- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विद्वान् लेखक कमल रिजालको दार्शनिक लेखहरूको सँगालोको ‘पूर्वीय दर्शन विमर्श’ शीर्षकको प्रस्तुत कृति केही विभिन्न कालखण्डमा लेखिएका र विभिन्न पत्रपत्रिकामा प्रकाशित तथा केही अप्रकाशित रचनाहरूको सङ्ग्रह हो । यसरी सङ्गृहीत रचनाहरूलाई यस कृतिमा मुख्य गरी पाँच खण्डमा संयोजन गरिएको छ ।
आज विश्वले नै वैदिक ज्ञान, विज्ञान, संस्कृति र सभ्यता संसारकै प्राचीनतम ज्ञान भण्डार हो भन्ने स्वीकार गरिसकेको समयमा हामी भने यसको ध्वंश निम्त्याइरहेका छौँ । हामीले शिक्षा प्रणालीबाट संस्कृतजस्तो अथाह ज्ञानको भण्डारलाई पन्छायौँ । राष्ट्रभाषालाई अन्तर्राष्ट्रिय भाषाको नाउँमा कमाउ भाषा अङ्ग्रेजीद्वारा विस्थापित गर्दै गयौँ ।
यस्तोमा वेदको ज्ञान, वैदिक सभ्यता र संस्कृति बिर्सँदै जानु आश्चयको कुरा भएन । आश्चर्य चाहिँ वेदको अनुशरण गर्छौँ भनेर दाबी गर्नेहरू स्वयम् नै वेदको मर्म बुझ्नुभन्दा कण्ठस्थ गरी वेदज्ञाता भएको आत्मरतिमा रमाउनु हो । वैदिक भूगोल, समाज र वास्तविक इतिहासको अन्वेषण वेदकै अध्ययन गरेर हामी आफैँले गर्नुपर्ने थियो ।
हिमाली क्षेत्रको गहन अध्ययन, अनुसन्धान र पुरातात्विक उत्खनन हामी आफैँले गर्नुपथ्र्यो । भारतीय र पश्चिमी विद्वान्हरूको मात्र भर नपरी तिनका निष्कर्षको परीक्षण आफैँबाट हुनुपथ्र्यो । यस्तो नभई अन्धानुसरणमा लागिरह्यौँ । सामाजिक, सांस्कृतिक, ऐतिहासक, भौगोलिक दृष्टिले नेपालको प्राचीन वैदिक इतिहास निर्माण गर्नेतर्फ आँखा चिम्लिइरह्यौँ ।
मौलिक इतिहासका सामग्रीको अनुसन्धान गर्ने योगी नरहरिनाथहरू सधैँ छायाँमा परे, पारिए । तसर्थ धार्मिक–सांस्कृतिक साम्राज्यवादको बिस्तार रोकेर नेपाल महात्म्यको पुनरुत्थानबाट वैदिक समाजमा नेपालको गौरव पर्गेल्नु अबको प्राथमिता बन्नुपर्छ । यसो हुनसक्यो भने हामी अरू शिर उठाएर नेपाली हौँ भन्न सक्ने छौँ ! पौराणिक साहित्यको सही स्वरूप पहिल्याउँदै यसको पुनर्भाष्य गर्ने काममा विद्वत्वर्ग लागिपर्नु जरुरी छ ।
यसको प्रारम्भ विगतमा योगी नरहरिनाथ लगायत केही राष्ट्रवादी विद्वान्हरूबाट भएको पनि हो । वर्तमान समयमा शिथिल रहेको यो अभियानलाई अघि बढाउन लामो समयदेखि कमल रिजाल लागिपर्दै आएका छन् । यसकै प्रतिफल हो यो “पूर्वीय दर्शन विमर्श ।”
हामी धेरै लामो समय सहकर्मी रह्यौँ । गोरखापत्र दैनिक र संस्थानका प्रकाशनहरू हाम्रा कार्यक्षेत्र रहे । कमलजीले त्यतिबेलादेखि नै आफ्नो लेखनको क्षेत्र पूर्वीय धर्म–संस्कृतिलाई बनाएका हुन् । गोरखापत्र, युवामञ्च मात्र नभएर साहित्यिक मासिक मधुपर्क र मुनाजस्ता बालप्रकाशनमा समेत कमलको यो अभियान अनरवत चलिरहेको छ । कमलजीको त्यो लेखन यात्रा स्तम्भ र फुटकर लेखनमा मात्र सीमित रहेन ।
तिनै अनुभव र अध्यनबाट खारिएका कमलका कलमबाट गहन साहित्य र ग्रन्थहरूको सृजना हुँदै गएका छन् । यो लेखन यात्रा वैदिक समयका हाम्रा मन्त्रद्रष्टा वैज्ञानिक प्रतिभाहरूको परिचय दिने “विश्वविख्यात् वैदिक वैज्ञानिकहरू”, तीन भागमा प्रकाशित बालोपयोगी पौराणिक नीतिकथाको सँगालो “रत्न नीतिकथा सँगालो”, दर्शन विमर्श “दर्शनभित्रको दर्शन”, विशिष्ट पौराणिक पात्र र चरित्र तथा मिथक चिनाउने “विश्वविख्यात पौराणिक पात्र र मिथकहरू” नेपाली वाङ्मयका अमूल्य निधि बनेका छन् ।
यी सबैको परिपक्व अनुभवले कमललाई पुराण र दर्शनलाई विषयबस्तु बनाएर आख्यान जगतमा समेत प्रवेश गरायो । आख्यान, त्यसमा पनि उपन्यास लेख्नु सजिलो कुरा होइन । आधुनिक साहित्यका नाउँमा माटो र संस्कार–संस्कृति बिर्सिइएका टेबल गफलाई नै महानतम साहित्य भन्दै विज्ञापनको भरमा यथारूप यथाध्वनिको मित्थ्या लेखनमा रमाउने केही बाहेक शाश्वत साहित्यको सृजना कठिन कुरा हो । कमलले त्यस कठिन परीक्षामा पनि उच्चतम उत्तीर्णाङ्क प्राप्त गरिसकेका छन् । उनका वैदिक–पौराणिक चरित्र, समाज र शाश्वत मूल्य तथा अन्तरिक्षविज्ञानका साथै अन्धविश्वासलाई कथानक बनाएर लेखिएका “दृष्टिभ्रम”, “सुकर्म”, “पृथा”, “सत्यवती’’ जस्ता उपन्यास र “सुदर्शन”, जस्ता दार्शनिक पृष्टभूमिका लेख–निबन्ध सङ्ग्रह कृतिले यसको पुष्टि गर्छन् ।
माध्यमिक कक्षामा एक विषय अनिवार्य संस्कृत बाहेक संस्कृतको भाषासाहित्य अध्ययन गर्न नपाएकोले अहिले संस्कृत जान्दिनँ भन्दा ग्लानि हुन्छ । संस्कृत नजाने पनि यसको महत्व र आवश्यकता राम्ररी नै बुझेको छु । वेदको मूल पाठ छिचोल्ने त कुरै भएन । जेजति जानेँ, बुझेँ नेपाली र हिन्दीका भष्यान्तरबाटै बुझेको हुँ । त्यसैले यो जान्नु अधकल्चो जान्नु हो, अधकल्चो ज्ञान हो । त्यो अधकल्चो ज्ञानको भरमा कमलजीको यो वैदिक दर्शनसम्बन्धी गहिरो चिन्तन “पूर्र्वीय दर्शन विमर्श” को मन्तव्य लेख्ने आधिकारिकता ममा पटक्कै छैन तर पनि कहिले काहिँ धर्मसङ्कटबाट गुज्रनु पर्ने गरेको छ । त्यही धर्मसङ्कट टार्न पनि झुटो विद्वताको खोल ओढ्नु पर्दोरहेछ । विद्वान् मित्र कमल रिजालको “तैँले मन्तव्य लेखिदिनुपर्छ” भन्ने साधिकार आग्रहलाई अस्वीकार गर्नु असभ्यता हुनजान्थ्यो । त्यही भएर एउटा सामान्य पाठकीय धारणालाई मन्तव्यको जामा पहि¥याएकोछु, उठाउन नसक्ने भारी उठाउने जमर्को गरेकोेछु ।
सरसरती हेर्दा प्रस्तुत कृतिलाई पाँच खण्डमा विभाजन गरिएको छ । पहिलो खण्ड कृतिकै सर्वाधिक महत्वपूर्ण खण्ड हो । यसमा संसारकै सर्वाधिक प्राचीन वाङ्मय वेद र उपनिषद्का बारेमा गम्भीर चर्चा गरिएको छ । वेद र उपनिषद् वैदिक संस्कृति र सभ्यताको प्रमुख स्रोत हो । यस खण्डमा तिनै ज्ञान सभ्यताका स्रोतहरूको विशद् चर्चा गरिएका छन् । वेदभूमि नेपाल, वेदको अर्थ र विशेषता तथा वेद र ब्रह्मलाई चिनाउने अत्यन्तै सह्राहनीय काम भएको छ पुस्तकमा । विश्वकै प्राचीनतम वाङमय वेद र वेदपछिका उपनिषद्् पूर्वीय दर्शनको मात्र नभएर आर्ष संस्कृति र अमूल्य ज्ञानको समेत आदिम स्रोत हो । तिनलाई चिनाउन विद्वान् लेखकले राम्रै सफलता प्राप्त गरेका छन् । सबै कुराको उल्लेख गर्नु आवश्यक नहोला, पुस्तक पढेरै यस कृतिको गहनता बोध गर्न सकिनेछ ।
हामी वास्तवमा कस्तुरीमृग बनेर बाँचिरहेका छौँ । हामी आफैँ आफ्नो सुवासयुक्त पहिचान र गौरवको खोजी गर्न नसकेर अरूले फैलाइदिएका भ्रमहरूलाई नै यथार्थ सम्झने गर्छौँ । त्यही अर्काले सिर्जना गरिदिएका भ्रमकै कारण छिमेकतिरको ज्ञानले मस्तिष्कशोध गरिएका पुराणवाचक र कर्मकाण्डी पण्डितहरूले आफ्नो गौरवलाई अरुको भन्दै जनमानसमा घुसारिदिएका छन् । दक्षिणभारतीय संस्कृति र गौरवको विस्तार गर्ने दीर्घकालीन साम्राज्यवादी रणनीति अन्तर्गत उनीहरूले आफू अनुकूल गरेका तिनै भाष्यलाई हाम्रा पण्डितहरूले बिना ज्ञान, बिना अध्ययन यथावत घोकाउँदै रहे ।
वेद पुराणका सही अर्थबोेध नै नगरी प्रतीक र बिम्बलाई सोझो अर्थमा नरक, स्वर्ग, दान, धर्मका सीमित घेराभित्र कैद गराउँदै रोजीरोटीको व्यवस्था मिलाए । नभएका अन्धविश्वासका जालो फैलाए । त्यसरी जानीनजानी पुराणवाचक पण्डितहरूले ओझेल पारेका हाम्रो आफ्नो भूगोलको गरिमापूर्ण वैदिक पहिचानलाई उजागर गर्नमा लेखकले महत्वपूर्ण भूमिका खेलेका छन् । लेखकको यो प्रयत्न सर्वाधिक स्तुत्य छ । वैदिक संस्कृतिको विकास र वेदका मन्त्रद्रष्टा ऋषिहरूका अमर वैदिक सूक्तहरूको रचना र साधना हाम्रै नेपालभूमि अन्तर्गतका स्थानहरूमा गरिएको निर्विवाद तथ्य तिनै ग्रन्थहरूमा पाउन नसिकने होइन । त्यसैले नेपाल वेदभूमि भएको लेखकको तर्क शास्त्रीय प्रमाणसम्मत पनि छ ।
दोस्रो खण्ड पौराणिक दर्शन खण्डका रूपमा संयोजन गरिएको छ । यस खण्डमा अठार पुराणका विषयवस्तुलाई सङ्क्षिप्त चर्चा गर्नुका साथै तिनमा निहित दार्शनिक पक्ष केलाइएको छ । यस खण्डमा वैदिक धर्म र समाजको आचार, व्यवहार, समाजव्यवस्था प्रशासनजस्ता विविध पक्षमा गम्भीर छलफल गरिएको छ । बीचमा रहेका संस्कृति संरक्षण खण्ड र शब्द तथा सदाचार खण्डका महत्ता र विशेषता पनि उत्तिकै विशिष्ट छन् । अन्तिम वा विविध खण्डमा लेखकले विविध विषयलाई समायोजन गरी धर्मका नाउँमा भइरहेका अधार्मिक कुप्रथा बारे बताएका छन् ।
यसमा योग र हाम्रा प्राचीन जीवनपद्धतिबारे सान्दर्भिक चर्र्चाका साथै सामाजिक विकृतिका विरुद्ध भइरहेका प्रयासहरूबारे हाम्रै सन्दर्भमा चर्चा गरिएका छन् । यसले कृतिलाई थप रोचक, सान्दर्भिक र स्पष्ट बनाउनमा मद्दत मिलेको छ । वैदिक कालको दोस्रो चरणदेखि सङ्केत देखाएर पौराणिक कालमा झ्याङ्गिएको सनातन धर्मका सुन्दर परम्परा, अभ्यास र क्रियाकलाप तथा तिनका वैज्ञानिक पक्ष ओझेल परेर अन्धविश्वासले प्रश्रय पाउन थाल्यो । यस्ता बालविवाह, जातिप्रथा, बलिप्रथा, बोक्सीप्रथा जस्ता कुप्रथाले समाजलाई कलङ्कित तुल्याँउँदै गए । यस खण्डमा तिनको पनि बिस्तृत चर्चा गरिएको छ ।
लेखकले भनेजस्तै वेद विशाल वटवृक्ष हो, जसमा संसारभरकै मानिसले सुस्ताउने आवसर पाएका छन् । यही भएर नै वैदिक साहित्य संसारकै अमूल्य निधि बनेको छ । हामीले भने यसलाई बाँदरको हातको नरिवल बनाउँदै गयौँ । हामी वैदिक साहित्यको गरिरिएर अध्ययन गर्ने, यसको मर्मबोध गर्ने र यसका ज्ञान–विज्ञानको लाभ लिनेदिने तर्फभन्दा कण्ठस्थ गरेर आफूलाई वेदको ज्ञाता ठान्ने भ्रममा बाँच्यौँ । यही भ्रमका कारण ज्ञानभण्डारका यी अमूल्य ग्रन्थलाई पूजाकोठामा थन्क्यायौँ । ती अमूल्य ग्रन्थलाई पर्गेल्नेभन्दा जल, चन्दन, अक्षता छर्कंदै गलाउने, सडाउने मूर्खतापूर्ण अभ्यास गर्यौँ । पश्चिमी विद्वान्हरू भने यसलाई ज्ञान, विज्ञान र दर्शनको ठूलो भण्डारका दृष्टिले गहन अध्यन गर्दै गए । मनग्गे लाभ पनि लिए । हामी यसको सही भाष्य गर्नेतर्फ लागेनौँ ।
अरूले नै तिनका अनुकुल हुने गरी दिइएको भाष्य र टीकालाई नै सत्य ठान्दै आयौँ । हामी ब्राह्मणबाट कर्मकाण्डी बन्यौँ, धर्मको नाउँमा अन्धविश्वासको जालो फैलाएर शोषणको चक्र चलायौँ । धर्म कमाउ धन्दा बन्यो । दक्षिण भारतका पण्डितहरूको कर्मकाण्डी दाउपेच बुझेनौँ । वास्तविक दर्शन र सनातन धर्मलाई विकृत तुल्याउँदै गयौँ । कर्म अनुसारको वैदिक वर्णव्यवस्थालाई जातिप्रथाका रूपमा छुवाछूतको मानवीय कलङ्क बनायौँ । ज्ञान र शिक्षामा एकाधिकार राख्ने खेलमा आफ्नै दाजुभाइलाई निरक्षर र पराई बनाउँदै गयौँ । वेद, उपनिषद््का दार्शनिक पक्ष र सनातन धर्मका शाश्वत पक्षलाई भुल्दै गयौँ । यसरी पराई धर्मलाई स्वागत गर्ने सहज वातवरणको निर्माणमा गर्दै गयौँ ।
पौराणिक साहित्यमा प्रशस्त मिथक, बिम्ब र प्रतीक प्रयोग भएका छन् । तिनको माध्यमबाट जीवन र जगतलाई बुझाउने प्रयत्न गरिएको छ । प्राय दक्षिण भारतीय र भारतीका तथा अन्य विदेशी पण्डितहरूद्वारा गरिएका भाष्य र टीकाहरूले उनीहरूकै अनुकूल मलिलो जमिन तयार गर्दै गए । हामी उनीहरूकै सांस्कृतिक साम्राज्य र धार्मिक पर्यटनका प्रमुख स्रोत बन्दै गयौँ । तिनका यो अभियानलाई हाम्रा पुराणवाचकहरूले आँखा चिम्लेर जनमनमा व्यापक प्रसार गरिरहे, गरिरहेकै छन् । वैदिक सभ्यता फलेफूलेको नेपालको महिमा छोपिँदै गयो । यिनै कारण शास्त्रले अत्यन्त महत्व दिएका हाम्रा आफ्नै नदी, धाम, तीर्थ र पावनस्थलहरूलाई उपेक्षा गर्दै स्वर्ग र मुक्ति प्राप्तिको भ्रम छरिरह्यौँ । तिनै भारतीय भूगोलभित्रका चारधाम धाइरह्यौँ । हामी पण्डितहरूले तिनै झुटलाई सप्ताह, पुराणको नाउँमा प्रचार गर्दै गयौँ ।
पछिल्लो समयमा ती कुचक्रलाई चिर्ने प्रयास नभएको होइन । नेपालमहात्म्यको खोजी र प्रकाशन गरेर योगी नरहरिनाथले पहिलो महत्वपूर्ण पाइला चालेका हुन् । जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य यही प्रयासलाई निरन्तरता दिएर अभियानकै रूपमा अघि बढाइरहेका छन् । हाम्रा आधुनिक पण्डित भनिनेहरू, विश्वविद्यालय, प्रज्ञाप्रतिष्ठान नामधारी संस्थाहरूका भने अझै आँखा खुलेका छैनन् । यिनले गर्नुपर्ने राष्ट्रिय गौरव वृद्धिका लागि वैदिक भूगोल र संस्कृतिको खोजी, गहन अनुसन्धान, पौराणिक साहित्यको वास्तविक भाष्य तयार गर्नु गराउनु होइन र ? तर खोई ?
यो कहालीलाग्दो अवस्थामा विद्वान् लेखक कमल रिजालहरू आफ्नै सीमित साधन र स्रोतको भरमा समर्पित रहँदै आएका छन् । नेपाली गौरव विस्तारको महायज्ञमा समिधा थप्दैछन् । कमलजीको प्रस्तुत कृति यही महायज्ञमा थपिएको एउटा समिधा हो । यसका लागि उनलाई साधुवाद भन्नैपर्छ । यति महत्वपूर्ण कृति पढ्न र यसबारे केही लागेको कुरा राख्न अवसर दिएकामा मित्र कमल रिजालाई हार्दिक धन्यवाद दिँदै कृतिको सफलताका निमित्त धेरैधेरै शुभकामना दिन्छु । ( पूर्वीय दर्शन विमर्शको भूमिकाबाट)