arrow

शहरी मतदाताको शालीन विद्रोह 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
vote-count-2079--08-05.jpg
काठमाडौँ क्षेत्र नं १ को बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा मत गणना गर्दै निर्वाचन आयोगका प्रतिनिधि ।

काठमाडौं । मतगणनाको प्रारम्भिक नतिजा हेर्दा जनताले गठबन्धन र पार्टी विभाजनलाई बेवास्ता गर्दै ‘चेक एण्ड व्यालेन्स’ गर्ने शक्तिको खोजी गरेको देखिन्छ । खासगरी शहरी मतदाताहरुले गठबन्धन र पार्टी विभाजनलाई रुचाएको देखिएन । 

शहरी मतदाताहरुले शालीन विद्रोह गरेको पाइयो । राजधानी तथा उपत्यकाका मतदाताले सत्तारुढ दलहरुबीचको गठबन्धन र एमालेको विभाजनलाई नरुचाएको देखिएको छ । खासगरी नेपाली कांग्रेससँग माओवादी र नेकपा एसको गठबन्धनलाई साथ दिएको देखिएन । 

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका उम्मेदवार रहेको क्षेत्रमा नयाँ दल र स्वतन्त्र उम्मेदवारले उल्लेख्य मत पाएका छन् । कांग्रेसका उम्मेदवार रहेका ८ मध्ये काठमाडौं–६ बाहेकको अरु क्षेत्रमा अग्रता लिइरहेकै छ । साथै प्रौढ उमेर समूहका उम्मेदवारका विरुद्ध पनि मतदाताहरुले शालीनपूर्वक विद्रोह गरेको देखियो । 

काठमाडौं–१ मा ह्याट्रिक जित निकालेका कांग्रेस नेता प्रकाशमान सिंह बलियो प्रतिस्पर्धामा छन् । राप्रपाका रवीन्द्र मिश्रसँग आलोपालो अग्रता लिइरहेका छन् । काठमाडौं–३ मा एमालेका कृष्ण राईसँग कांग्रेसका सन्तोष चालिसेले अग्रता आलोपालो गरिरहेका छन् ।

काठमाडौं–४ मा गगन थापा, ५ मा प्रदीप पौडेल र १० मा राजन केसीले लगातार अग्रता लिइरहेका छन् । तर माओवादी केन्द्र र एकीकृत समाजवादीका उम्मेदवार रहेको क्षेत्रमा भने गठबन्धनका उम्मेदवार निकै पछि परेका छन् । 

माओवादी केन्द्रका नेता उम्मेदवार रहेका काठमाडौं–२, ७ र ९ मा गठबन्धन विरुद्धका उम्मेदवारले अग्रता लिइरहेका छन् । काठमाडौं–१० मा गठबन्धनभित्रै मैत्री प्रतिस्पर्धा गर्ने सहमति थियो । कांग्रेसका राजन केसीले अग्रता लिइरहँदा माओवादी केन्द्रकी अञ्जना विशुंखे निकै पछाडि छिन् ।

काठमाडौं–२ बाट उम्मेदवार रहेकी पूर्व सभामुख ओनसरी घर्तीमगर, ७ नम्बर क्षेत्रबाट उम्मेदवार रहेकी मानुषी यमी भट्टराई र ९ नम्बर क्षेत्रमा उम्मेदवार रहेकी कल्पना धमला प्रतिस्पर्धामा पछाडि परेका छन् । 

माओवादीको भागमा परेको काठमाडौं–९ मा एमालेका कृष्णगोपाल श्रेष्ठसँग राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल प्रतिस्पर्धामा छन् ।

ललितपुर ३ मा माओवादी केन्द्रका उपमहासचिव पम्फा भुषाललाई दोस्रो स्थानमा समेत आउन मुस्किल परिररहेको छ । सत्ता गठबन्धनको समर्थन रहे पनि भुषाललाई एमालेका अमृत खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले पछाडि पार्दै आएका छन् ।

काठमाडौं उपत्यका मात्र होइन काठमाडौ बाहिर पनि यही अवस्था छ । पार्टीका पुराना अनुहार बाहेकका उम्मेदवाहरुरलाई राम्रो मत दिएका छन् । धेरै पटक एउटै अनुहारका विरुद्ध पनि जनताले विद्रोह गरेको पाइएको छ । 

रुपन्देहीमा विष्णु पौडेलमाथि राष्ट्रिय स्वतन्त्र पार्टी हावी भैरहेका छन् भने चितवनमा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेमाथि कांग्रेसका नयाँ अनुहार विश्वनाथ पौडेल हावी भैरहेका छन् । 

त्यस्तै इलाममा सुवास नेम्वाङलाई कांग्रेसका नयाँ अनुहार डम्बर खड्काले आलोपालो अग्रता लिइरहेका छन् । इलाममै झलनाथ खनालमाथि एमालेकै महेश बस्नेतले अग्रता लिइरहेका छन् । 

यसबाट पनि के पुष्टि हुन्छ भने पार्टीका पुराना अनुहारमाथि मतदाताहरुले भरोसा गर्न सकेका छैनन् । उनीहरुले राजनीतिमा नयाँ अनुहारको भूमिका र अवसर खोजिरहेका छन् । 

मतदाताहरुले विगतमा जनताको भावनामाथि खेलबाड गर्नेहरुलाई पनि महत्व नदिएको आभाष दिलाएका छन् । उनीहरुले पार्टी वा नेताको अनुहार नहेरी जहाँबाट नयाँ शैली आएको छ त्यतातिर आफ्नो मत प्रकट गरेको प्रारम्भिक नतिजाले संकेत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ