arrow

अपाङ्गता भएका ब्यक्तिलाई प्रचण्डले जस्तै निराश पार्छौ त गगन ?

logo
प्रिय गगन दाई,
प्रकाशित २०७३ भदौ २६ आइतबार
gagan-sign-padbhar.jpeg
तिमी मन्त्री नबन्दै तिमीसँग समाजले कार्यकारीले गर्ने कामको अपेक्षा गरेको थियो । कार्यकारी पदमा नपुग्दै समाजले कार्यकारीले गर्ने कामको अपेक्षा गर्दा कतिपय ठाँउमा तिमीलाई धेरै अफ्यारो परेको अनुमान धेरैले लगाउन सक्थे । तिम्रो बिचारसग मेल खाने तथा राजनीतिक यात्रामा सगै हिड्न खोज्नेहरुलाई दृढ बिश्वासका साथ भन्ने गर्यौ " कार्यकारी हुदाँ समाजले म माथि राखेको बिश्वास अनुसार काम गर्ने छु, मैले काम गर्न सकिन भने यो पुस्ता माथिको बिश्वासमा नै घात हुनेछ ।" यो कुरा सुन्नेहरु तिम्रो बिश्वाससामू नतमस्तक नै हुन्थे । र तिमीलाई लामो समय साथ दिने मन मनै धेरैले प्रण गर्थे ।
 
स्वास्थ्य क्षेत्रको कार्यकारी बन्दै गर्दा समाजले तिमीसग के अपेक्षा राखेको छ भन्ने कुरा पक्कै पनि तिमीले बुझिसकेको छौ भन्ने मेरो अनुमान छ । 'मनिङ सो द डे' भने  झै मन्त्री बनेको छोटो समयमा तिमीले चालेका पाइलाहरुले भने सर्वसाधारणमा आशाका किरणहरु अझ जगाएका छन् ।
 
तिमीलाई लेख्न लागेको पत्रमा समग्र स्वस्थ्य क्षेत्रमा के सुधार हुनु पर्छ भन्नेमा म केन्द्रित हुन चाहन्न ।  मन्त्रालयले १०० दिनमा के के गर्न सकिन्छ भन्ने योजना सायदै बनिसक्न लाग्यो होला । दिर्घकालीन योजना समेत बन्दै होला । यी योजना बन्दै रहदाँ अपाङ्गता भएर जीवन बिताइरहेका १० प्रतिशत भन्दा बढी ब्यक्तिहरुको स्वास्थ्यको लागि योजना बनाउदा नछुटोस भनेर तिमीलाई यो पत्र कोरिरहेको छु ।  अपाङ्गता भएका ब्यक्तिहरुको उपचारसग सम्बन्धित भएर केही सुझाव दिनको लागि मैले जाने अनुसार पत्र लेख्ने प्रयत्न गरेको छु । 
 
हुन त तिमीले साहसका साथ सनिबार भएको एक कार्यक्रममा "पैसाको अभावमा सर्वसाधारणले उपचार नपाएर मर्ने दिन अव गए" भनेर भनेको मिडियाले प्राथमिक्ताको साथ छापेका छन । यहि बाक्य भित्र नै अपाङ्गता भएका ब्यक्तिहरु पनि परिसके । तर पनि शारीरिक रुपमा बिशेष अवस्थामा रहेका तथा अपाङ्गता भएका कारण नै राज्यले र समाजले पछाडि पारिएका अपाङ्गता भएका ब्यक्तिको लागि अन्य कतिपय मूलुकहरुमा झै स्वस्थ्य उपचारमा बिशेष ब्यवस्था गर्न जरुरी ठानेर यो पत्र तिमीलाई लेख्दैछु ।
 
माओवादीले बिद्रोहमा उक्साएर हजारौको ज्यान गयो भने लाखौको संख्यामा घाइते बने । हो त्यही पार्टीका प्रमूख प्रचण्ड आज देशको प्रमुख कार्यकारी अर्थात प्रधानमन्त्री बनेका छन् । उनले सरकारको योजना तथा कामको प्राथमिकता संसदमा उच्च बडि ल्याङवेजका साथ प्रस्तुत त गरे । उनकै कारण हजारौ अपाङ्गता भएका ब्यक्तिहरुले ठुलै आश गरेर देशवासीको नामको सम्बोधन सुने, अपसोच उनले संसदलाई दिएको सम्बोधनमा अपाङ्गता भएका ब्यक्तिहरुको नाममा सातै प्रदेशमा अपाङ्गता पुनस्थापना कार्यक्रम अगाडि बढाइने मात्र उचारण गरेर निराश मात्र बनाएनन्, उनको संसदमा प्रस्तुत कार्यक्रमले यस क्षेत्रका ब्यक्तिहरु अपमान भएको महशुस गरिरहेका छन । 
 
गगन, तिमी पनि अपाङगता भएका ब्यक्तिको छत्रछाँयामा  हुर्किएको ब्यक्ति हो । मैले सम्झाउनु भन्दा पहिले नै यी कुरा घरमा नै काकाले सम्झाउनु भएको होला । सम्झाउनु भएको छैन् भने पनि उहाँसगको सामिप्यताले तिमीले बुझेको नै हुनुपर्छ । प्रचण्डले जस्तो अपाङ्गता भएका ब्यक्तिलाई तिमीले निराश बनाउने छैनौ भन्ने बिश्वासका साथ  यो पत्र कोरिरहेको छु । केही सुधार गर्नु पर्ने कुराहरु निम्न अनुसार देखेको छु ।
 
१०० दिन भित्रमा गर्नु पर्ने सुधारहरु निम्न देखेको छु  
 
(क) अहिले अपाङ्गता भएका ब्यक्तिको उपचारमा सरकारी अस्पतालहरुमा केही छुटको ब्यवस्था गरिएको छ, तर त्यो छुट लिन झन्झटिलो प्रकृया, तथा सरकारी अस्पतालले आत्मा सम्मानपूर्ण ब्यवहार नगर्दा छुटमा उपचार गर्न जाने अपाङ्गता भएका ब्यक्तिहरु अपमानित छन् । सरकारले गरेको ब्यवस्था प्रभावकारी बनाउन तिमीले अनुगमन तथा निर्देशनले संभव छ । यसलाई १०० दिन भित्रमा सहजै सुधार गर्न संभव छ । 
 
(ख) सबै अस्पतालहरुमा ह्वीलचियर मैंत्री वातावरण बनाउ । जसले गर्दा सबै अपाङ्गता भएका ब्यक्तिहरुलाई अस्पताल सहज बनोस् ।
 
(ग) सरकारले निशुल्क उपलब्ध गराउने औषधीहरु बितरण गर्दा प्राथमिक्तामा राखेर बाड्ने ब्यवस्था मिलाउ । साथै कतिपय अपाङ्गता भएका ब्यक्तिहरुले नियमित रुपमा खादै आएका ‌औषधीहरु निशुल्क दिने ब्यवस्था अघि बढाउ ।
दिर्घ कालिन रुपमा गर्नु पर्ने सुधारहरु
 
(क) अपाङ्गता एकिकृत अस्पतालको निर्माण 
केन्द्रमा सुबिधा सम्पन्न अस्पताल बनाउने पहल अगाडि बढाउ । अपाङ्गता भएका ब्यक्तिहरुले मात्र उपचार गर्न सक्ने गरी सो अस्पतालले काम गरोस । अपाङ्गता भएका ब्यक्तिले प्रयोग गर्ने साहयक सामाग्री ( ह्वीलचीयर, क्यालिफर, लढ्ढी…. ) त्यही बनोस । उसले चाहेका सबै किसिमको उपचार त्यही अस्पतालमा निशुल्क संभव होस । उनीहरुको पुनस्थापनाको लागि फिजियो, तथा ब्यवहारिक ज्ञान दिन सक्ने गरी अस्पताललाई एकिकृत ढंगले सोचेर निर्माणको प्रकृया अगाडि बढाउ । अहिले नेपालमा भएका कर्मचारी अस्पताल, नेपाल प्रहरी अस्पताल,  आर्मी अस्पताल भन्दा पनि यस अस्पतालमा उपचार, साहयक सामाग्री तथा पुनस्थापनाको लागि एकिकृत ढंगले सोचेर सबै यसै भित्र पर्ने गरी काम बढाउनु जरुरी देखेको छु । यस एकिकृत केन्द्रलाई भबिश्यमा सबै प्रान्तहरुमा पुर्याउने गरी तयारी थालियोस । यो भइदिएमा अहिले सरकारी अस्पतालमा उपलब्ध छुट लिन हिचकिचाउनु पर्ने अवस्थाको अन्त्य हुनेछ भने सबै किसिमका अपाङ्गता भएका ब्यक्तिहरुले ससम्मान ठुला रोगहरुको समेत उपचार गर्न पाउनेछन् । एकिकृत अस्पताल बनेमा अपाङ्गता भएका ब्यक्तिको उपचारमा दिर्घकालसम्म नै सकारात्मक प्रभाव पर्नेछ । 
 
१) अपाङ्गता भएका ब्यक्तिहरुलाई लक्षित गरी ठुलो रोग लागेमा उपचार गर्न कोष बनाउन पहल थाल । तर कोषलाई एकिकृत अस्पताल बने पछि निस्कृय बनाए हुन्छ ।
 
२) कुपोषण तथा गर्ववति आमाको उचित उपचार तथा स्याहार नहुदाँ गर्वमा नै अपाङ्ग हुने अवस्थाको अन्त्यको लागि उल्लेख्य काम गर्नेछौ भन्ने मेरो आशा रहेको छ ।
 
अरुले निर्माण गरेको बजेटबाट दिर्घकालिन रुपमा सोचिएका काम गर्न त्यति सहज भने हुने छैन् तर पनि तिमीले पुरक बजेट तथा दातृ निकायसगको सहकार्यमा समेत यी दिर्घकालिन योजना अघि बढाउन सक्नेछौ । यो क्षेत्रमा तिमीले गरेको योगदानले अपाङ्गता भएका ब्यक्तिहरुको स्वस्थ्य क्षेत्रका सहज हुने मात्र नभएर आर्थिक अभावले छटपटाई रहेका हजारौ अपाङ्गता भएका ब्यक्तिहरुलाई  सम्मान हुनेछ । भने स्वस्थ्य उपचार नपाएका, उचित आहार  नपाएका तथा आरामका नहुदाँ अपाङ्गता नै भएको शिशुको जन्म दिन बाध्य आमाहरुलाई तिम्रो कदमले पक्कै पनि खुसी हुनेछन् । र स्वस्थ्य शिशुको जन्म दिनेछन् । स्वस्थ्य मन्त्रालय बिगतमा हेर्दा अति नै बिचौलिया तथा आफ्नो स्वार्थ पूर्ति गर्न खोज्नेहरुले जसरी पनि मन्त्रीलाई प्रलोभनमा पार्दै आएका छन् । त्यसबाट तिमी पक्कै पनि माथि उठ्ने छौ र गरिब तथा अपाङ्गता भएका नेपालीहरुलाई तिमीले चालेका पाइलाले उपचारमा सहज बनाउने नै छ ।
 
गगन दाई,
 यी माथि उल्लेख गरिएका कुराहरु मैले अनुभव गरेका, मैले देखेका तथा बिभिन्न ब्यक्तिहरुसगको सम्पर्क हुर्दा निस्किएका कुरा हुन् । त्यसैले यी कुराहरुमा बिज्ञको समेत राय लिएर अझ नयाँ कुरा सहित तिमीलाई बिश्वास गर्ने तथा अपाङ्गता भएर समाजमा जीवन बिताइरहेका १० प्रतिशत भन्दा बढी ब्यक्तिहरुको पिडामा मलम लगाउने अवसरबाट तिमी कदापी चुक्ने छैनौ, भन्ने अपेक्षा समेत लिएको छु । 
 
तिम्रो शुभेक्छुक
माधव चम्लागाई
(लेखक चम्लागाई आफै पनि शारीरिक अपाङ्ग भएर पत्रकारितामा लामो समय देखि सकृय रहदै आएका छन् । हाम्राकुरा डटमा कार्यरत चम्लागाई नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य समेत हुन् । )



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ