बागी नभई पार्टीको स्वेच्छाचारी विरुद्ध उभिएको बताएका छन् । ‘म अहिले स्वतन्त्र उम्मेदवार हुँ । कसरी बागी भएँ र ? पहिले रहेको पार्टीमा म टिकटको आकाङ्क्षी नै थिइनँ । आकाङ्क्षी भएर विद्रोह गरेको भए पो बागी भन्ने हैन र ? त्यसैले मेरो उम्मेदवारी पार्टीहरूको स्वेच्छाचारिता विरुद्ध हो’, उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ