arrow

लोकप्रियता रामकृष्ण चित्रकारको

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २५ शुक्रबार
ramkrishna-chitrakar-congress-2079.jpg

ललितपुर । मंसिर ४ गते हुने निर्वाचनले ललितपुरका बजारदेखि गाउँ, टोल र गल्लीमा चुनावी माहोल तातेको छ । राष्ट्रिय राजनीतिमा प्रभाव राख्दै आएका नेताहरु उम्मेदवार रहेको ललितपुरमा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा भइरहेको छ । अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरुले पनि चुनावी माहोल तताएका छन् । 

ललितपुर क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन प्रतिनिधि सभातर्फ उम्मेदवार छन् । कृष्णलाललाई नयाँ अनुहरका रुपमा आएका एमालेका प्रेम महर्जनले टक्कर दिइरहेका छन् । 

दुई पटक विजयी भइसकेका कृष्णलाल र नयाँ अनुहारका रुपमा आएका प्रेमबीचको भिडन्त रोचक हुने अनुमान गरिएको छ ।  क्षेत्र नम्बर २ का लागि २३ जनाको उम्मेदवारी परेको छ । विभिन्न दलबाट १४ र ९ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन । 

सबै उम्मेदवार घरदैलो तथा निर्वाचन प्रचारका कार्यक्रममा व्यस्त छन् । काँठ र शहरी भुभाग समेटिएको ललितपुर २ कला, संस्कृति र विकासका हिसाबले अग्रणी स्थानमा छ । 

ललितपुर क्षेत्र नम्बर २ (ख) मा बौद्धिक र सालिन नेताको पहिचना बनाएका कांग्रेसका रामकृष्ण चित्रकार मैदानमा छन् । त्यस्तै प्रदेश सभा (क) मा कृष्णलाल महर्जन उम्मेदवार छन् । 

चित्रकारको मुख्य प्रतिस्पर्धीका रुपमा एमालेका ज्ञानेन्द्र शाक्य मैदानमा छन् । तर संविधान सभा सदस्य भइसकेका समाजसेवी रामकृष्णले उक्त क्षेत्रमा राम्रो प्रभाव जमाएका छन् । 

ललितपुर २ मा महालक्ष्मी नगरपालिकाका वडा र ललितपुर महानगरपालिकाको आठवटा वडा समेटिएका छन् । प्रदेश सभा (ख) का लागि ११ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसमध्ये विभिन्न दलबाट आठ र तीन स्वतन्त्र उम्मेदवार छन् । यद्यपि उक्त क्षेत्रमा कांग्रेस र एमालेकै उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।  

२०७४ सालको निर्वाचनको परिणामलाई आधार मान्ने हो भने यो क्षेत्र एमालेको उपस्थिति राम्रो भए पनि यसपालि सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नै मैदानमा रहेकाले प्रदेश ख का चित्रकारलाई सहज देखिएको छ । तर एमालेका शाक्यले पनि प्रभाव विस्तार गर्दै लगेका छन् ।

‘म गुठी विधेयकको सशक्त विरोधी हो । विधेयक खारेजी आवाज उठाउने व्यक्ति हुँ । एमाले उम्मेदवार विजयी भए भने फेरि गुठीलाई समाप्त पार्ने विधेयक ल्याउँछ भन्नेमा मेरो प्रदेशका नागरिक सचेत छन् । कांग्रेसले गुठीको संरक्षण गर्छ । कला, संस्कृति र सम्पदाको संम्बद्र्धन गर्ने भएकाले मतदाता म प्रति सकारात्मक हुनुहुन्छ’, चित्रकारले भने, ‘मेरो प्रमुख मुद्दा पनि सम्पदा, संस्कृति, बौद्ध महाविहारहरु, मन्दिर संरक्षण गर्ने भन्ने हो । पर्यटन विकास साथै पूर्वाधार विकासका क्षेत्रमा पनि मैंले मिहीन रुपमा अध्ययन गरेर योजना तयार गरेको छु ।’

यस क्षेत्रमा पर्ने स्थानीय तहमा महालक्ष्मी नगरपालिका प्रमुखमा एमाले उम्मेदवार हरिगोविन्द श्रेष्ठ ९ हजार ३५० मत ल्याई विजयी भएका थिए । माओवादी केन्द्रका शिवप्रसाद कट्टेलले ५ हजार ६५८ मत ल्याएका थिए । महानगरको वडा नम्बर ६, ७, ८, ९, ११, १६ कांग्रेस, १२, १७ र १९ मा एमाले विजयी भएको छ ।

मतको गणितलाई हेर्दा पनि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको मत अग्रस्थानमा देखिन्छ । तर एमालेका उम्मेदवारहरुले मत प्रभावित गर्न विभिन्न रणनीति अपनाएर माहोल आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेको छ । राप्रपाकी हसिना शाक्यले पनि मतदातालाई आकर्षित गरिरहेकी छिन् । 

०७४ सालको निर्वाचनमा विजयी भएका एमालेका ज्ञानेन्द्र शाक्यले पाँच वर्षमा ठूलो उपलब्धि हासिल गरेको र ठूला योजनाहरु भित्र्याउन सफल भएको दाबी गरिरहेका छन् ।

तर कतिपय मतदाताले शाक्यको भूमिका प्रभावकारी नभएको, जितेर गएपछि फर्केर नहेरेको लगायतको आरोप लगाएका छन् । 

पाटन संयुक्त क्याम्पसको इकाइ सभापति हुँदा २०४६ सालको आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका चित्रकार नेपाली कांग्रेसको नवौं महाधिशनबाट निरन्तर रुपमा महासमिति र महाधिवेशन प्रतिनिधिका रुपमा सक्रिय छन् । 

२०४९ सालमै नेविसंघ सभापति साथै २०५९ मा नेविसंघको केन्द्रीय उपाध्यक्ष भएका उनी नेविसंघको नेपालगन्ज महाधिवेशनमा केन्द्रीय सभापतिका रुपमा प्रतिस्पर्धा गरेका थिए ।

कांग्रेसका तर्फबाट २०६४ सालमा संविधान सभामा समानुपातिक सदस्य भएका चित्रकार भन्छन्, ‘म सधै न्यायको पक्षमा छु । जनताको माझमा छु । पूर्णकालीन राजनीति र कानून व्यवसायलाई सँगै अघि बढाइरहेकाले मतदाताका सामान्य समस्याका बारेमा जानकार छु । मेरो क्षेत्रका मतदाता म प्रति आशावादी हुनुहुन्छ ।’

उनी भन्छन्, ‘म अहिले उम्मेदवार भइरहँदा कला, संस्कृति, सम्पदा, हस्तकलाको सम्बद्र्धन र प्रवद्र्धनमा मात्र होइन यहाँ जनजिवीकाका मुद्दाहरुमा प्राथमिकतामा राखेको छु । खानेपानी, सडक सुधार, ढल व्यवस्थापन लगायतका समस्याहरु मेरो मुख्य मुद्दा हुन् । यिनै मुद्दा र मेरो क्रियाशीलता साथै क्षमतालाई मूल्यांकन गरेर मेरो क्षेत्रका मतदाताले यस पटक मलाई रोज्नुहुन्छ भन्नेमा ढुक्क छु ।’  


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ