arrow

सत्ता समीकरणको किचलो

‘माओवादीलाई प्रधानमन्त्री र नेकपा एसलाई राष्ट्रपति दिएर कांग्रेसले थपडी बजाएर बस्ने हो ?’ 

‘प्रचण्ड र माधवले आफ्नो हैसियत बिर्सने नै हो भने हामीले पनि त एमालेसँग सहकार्य गरेर सरकार बनाउन सक्छौं नि । सधैभरि यिनीहरुलाई बोक्नुपर्छ भनेर कांग्रेसको विधानमा लेखेको छ र ?’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २९ बिहिबार
gathabandhan-election-2079.jpg
तस्बिर – फाइल ।

काठमाडौं । संसदमा ३४ सिट लिएर बसेको नेकपा माओवादीले ‘मिसन प्रधानमन्त्री’ अख्तियार गरेपछि नेपाली कांग्रेस र नेकपा एमाले दुवैसँग बार्गेनिङ शुरु गरेको छ । नयाँ सरकार गठनका लागि छलफल अघि बढेसँगै दलहरूले शक्ति बाँडफाँट भन्दै प्रमुख पदहरूमा दाबी गर्न थालेपछि माओवादीले ‘मिसन प्रधानमन्त्री’का रुपमा दुवै दलसँग बार्गेनिङ शुरु गरेको हो । 

बुधबार निर्वाचन आयोगले निर्वाचन परिणाम घोषणा गरेसँगै प्रतिनिधिसभामा कांग्रेस सबैभन्दा ठुलो दल हुने भएको छ । कांग्रेस नेतृत्वको गठबन्धनबाट सरकार बनाउन माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले समानुपातिक वितरण प्रणालीका आधारमा प्रमुख पदहरू बाँडफाँट हुनुपर्ने दाबी प्रस्तुत गर्न थालेका छन् । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने गरी पहिलो साढे दुई वर्षका लागि प्रधानमन्त्री दाबी गरेका छन् । नेकपा एसले सकेसम्म राष्ट्रपति, त्यो नभए सभामुख दाबी गर्ने भएको छ । 

माओवादी केन्द्रले सरकार गठनका लागि सबै विकल्प खुला गरी कसरी पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्न सक्छन् भन्नेतर्फ ध्यान केन्द्रित गर्न थालेको छ । शुरुको कार्यकाल प्रधानमन्त्री दावी गरेका प्रचण्डले एमालेसँग पनि आफ्ना प्रतिनीधिहरु पठाएर कुराकानी शुरु गरेका छन् । 

सरकार बनाउन कांग्रेस र एमालेलाई माओवादी नै चाहिने भएपछि प्रचण्डले प्रधानमन्त्री पदलाई मुख्य ‘मिसन’ बनाएका छन् । नेकपा एस भने प्रचण्ड एमालेतिर नजिक हुन खोजेपछि कांग्रेससहित हालको गठबन्धनबाटै सरकार बनाउनुपर्नेमा उभिएको छ ।

 ‘माओवादीको स्वभाव मिसन प्रधानमन्त्री देखियो । उसले गठबन्धन छाड्ने अवस्था आउन लाग्यो । जसले गर्दा हामीले यही गठबन्धनलाई जोगाएर जानुपर्छ भनेर सचिवालय बैठकबाट निर्णय गरायौं’, नेकपा एसका एक पदाधिकारीको दाबी छ । 

माओवादीका नेताहरुले एमालेसँग पनि लगातार कुराकानी गरिरहेका कारण बुधबार मात्रै प्रचण्ड आफू तेस्रो पटक प्रधानमन्त्री बन्न लागेको अभिव्यक्ति दिएका थिए । 

तर कांग्रेसले प्रचण्डको यो दोधारे चरित्रप्रति कुनै प्रतिक्रिया जनाएको छैन । यद्यपि एक कांग्रेस केन्द्रीय सदस्य भने प्रचण्ड र नेकपा एसमा अध्यक्ष माधवकुमार नेपालको डिमाण्डलार्ए भने अस्वभाविक भन्छन् । उनले केही आक्रोश भावमा भने, ‘माओवादीलाई प्रधानमन्त्री र नेकपा एसलाई राष्ट्रपति दिएर कांग्रेसले थपडी बजाएर बस्ने हो ? ।’ 

उनले अगाडि भने, ‘प्रचण्ड र माधवले आफ्नो हैसियत बिर्सने नै हो भने हामीले पनि त एमालेसँग सहकार्य गरेर सरकार बनाउन सक्छौं नि । सधैभरि यिनीहरुलाई बोक्नुपर्छ भनेर कांग्रेसको विधानमा लेखेको छ र ?’

नेकपा एमालेका नेताहरुसँग बोलचाल बन्द भैरहेको बेला एमसीसी प्रकरणमा नयाँ बानेश्वरस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यकक्षमा एउटा प्रत्यक्ष संवाद र एकपटक प्रचण्ड पत्नी सीता दाहाल अस्वस्थ्य रहेकोमा सोधीखोजीमा दुई नेताका बीचमा टेलिफोन सम्वाद भएको थियो ।

त्यसपछि ओली र प्रचण्डका बीचमा सम्वाद ठप्प नै थियो । तर ८ मंसिरमा एकाबिहानै प्रचण्डलाई एमाले अध्यक्ष ओलीले फोन गरेपछि संवाद खुला भएको थियो  । ओलीको टेलिफोन प्रचण्डलाई यस्तो बेला गएको थियो जतिबेला एमाले र माओवादी दुवै प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावको प्रारम्भिक नतिजा सार्वजनिक भइरहँदा खुम्चदै गइरहेको थियो । 

कांग्रेससँग गठबन्धन गरेको माओवादीले अपेक्षा अनुसारको नतिजा पाएको थिएन । ०७४ मा प्रत्यक्षमै ८० सिट जितेको एमाले पनि झण्डै आधामा खुम्चने परिणाम आइरहेको थियो । 

यस्तो अवस्थामा माओवादीले पनि एमालेसँग संवाद अघि बढाएर कांग्रेससँग बार्गेनिङ पावर बढाउने मौका पाएको थियो । माओवादी पदाधिकारी बैठकले आइतबार सरकार गठनका लागि सबै पक्षसँगको सहकार्यलाई खुला गरेपछि नेकपा एस झस्किएको थियो । 

गठबन्धन जोगाएर जानुपर्छ भन्ने लाइनमा रहेको नेकपा एस प्रमुख पदहरू बाँडफाँट र कार्यविभाजन मिलाएर सरकार बनाउनुपर्नेमा दृढ रहेको छ । माओवादी अध्यक्ष प्रचण्डले आफैं प्रधानमन्त्री हुन सक्रियता बढाएपछि गठबन्धनको भविष्य अन्योलमा परेको छ ।

 ‘एकातर्फ कांग्रेस सबैभन्दा ठूलो छ, प्रधानमन्त्रीमा उसको दाबी छ । गठबन्धनभित्रकै माओवादीले पनि प्रधानमन्त्री दाबी गरेको छ । यस्तो अवस्थामा एमालेले मिलेर सरकार बनाउने भन्यो र शुरुको कार्यकाल प्रचण्डलाई प्रधानमन्त्री दिने भन्यो भने भने माओवादी लचिलो हुन सक्छ’, नेकपा एसका एक पदाधिकारीले भने ।  

कांग्रेस सभापति शेरबहादुर देउवा भएकाले उनी पनि प्रधानमन्त्रीका स्वाभाविक दाबेदार हुन् । कांग्रेस संसदीय दलको नेतामा रामचन्द्र पौडेल, गगनकुमार थापा, डा. शेखर कोइरालाले उम्मेदवारी दिने बताइरहेका छन् ।  

माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको दाबी गर्दा नेकपा एसका अध्यक्ष माधव नेपाल भने मौन छन् । नेपालले आफ्नो पार्टीले राष्ट्रपति वा सभामुखमध्ये एक पद पाउनुपर्नेमा जोड दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ