arrow

राज्याभिषेक उपन्यासमा मानव र जीवजन्तुको सहअस्तित्वचेत

logo
रमेश शुभेच्छु, 
प्रकाशित २०७९ पुष २ शनिबार
rajyabhishek-ramesh-subhekchu.jpg

काठमाडौं । राज्याभिषेक राजु अधिकारीको पशुपन्छी अधिकार र मानवतासँग सम्बन्धित पर्यावरणीय चेतना सम्पन्न कृति हो । यस कृतिले पृथ्वीलाई मानव र पशुपन्छीहरूको साझा वासस्थान हो भन्ने चेतनालाई औपन्यासिक कलामा अगाडि सारेको छ। यस कृतिले नाराका रूपमा नभई उपन्यासका अपेक्षामा पर्ने पृष्ट विषय र कथानकका माध्यमबाट पत्यारिला पात्रलाई उभ्याएर पृथ्वीमा मानव जाति मात्र होइन पशुपन्छी र अन्य जीवजन्तुले पनि स्वतन्त्र रूपले बाँच्न पाउनुपर्छ भन्ने चेतना सञ्चार गरेको छ ।

राज्याभिषेक उपन्यासले उठाएको विषयमा नेपाली साहित्यमा जे जति कृति लेखिनु पर्थ्यो त्यो हुन सकिरहेको छैन । हाम्रो मुलुक अधिकांश जनताको कृषिप्रधान जीवनशैलीका साथै वनजङ्जल र जलस्रोतले पनि सम्पन्न मुलुक हुँदा यस मुलुकको परिवेश विविधतापूर्ण छ । यस्तो परिवेशसापेक्ष जीवजन्तु, पशुपन्छी, वन्य, जल, हिमाल एवम् अन्य प्राकृतिक सम्पदा साहित्यका विषय, प्रतीक एवम् विम्ब बन्नुपर्ने हो तर हामी जीवनका लम्बाइ, चौडाइ र जोडघटाउमै सीमित छौँ । 

यस्तोबेला राजु अधिकारीको फरक विषय र चेतनाको औपन्यासिक कृति नेपाली साहित्य जगतमा प्रकाशनको सूर्यदर्शन गर्दैछ । यस कृतिले मानवलगायत सम्पूर्ण जीवजन्तुको साझा राज्यका रूपमा पृथ्वीलाई चिनाएको छ । यसमा मानव कल्याण र लोककल्याणका बहुमुखी चेतना आध्यात्मिक र वैज्ञानिक दुवै कोणबाट संयोजित बन्न सकेका छन् ।

नेपाली समाज मात्र होइन विश्व परिवेशमै मानव जाति पशुपन्छी र अन्यप्राणीका लागि मैत्रीपूर्ण जाति बन्न सकिरहेको छैन । मानव स्वयम्मा सबैभन्दा चेतनशील जाति भएर पनि प्रकृतिका प्रत्येक जीवको आआफ्नो अस्तित्व र प्राकृतिक सन्तुलनमा भूमिका हुन्छ भन्ने कुरा बुझ्न सकिरहेको छैन । मानव जाति आफ्ना अधिकारका लागि निकै सचेत बनिसके पनि, सभ्यता र विकास क्रममा निकै समद्ध भए पनि अन्य जीवका जीजीविषा र अधिकारका विषयमा सचेत बन्न सकिरहेको छैन ।

यही अभाव र कमजोरीलाई वैज्ञानिक एवम् व्यवहारिक तथ्यसहित राज्याभिषेक उपन्यासले विषय र मूल चेतनाका रूपमा लिएको छ। मानव–पशु सम्बन्धका विषयमा विश्वका केही मुलुकमा कानून बनेका छन् र तिनको कार्यान्वयन पनि भइरहेको छ । नेपालमा पशुसम्बन्धी केही कानून बने पनि तिनको कार्यान्वयन पक्ष ज्यादै फितलो देखिन्छ । नेपालमा पशुसेवा ऐन २०५५, पशु स्वास्थ्य तथा पशुसेवा नियमावली २०५६, पशु ढवानीसम्बन्धी मापदण्ड २०६४, पशु कल्याण निर्देशिका २०७३ जस्ता केही कानून, नियम र अवधारणाहरू अगाडि आएका छन् ।

यस्ता नियमहरूको कानूनीकरण र कार्यान्वयन पक्ष भने ज्यादै कमजोर छ । पशुलाई दाम्लो, साङलो, ठिँगरा हुँदै आधुनिक ट्रयाकिङ डिभाइस, आइडिन्टिफिकेसन ट्याग, विभिन्न औषधि र रसायनको प्रयोग गरेर मानवले आफू अनुकूल प्रयोग गरिरहेको छ। मानवले सारा जीवजन्तुसम्बन्धी औषधी र रसायनको परीक्षणको आधार पशुपन्छीलाई बनाइरहेको छ । आफ्नो भोजन र मनोरञ्जनको साधन पनि पशुपन्छीलाई नै बनाइरहेको छ । तर उनीहरूका पीर मर्का मानवले बुझ्न सकिरहेको छैन ।  विविध विधिबाट मानवले पशुलाई मूलतः भारी बोक्ने, भार तान्ने, यातायातको साधन आदि काममा परम्परादेखि प्रयोग गर्दै आएको छ । 

कतिपय सन्दर्भमा पशुलाई मेशिनको अर्को स्वरूपका रूपमा लिइराखेको छ । यद्यपि पशुपन्छीको आहार, वासस्थान, सुरक्षा, स्वास्थ्य आदिमा लिएको कामअनुसार ध्यान दिन सकेको छैन । भारबाहक पशुहरू घोडा, गधा, खच्चड, गोरु, राँगा, भैँक्ती, हात्ती, याक, भेँडा, बाख्रा, च्याङ्ग्रा, उँट आदिबाट मानव जातिले प्रयाप्त सुविधा लिए पनि तिनको पालनपोषणमा भनिने गरेका र बनाइएका मापदण्डअनुरूप ध्यान दिएको देखिँदैन ।

यी समस्यालाई सारमा र मूलतः पशुपन्छीका वासस्थानमाथि मानवीय हस्तक्षेपले हुन सक्ने प्राकृतिक असन्तुलनका पक्षमा यस राज्यभिषेक कृतिले आवाज उठाएको छ । यो आवाज केही पक्षमा अवैज्ञानिक जस्तो भए पनि धेरै पक्षमा सकेसम्म बैज्ञानिक र आधुनिक एवम् उत्तरआधुनिक चेतनासहित प्रस्तुत गरिएको छ । 

यातायात, सुरक्षा, मनोरञ्जन (सर्कस, जादू आदि) मित्रका साथै मासुका रूपमा प्रयोग गरिने र अन्य मानवीय काम, आहारा आदिमा सहयोग गर्ने पशुढुवानी सम्बन्धी मानव व्यवहार ज्यादै कमजोर छ । यस्तो व्यवहारमा न्यूनतम मानवीय चेतनाको उपयोग भएको देखिँदैन । समय समयमा बने बनाइएका मापदण्डको पालना पनि समुचित रूपमा भएको देखिँदैन । यी कुरा सरसर्ती हेर्दा सामान्य जस्ता भए पनि पृथ्वीमा बस्ने जीवजन्तुमध्ये सबैभन्दा चेतनशील जीव भएका कारण मानवका लागि चेतनाका कोणबाट र मानवताकै कोणबाट पनि लाजमर्दो विषय बनिरहेको छ । 

पृथ्वीमा हावापानी अनुकूल बाँच्न पाउने जीवजन्तुको नैसर्गिक अधिकार पनि मानवले खोसिरहेको छ । यी सबै पक्षलाई एउटै उपन्यासले समेट्न नसकेको भए पनि पशुको वासस्थान र पृथ्वीमा बाँच्न पाउनु पर्ने अधिकारलाई जीवन्त रूपमा प्रस्तुत गर्दे मानव–पशुको साझा हक हित गर्ने शासकको चयन गरेर यस कृतिलाई सर्वजीवहिताय सत्ताको परिकल्पनामा रचना गरिएको छ। पशुपन्छी ढुवानीको मात्र कुरा गर्दा पनि उनीहरूलाई जथाभावी कोचेर, नाकमा रसी लगाएर तथा पुच्छर बाँधेर, ट्रकमा कोचेर, कुखुरालाई खुट्टा बाँधेर बाइकमा झुन्डाएर ढुवानी गरिरहेको देखिन्छ ।

यस्ता कतिपय व्यवहारका दृश्य मानव आँखाले हेर्नसम्म पनि कठिन हुन्छन् । पशुबाट सेवा लिने क्रममा पनि पशुका भारबहन सामग्रीहरू हल्टर, लगाम, गद्दा, पट्टा, पेटी, काठी, हौदा, जुवा, करपच्छ, लोकाल आदिको प्रयोग सही ढङ्गले भइरहेको देखिँदैन । गाडा, बग्गी, टाँगा आदिमा प्रयोग हुने पशुका शरीरमा यस्ता वस्तुहरूले ठुलो असर र पीडा पारिरहेको देखिन्छ । यसले पशुहरूलाई पीडित बनाएको हुन्छ । गर्भवती पशुको अवस्थामा कत्ति पनि ध्यान नदिइकन तिनलाई काममा लगाइराखिएको हुन्छ। 

नवजात पशुको आमासँग बस्न पाउने अधिकार खोसेर अन्यत्र पुच्याइएको देखिन्छ । दूध दिने पशुहरूको वासस्थानसमेत अस्तव्यस्त हुन्छ । यी कुराले मानव जातिको मनवीय संवेदनाहीन अवस्थाको सङ्केत गर्दछ । यी व्यवहारले मानवका हिंस्रक र परपीडक चरित्रको उजागर गरिरहेको हुन्छ । यस कृतिले आंशिक रूपमा मात्र भएपनि मानवमा रहेको यही कमजोरीलाई मूलतः पशुलाई वेवास्ता र मनोरञ्जनको साधन बनाएको कोणबाट प्रस्तुत गरिएको छ्र । 

यसमा पशुपन्छीको पनि मानिसको जस्तै आत्मा हुन्छ, त्यस आत्मामा पीडा हुन्छ उसले व्यक्त मात्रै गर्न नसकेको हो भन्ने चेतना सञ्चार गरिएको छ। यस सम्बन्धी समुदायमा शिक्षा र जनचेतनको पनि अभाव रहेको छ । यही परिपूर्तिका लागि राज्याभिषेक कृति लेखिएको छ । यो कृति एक तहमा बालसाहित्य वा किशोर साहित्यका रूपमा विद्यालयका माथिल्ला कक्षामा पनिकाम लाग्ने गरी र प्रौढ साहित्यका रूपमा पर्यावरणीय एवम् जीववैज्ञानिक चेतनाका कोणबाट अध्ययन गर्न सकिने कृतिका रूपमा प्राप्त छ। 

नेपालका सडकमा भेटिने पशुको सर्वेषण मात्र गर्दा पनि राज्याभिषेक कृतिले उठाएका प्रमाण भेटिन्छन् । कुकुरहरू जथाभावी छाडिएको, दुधे गाईका बाछा उसकै आमाको दूध खोसेर खानका लागि छोडिएको, दूध खाने गाई कागजमा चरिरहेको, पशुपन्छी फर्ममा पशुपालन मात्रै भएको उनीहरूको बाँच्ने अधिकारबारे वास्ता नगरिएको, बाटामा टाइसुट लगाएर गाडी हाँक्ने र आफूलाई सम्भ्रान्त वर्गको ठान्नेहरूले नै पशुपंक्षीहरूलाई सवारीले ठक्कर दिई घाइते बनाउने गरेको आदि घटना हाम्रा आँखा अगाडि भइरहेका हुन्छन् । 

यसले पशुपन्छीलाई कस्तो मार परिरहेको छ र त्यसले मानव जातिको सभ्यता र चेतनामाथि कस्तो प्रश्न गरिरहेको छ भन्ने पक्षलाई देखाउनु यस कृतिको एउटा प्रमुख पक्ष हो । यी सबै पक्ष घटनाका रूपमा नआए पनि यस कृतिको सार यी यावत् पशुपन्छीसँग मानव मैत्री व्यवहार हुन नसकेका पक्षमा केन्द्रित छ। मानव जाति मांसहारका लागि पशुबलि गरिरहेको छ । पशुबलिका माध्यमबाट धर्म हुने कुरा धर्मशास्रहरूले कतै पनि उल्लेख गरेका छैनन् ।

मानिसले सिकारी युगमा खानाका लागि पशुवध गर्दै आएर बलिप्रथा विकास गरेको पक्षमा धेरै अध्ययनहरू केन्द्रित छन् । यस प्रथालाई मानव जातिले आफ्नो स्वार्थ पूरा गर्नका लागि चलाएको चलन मात्रै हो भन्ने पक्ष पुष्टि भइसकेका छन् । यस्तो बेला मानव–पशु सम्बन्ध र यसको जीववैज्ञानिक सम्बन्ध खोजी गरिएको यो कृति निकै रोचक र मर्मस्पर्शी रहेको छ । 

यहाँ जङ्गली जनावरहरूको हत्या र उनीहरूमाथि भएको दमनलाई यथार्थका साथै वर्तमान शक्तिराष्ट्र र विज्ञान प्रविधिमा उन्नत राष्ट्रका मिचाहा प्रवृत्ति देखिने राजनीतिक विम्ब पनि उतारिएको छ ।

प्रस्तुत कृतिले मानवेन्द्र र कृतिका जस्ता मानव पात्रका साथै शेर सिंह र वसन्ती जस्ता पशु पात्रका द्वन्द्व र सङ्घर्षबाट पृथ्वीमा मानव र पशुको साझा राज्य स्थापनाको परिकल्पना गरेको छ । यस परिकल्पनामा मानव जातिले पशुहरूमाथि गरेको दमन, अनियन्त्रित रसायन र औषधि प्रयोगका माध्यमबाट गरिने परीक्षणको विरोध गरेको छ । 

यसले मानव जातिले गरिरहेको यस्तो परीक्षणले प्रकारान्तरले मानव जातिलाई नै पुच्याउने असरलाई निकै जीवन्त रूपमा देखाएको छ । यस उपन्यासमा प्रयोग भएका मानव र पशु गुण रहेको हरि र बाँदर भएर पनि मानव भाषा बुझ्ने विवेक यसका जीवन्त उदाहरण हुन् । 

एकै प्राणीमा मानव, सिंह र बाँदरको डीएनए रहेको पक्षबाट यस उपन्यासले मानव र प्रकृतिको संयोजनको प्रयास पनि गरेको छ । विज्ञानमाथिका प्रकृतिका चुनौतीलाई पनि समेटेको छ । यहाँ उठाइएको गिद्ध, चिललगायतका पन्छीमा देखिएको अण्डा पातलो भएर फुट्ने समस्या, पशु गर्भ गर्भचक्र पूरा नगर्दै तुहेर जाने समस्यालाई निकै जीवन्त रूपमा अभिव्यक्त गरिएको छ । 

भौतिक विकाससँगै भएको मानव वस्ती विस्तार, जलासयको नष्ट आदिबाट भइरहेको जीवजन्तुको लोपका समस्यालाई निकै जीवन्त ढङ्गले प्रस्तुत गरिएको छ । औपन्यासिक कलाका बहुल तत्वहरूलाई संयोजित रूपमा प्रस्तुत गर्न सकेको यस कृतिमा केही कलात्मक र वैज्ञानिक प्राविधिक पक्ष काल्पनिक रहे पनि यसले उठाएको मुद्दा मानवीय चेतनाका विस्तारमा अत्यावश्यक पक्ष बनेर देखापरेको छ । 

यहाँ मातृत्व, भातृत्व र प्राणी–प्राणी बीचको अस्तित्वको खोज पनि त्यत्तिकै भएको छ । यस्तो नयाँ विषय र चेतनाको साहित्यिक कृति सिर्जनाका लागि राजु अधिकारी धन्यवादका पात्र बनेका छन् । उनको कलम यस्ता मौलिक विम्ब र विषयमा निरन्तर चलिरहोस् । यस्तो फरक विषयको कृति प्रकाशनबाट वी रिड प्रकाशनले नेपाली साहित्य जगतलाई विशेष गुन लगाएको छ । (पुस्तकको भूमिकाबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ