- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दोस्रो जनआन्दोलन यता अन्तरिमदेखि दुइतिहाईको सरकार सम्ममा विभिन्न नामधारी १२ वटा सरकार बने । तीन जना नेता त प्रधानमन्त्रीमा दोहोरिए पनि । यिनका मन्त्रीहरुको संख्या चार सय नाघ्यो । नागरिकमा एक प्रकारले मन्त्रीहरुको संख्याको हेक्का पनि नरहने अवस्था आयो । कतिपय त एक डेढहप्ताका लागि पनि मन्त्री बनाइए ।
यस क्रममा कति दोहोरिए, तेहरिए, चौथो पटक पनि गनिँदै गए । यता सर्वसाधारणका लागि उनीहरुको उपस्थिति भने कतै देखिएन । केही दिनअघि एकजना मन्त्रीले एउटा कुनै निजी कम्पनीको गार्डलाई ‘म मन्त्री हुँ’ भनी परिचय दिलाउनु परेको कुरा आयो । यसको अर्थ हो केहीलाई छाडेर मन्त्रीहरु नाम, काम दवैमा बेनाम छन् ।
जब मन्त्रीको नामै पत्तो हुँदैन भने अनुमान गरौं ती मन्त्रीको काम कस्तो रह्यो ? मन्त्री नै मन्त्रीका यस्तो भीडमा एउटा मन्त्री हुन् गगन थापा । तर उनलाई चाहिँ सधैँ सम्झनुपर्ने कारण के होला ?
मन्त्रीहरुका यस्तो भीडमा उनलाई सधै चिनाउने कुरा हुनुपर्छ उनको काम । उनको मन्त्रित्वको कार्यकाल करिब नौ महिनाको थियो । यो भनेको त्यसबेलाका सबै मन्त्रीको कुर्सीका सरदर आयु हुन् ।
भ्रष्टाचार र कमिशनका पोख्तहरुचाहिँ केही लम्बिएका पनि छन् । जस्तो दुईतिहाई सरकारका एक मन्त्री र त्यसबेला सरकारका प्रवक्तासमेत रहे, जो पछि ७० करोड कमिशन काण्डमा मुछिएर हटे । उनको कार्यकाल भने करिब दुई वर्षको थियो ।
सरदर सबै मन्त्रीले उपभोग गरेका समयमा नै गगनले भने आफ्नो नामलाई आफ्नो काममार्फत यसरी गुञ्जायमान बनाए जो वास्तवमानै प्रत्येक नागरिकले सधैँ सम्झनुपर्ने भयो ।
मन्त्रीबाट हटेको पाँच वर्षपछि पनि उनको काम घरघरमा चर्चित भैरहेकै छ र गगनले नेपाली परिवारबाट ‘दुआ आशिष’ पाइनै रहेका छन् ।
एउटा सामान्य रुपबाटै अनुमान गरौं त यो बेला मन्त्री भएका उल्लेखित त्यो ४०० भन्दा बढीको संख्याले आफूलाई देशले नै सम्झनु पर्ने गरी एउटा–एउटा मात्रै काम गरिदिएका भए कम्तीमा यति नै संख्याका जनसरोकारका काम सम्पन्न हुने थिए । नागरिकले राज्यबाट प्राप्त गर्ने सेवा सहज हुने थियो । त्यस्तो सेवा जुनसुकै क्षेत्रको पनि हुन सक्तछ ।
मन्त्रीहरुका यस्तो भीडमा गगनबाट यतिबेला मन्त्री भैरहेका र फेरि मन्त्री बन्नका लागि तयार रहेकाहरुले यति कुरा अनुकरण गरिदिए भने पुग्ला ।
जुनबेला गगन मन्त्री भए त्यसबेलाको संविधानले मन्त्रीको संख्या नतोकेकाले होला प्रधानमन्त्रीबीच कसले बढी भन्दा बढी संख्यामा मन्त्री बनाउने भन्ने होड नै चलेको थियो ।
त्यसबेला ६० जनासम्मको संख्या पुग्यो । त्यही क्रमको एउटा सरकारको एउटा मन्त्री बने गगन थापा । यो २०७३ भदौ १२ को कुरा हो । यो दिन उनले मन्त्रीको शपथ खाएका हुन् ।
यो बेलासम्मको विगतले नै कसको सरकार किन र त्यसभित्र पनि को किन मन्त्री ? भन्ने आम तहमा चासो बाँकी थिएन । सरकारमा रहेकाहरुबाट अपेक्षाकृत काम नभएको अवस्थाको उपज थियो यो ।
तर गगन भने मन्त्री बने लगत्तै चर्चामा आउन थाले । कारण थियो उनले गरेका काम । ती काम कस्ता रहे भने त्यसबेलाका माध्यमहरुमा जताततै गगन नै गगन देखिन र लेखिन थाले ।
स्वतन्त्र सञ्चार माध्यमहरुमा सरकारले गरेका कामको हत्पत् उल्लेख हुँदैनन् । सरकारलाई लाग्छ होला राम्रो गरेँ । तर ती वास्तवमा नै समाचार लायक हुँदैनन् । दुईतिहाईको सरकारका प्रधानमन्त्री (केपी शर्मा ओली) को आफ्नो ४१ महिने कार्यकालको पूरै समय आफूले गरेको राम्रा काम लेख्ने मुटु नभएका भनी पत्रकारलाई गाली गरिरहेका अवस्थाबाट गुज्रिएको थियो ।
तर गगनकाबारे त्यसको उल्टो भयो । छोटो समयमा नै जताततै गगन नै गगन देखिन र लेखिन थालेको अवस्था आउनुको कारण थियो उनको काम । उनले सम्हालेको एउटा मन्त्रालयको कार्यकालको केही महिनामै यसरी समाचार टिप्पणी आउन थाले–
‘नेताहरूका कार्यशैलीले राजनीतिप्रति नै वितृष्णा बढाएको समयमा आशाको दियो बनेर देखापरेका छन्, ‘नाति पुस्ता’ का गगन थापा । स्वास्थ्य मन्त्रीका रूपमा उनले खेलेको भूमिकाले आशाको त्यो दियो बालेको छ ।
गगन २०७३ भदौमा माओवादी–कांग्रेस गठबन्धनको पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री बनेका थिए । त्यसबेला माओवादी र कांग्रेसबीच भएको सहमति अनुसार यो ९ महिनामात्र कार्यावधि भएको सरकारमा मन्त्री हुने गगनको निर्णयलाई धेरैले पदलोलुपतासमेत भने ।
राजनीतिमा चासो राख्ने र नराख्ने दुवैथरी नेपालीले आशाको नजरले हेर्ने निकै कम नेताको पंक्तिमा उभिएका गगनबारे भएको यस्तो टिप्पणीको निहितार्थ थियो– अहिलेको भद्रगोल शासन व्यवस्थाको सिस्टमले उनलाई केही गर्न दिँदैन, बरु आफूजस्तै बनाइछाड्छ अनि नयाँ पुस्ताले आँखा अडाउने नेता पाउन पनि गाह्रो पर्न सक्छ (हिमालखबर २४ फागुन, २०७३) ।’
पत्रपत्रिकामा उल्लेखित टिप्पणीहरु आउँदाको समय गगनको उक्त मन्त्रालयकोे कार्यकाल ६ महिनाको हाराहारीमा थियो । उनी सरकारमा पहिलो पटक प्रवेश गरेका हुन् । यद्यपि सांसद भने थिए । त्यस अर्थमा यो समय एउटा मन्त्रीले आफ्नो कार्यसम्पादनका लागि वा राम्रो गर्नका लागि प्रारम्भिक अवस्थानै हो ।
नागरिकलाई सबैभन्दा बढी चाहिने र राज्यको निरन्तर उपस्थिति रहनुपर्ने क्षेत्र हो स्वास्थ्य । तर यही क्षेत्रको सेवा सर्वसाधारणका लागि छोइनसक्नुको थियो । सरकारले निःशुल्क दिन्छु भनेको औषधिसमेत कतै पाइँदैन थियो । मुलुकको सरकारी स्वास्थ्य सेवाको अवस्था र स्तर सुधार्न गगनले थालेको नीतिगत, संरचनागत, प्रक्रियागत र व्यवस्थापकीय सुधारको प्रारम्भले नै उनी चर्चामा आउन थालिसकेका थिए ।
यो कामले ल्याएको परिणाम थियो । उनी यो क्षेत्रका विशेष अनुभवी पनि होइनन् । आम नेपालीको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको क्षेत्रको सुधार राजनीतिक अठोटबाट नै हुनुपर्ने थियो । उनले आफ्नो कामको थालनी यहीँबाट गरे ।
उनको कामको पहिलो थालनी नै सरकारले दिन्छु भनेको निःशुल्क औषधी तत्काल उपलब्ध गराउनु रह्यो जो सफल पनि भयो । यसको अर्थ हो पाउनु पर्नेले निःशुल्क औषधी पाउन थाले ।
यो धेरै ठूलोकुरा थिएन । सरकारले घोषणा गरेकै थियो । केवल त्यसलाई कार्यान्वयनमा लैजानु थियो । त्यति नगरिँदा राज्यले घोषणा गरेको कुरा अधुरो नै रहेको होला ।
विवरणहरुले बताए अनुसार यो मन्त्रालयबाट गगनले गरेको मुख्य काम हो स्वास्थ्य सेवाको विस्तार जसले देशभर र अत्यन्त तल्लो स्तरसम्म आशाको सञ्चार गरायो । केन्द्रीय तहमा रहेका विशेषज्ञ स्वास्थ्य सेवा जिल्लाहरूमा विस्तार गर्नु आदि यसभित्र पर्छन् ।
देशभरी मुटुरोग र बाथको उपचार निःशुल्क गर्ने, देशभरका सबै सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण निःशुल्क गर्ने आदि कुराको थालनीले उनलाई खासगरी गरिब असहायहरुका मन भित्रै पुर्यायो । उनीहरुमा यस्ता रोगको उपचार नपाएर मरिन्छ भन्ने भय हरायो ।
यो मन्त्रालयले ल्याएको ‘अर्बान हेल्थ प्रमोशन सेन्टर’ को अवधारणाले घरआगनमा नै उपचार पुर्यायो । मिर्गौला रोग महंगो र असाध्य जस्तो पनि हुँदै गएको बेला त्यसको जोखिम कम गर्न मन्त्रालयले विद्यालय जाने उमेरका बालबालिकाको निःशुल्क पिसाब परीक्षण गर्ने कार्यक्रम ल्यायो जो आफैँमा उदाहरणीय पनि थियो । गगन मन्त्रीबाट हटेपछि यो कार्यक्रम आफैं थातीमा रहेर यसका प्रभावकारिता देखिन नसकिनु अलग कुरा हो ।
अर्को धेरै ठूलो र जीवनदायी काम थियो पाठेघरको मुख र स्तन क्यान्सरको निःशुल्क परीक्षणको कामलाई देशभर विस्तार गरिनु । यसले खासगरी विपन्न महिलाहरुको त जीवनदान नै गर्छ ।
महिलाको पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण समयमानै हुन पायो भने उपचार सहज हुने र जीवन बच्ने कुरा अहिले पनि चिसकत्सकहरुले बताइरहेकै छन् । यसको परीक्षण नै महंगो हुन्छ । त्यसैकारण यो सबैको पहुँचभन्दा बाहिर गएको अवस्था थियो । त्यसलाई निःशुल्क बनाइँदा सेवाग्राहीले त गगनलाई भगवान मान्ने भए नै ।
गगनलाई सबैले सधै सम्झनै पर्ने अर्को विषय हो मिर्गौला रोगीलाई डायलासिस सुविधा । सबै सरकारी अस्पतालबाट निःशुल्क डायलासिस सेवा प्राप्त गराइनु । पछि यसको विस्तार हुँदै निजीमा पनि गर्न थालियो ।
एउटा मिर्गौला रोगीलाई डायलासिस गर्दा लाग्ने खर्च प्रतिहप्ता अर्थात् एकपटकको पाँच–सातहजार हुन्छ । सक्नेहरुले त गर्लान् तर ज्यालामजदूरी गरेर जीविका चलाउनेहरु यस्तो खर्चको कल्पना पनि गर्न सक्तैनन् ।
गगन यो सुविधा लिएर तिनका घरआँगनमै पुगे । त्यसकारण उनी मन्त्रीको यो भीडमा सधै र सबैले सम्झनै पर्ने पात्र बने । अपेक्षा हो मन्त्री भएका अरुले पनि सम्झनायोग्य काम गरुन् ।