arrow

पुष्पा भुषाल र टोपबहादुर रायमाझीबीच टक्कर, भुषाल विश्वस्त 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २९ मंगलबार
pushpa-bhusal-topbahadur-rayamajhi.jpg

सन्धिखर्क । अर्घाखाँचीमा दुई पार्टीका केन्द्रीय स्तरका नेताबीच कडा चुनावी प्रतिष्पर्धा देखिएको छ । लगातार तीन पटक चुनाव जितेका एमाले सचिव टोपबहादुर रायमाझीसँग सत्तारुढ गठबन्धनले निवर्तमान उपसभामुख एवं कांग्रेस नेतृ पुष्पा भुषाललाई मैदानमा उतारेको छ ।

अहिले रायमाझी र भुसाल मतदाताका घरदैलोमा पुग्दा मतदाताले पनि विकासका लागि मौसिखक आश्वासन होइन, लिखित हस्ताक्षर नै गराउन थालेका छन् । 

कांग्रेस नेतृ भुषाल छत्रदेव गाउँपालिकाको ठूलापोखरामा पुग्दा स्थानीयले ठूलापोखराको विकासका योजना १० बुँदामा प्रतिबद्धता जनाए मात्रै भोट दिने माग राखे । उनीहरुले पाँच वर्षसम्म गर्ने विकासमा मौखिक आश्वासनमा विश्वास गरेनन् । त्यसपछि लिखित हस्ताक्षर गराए ।

उनीहरुको १० बुँदे मागमा वडाभित्रको सडकलाई स्तरोन्नती गर्दै व्यवस्थित र कालोपत्रे गरिदिनुपर्ने, यस क्षेत्रकै ठूलो चौवाटार सिचाइँ कुलो सम्पन्न भएकाले त्यसलाई मर्मत सुधारको माग राखेका छन् ।

त्यस्तै कोकलचारे–सेट्टारी सिचाइ योजना, दुग्दी–सालबोट–बलीफाँट सिचाइ योजना, गुठी–अरटारी–फुल्ली र सानीखोली–तौवाखोला सिचाइ योजनामा बजेट पारेर सम्पन्न गर्ने प्रतिबद्धता भुषालले जनाइन् । 

खेतबारीमा तटबन्ध, चौवाहको सरस्वती आधारभूत विद्यालयको भवन निर्माण, धार्मिक मठमन्दिर निर्माण गर्नेमा हस्ताक्षर गरेकी छिन् । सालबोट–कोटफेरा लिफ्टिङ खानेपानी, अशिदश चौवाह–उरामथुम लिफ्टिङ खानेपानी योजना, दुग्दी, धैरेनी–धरमपानी योजना निर्माण सम्पन्न गरी एक–घर एक धारा बनाइदिनुपर्ने र उपल्लो टिकुरी, तल्लो टिकुरी खानेपानी योजनामा मिटर जडान गर्नुपर्ने माग छन् । जितेपछि ५ वर्षभित्र यी काम सम्पन्न गरिदिन्छौं भनेर भुषाललाई मतदाताले लिखित हस्ताक्षर गराए ।

रायमाझीलाई पनि विकासका मागमा लिखित प्रतिबद्धता गराउने स्थानीयले बताएका छन् । उनले लगातार तीन पटक चुनाव जितेका छन् । तर यसपालि भने उनको स्थिति कमजोर रहेको बताइन्छ । 

रायमाझी माओवादी केन्द्र छाडेर एमालेमा गएका हुन् । जसले गर्दा उनी स्वार्थी रहेको बुझ्न थालिएको छ । सशस्त्र द्धन्द्ध थालेर देशमा विकासको खोलो बगाउने र सबैलाई बराबरीको दर्जा दिलाउने कसम खाएका भए पनि उनी एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुँदाको नेकपाबाट सर्वोच्च अदालतले फेरि पार्टी विभाजन गरिदिएपछि माओवादी छाडेर एमालेतिर लागेका थिए । 

जसका कारण अर्घाखाँचीमा माओवादी नेता तथा कार्यकर्ताहरु उनलाई आफ्नो नेता मान्दैनन् । उनले तिनै माओवादीहरुको पनि भोट तान्ने भन्दै आएका छन् । तर उनलाई एमालेका नेताहरुलेसमेत पनि भोट नदिने बताइरहेका छन् । 

सशस्त्र द्धन्द्धका बेलामा रायमाझीले धेरै दुःख दिएको भन्दै उनलाई भोट नदिने उनीहरुको भनाइ रहेको छ । गठबन्धनकी उम्मेदवार भएकाले पनि भुषाल ढुक्क रहेकी छिन् । 

उनी अहिलेसम्म इमानदार नेतृको रुपमा परिचिति छिन् । उनको दृढता र सौम्य बोलीका कारण पनि उनले जित्ने लगभग निश्चित जस्तै भएको बुझिन्छ । उनी अधिवक्तासमेत हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ