arrow

नकोरिएका सन्दर्भहरू 

logo
प्रा.डा. हेमाङ्ग दीक्षित, 
प्रकाशित २०७९ पुष ९ शनिबार
nakoriyeka-sandharbhaharu.jpg

यो रोचक तथा अनुसन्धनात्मक पुस्तक ‘नकोरिएका सन्दर्भहरू’ (प्रा.डा. अञ्जनीकुमार शर्माको जीवनचरित)को पाण्डुलिपि पढ्दा डाक्टर अञ्जनीसँग बिताएका पलहरू फेरि पुनरावृत्त भएर आयो । म खुशी छु । किनभने डा. अञ्जनीले बिताएका जीवनका ती क्षणहरू, उहाँकै छोरी प्रा.डा. अनिता ढुङ्गेलले शब्दचित्रमा प्रस्तुत गरेकी छिन् । 

यस पुस्तकमा डा. शर्माको कार्यशैली सर्जरीमा मात्रै सीमित नभएर नेपाली समाजको उत्थानका लागि पनि गम्भीररूपले खट्नुभएको कुरा, विस्तृतरूपमा प्रस्तुत गरेकी छिन् । पुस्तक लेख्ने क्रममा अनिताले विभिन्न क्षेत्रका हस्तीहरूलाई उद्धृत गर्दैः जस्तो, महात्मा गान्धी, महाकवि लक्ष्मीप्रसाद देवकोटा, आदिकवि भानुभक्त आचार्य, कविशिरोमणि लेखनाथ पौड्याल, रवीन्द्रनाथ टैगोर, कृष्णप्रसाद पराजुली, डिल्लेन टोमस, स्यामुअल टेलर कोलोरिज, आदि जस्ताका कृतिहरूद्वारा डा. शर्माको काम गर्ने शैलीको चित्रण गर्ने कोसिस गरेकी छिन् । 

यो पुस्तक जीवनचरितमा मात्रै सीमित छैन । यसले हाम्रो समाजको साहित्यिक तथा सामाजिक वस्तुस्थितिको बारेमा पनि जानकारी दिएको छ । त्यसैले, मेरो सबैमा विनम्र अनुरोध छ, यो पुस्तक पढ्नु होला । मलाई विश्वास छ, पाठकलाई यसले उर्जा नै दिनेछ । 

डा. अञ्जनीसँग मेरो पहिलो भेट शायद केनसिङ्टन प्यालेस गार्डेन, लन्डनको ‘रोयल नेपलीज एम्बेसी’मा भएको थियो । दोस्रो पटक उहाँसँगको मेरो भेट, एडिनबराको स्कटल्यान्डमा भयो । म त्यहाँ सप्ताहन्तमा घुम्नका लागि पुगेको थिएँ, सन् १९५९÷६० तिर । एडिनबरा बजार घुम्न जाँदा त्यस बखत डा. अञ्जनी र म, ग्रेफ्रायर बबिको (स्काइ टेरियर जातको कुकुर) प्रतिमालाई बीचमा पारी फोटो खिचेका थियौँ । त्यो फोटो आज पनि मसँग सम्झनाको रूपमा छ । ग्रेफ्रायर बबि कुकुरको एउटा बेग्लै कथा छ । 

कथा यस्तो छः त्यस कुकुरले आफ्नो मालिकको चिहान चौध वर्ष आफैँ नमरुन्जेलसम्म कुरेर बस्यो । मानिसहरूले प्रलोभन दिएर कुकुरलाई त्यहाँबाट हटाउन धेरै कोसिस गरे । तर त्यो डेग सरेन । उसको मालिकप्रतिको निष्ठा र माया देखेरै कुकुर मरेपछि, त्यहाँको नगरपालिकाले निष्ठा र मायाको बिम्बका रूपमा शालिक खडा गरेको थियो । शायद, डा. शर्माले निष्ठाको पाठ त्यहाँबाट पनि सिक्नुभएको थियो । जुन उहाँ आफ्नो कार्यशैलीबाट प्रतिबिम्बित गरिराख्नुहुन्थ्यो ।

सन् १९६५, नोभेम्बरमा काठमाडौं फर्किएपछि मैले वीर अस्पतालमा काम गर्न थालेँ । त्यो समयमा डा. अञ्जनी, डिपार्टमेन्ट अफ सर्जरीको हेड हुनुहुन्थ्यो । जुन बेलादेखि मैले बालरोग विशेषज्ञको नियुक्ति पाएँ, त्यो समयदेखि नै मेरो उहाँसँगको पेशागत सङ्गत बढ्यो । किनभने समय समयमा बालरोगमा पनि सर्जरी गर्नुपर्ने अवस्था आउँथ्यो । त्यस्ता सर्जरी गर्नुपर्ने केस उहाँलाई नै सिफारिस गर्थें । सोही अवधिमा उहाँको काम गर्ने शैलीका कारण म झनै निकट भएँ ।  
 
नितान्त निजी कुरा गर्दा डा. अञ्जनीको तीनै जना छोराछोरीहरूको  बाल्यावस्थाकालीन उपचार मैले नै गर्थें । विशेषतः अनितालाई दादुरा आई निमोनिया भएर अक्सिजन नै दिनुपर्ने स्थिति सिर्जना हुँदा, मैले नै उनको उपचार गरेको हुँ । 

डा. अञ्जनी नेपाल मेडिकल एसोसिएसनको अध्यक्ष हुँदा (सन् १९७५देखि ७७ सम्म), मेरो उहाँसँगको व्यक्तिगत सम्पर्क झन् गहिरियो । किनभने संस्थाको कार्यसमितिमा म उपाध्यक्ष थिएँ । उहाँ एसोसिएसनको अध्यक्ष हुँदा धेरै कामहरू भएका छन् । खासगरी, विभिन्न सरकारी अस्पतालहरूको कार्यशैली तथा डाक्टरलाई काम गर्न सहज वातावरण सिर्जना गर्नुपर्ने र सुधार ल्याउनुपर्ने कुरामा विशेष जोड दिनुभएको थियो । 

यस विषयलाई उहाँले गम्भीररूपले लिनु भएको थियो । जुन उहाँले आफ्नै लेख ‘फिफ्टी इयर्स अफ एनएमए’ मा लेख्नु भएको छः (हाम्रो माग श्री ५ को सरकार सामु पेश गरेका थियाँै । सरकारद्वारा दीर्घकालीन स्वास्थ्य परियोजना (वि.सं. २०३२—४७) बनाउँदा एनएमएबाट पनि एउटा प्रतिनिधिको व्यवस्था गर्नु भन्ने सुझाव आएको थियो । यस सुझाव अनुसार नेपाल मेडिकल एसोसिएसनको अध्यक्ष पनि त्यस समितिमा हुनुपर्ने थियो । तर मैले त्यस मिटिङमा छलफलमा भएका विषयवस्तुहरू एनएमएका साथी सदस्यहरूसँग साझा गरी छलफल गर्न नपाउने भन्ने बाध्यता निर्माण भएपछि म त्यस कमिटीबाट बाहिरिएँ ।) 

गणतन्त्र चीनको मेडिकल एसोसिएनले नेपाल मेडिकल एसोसिएसनलाई दुई हप्ताको अवलोकन भ्रमणमा निम्त्याएको थियो । डा. अञ्जनीले ‘म गइसकेको छु । त्यसैले तपाईं ११ सदस्यहरूको नेतृत्व गर्दै चीन जानुस्’ भन्नुभयो । उहाँको यस सद्भावप्रति म आभार व्यक्त गर्दछु । 

डा. शर्माले एनएमए नेतृत्वकालमा जर्मन मेडिकल एसोसिएसनसँग सम्पर्क स्थापना गर्नुभएको थियो । जसउप्रान्त, सोही संघले नेपाललाई वल्र्ड मेडिकल एसोसिएसनको सदस्य हुन प्रायोजन गर्यो ।
त्यसबाहेक, डा. अञ्जनीले नेपाली समाजलाई स्वास्थ्य क्षेत्रमा जानकार बनाउन अनेक सेवामूलक कार्यहरूमा आफ्नो जीवन समर्पित गर्नुभयो । 

उहाँले स्तन क्यान्सरदेखि लिएर अरू विभिन्न खालका क्यान्सरहरूको कारक, जस्तो चुरोट पिउने, खैनी सुर्ती चपाउने जस्ता कुलतले के कति खराबी गर्छ भन्ने कुरा, लायन्स क्लब र नेपाल क्यान्सर सोसाइटीबाट जानकारी गराउन हरसम्भव प्रयास गरिराख्नु हुन्थ्यो । 

डा. अञ्जनीले शिक्षण अस्पतालमा पढाउँदाखेरि मेरो उहाँसँगको सम्पर्क अझै नजिकियो । उहाँले त्रिवि शिक्षण अस्पतालको प्रोफेसर र हेड अफ सर्जरी भएर काम गर्नुभयो । त्यसबाहेक उहाँ नेपाल मेडिकल कलेज, जोरपाटीको संस्थापक सदस्य पनि हुनुहुन्थ्यो । चिकित्सा शिक्षामा उहाँको ठूलो देन छ ।

मैले यो कुरा आज भन्नु नै पर्छः उहाँ जनसम्पर्कमा मास्टर अफ द आर्टस हुनुहुन्थ्यो । उहाँको घरमा भोजका धेरै कार्यक्रमहरू भइरहन्थे । म पनि उहाँको घरमा भएको भोजहरूमा, परिवारसहित धेरै पटक सहभागी भएको छु । 

ती भोजहरूमा उहाँले आफ्नो साथीभाइ बाहेक आफुसँग काम गर्ने जुनियर डाक्टर तथा नर्सिङ स्टाफहरूलाईसमेत बोलाएर सधैँभरि खुसी बाँडिरहनु हुन्थ्यो । उहाँ जाँगरिलो, उज्यालो, र खुश मनस्थितिको व्यक्ति हुनुहुन्थ्यो । 

उहाँको देशभक्तिप्रति सदैव नतमस्तक नै हुनुपर्छ । उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । (‘नकोरिएका सन्दर्भहरू’ को भूमिकाबाट)

केही टिप्पणी

विधिको विधान नै भन्नुपर्छ ‘फादर अफ अङ्कोलोजी’ को मरण क्यान्सरकै कारण भयो । दुःखको कुरा जीवनभर क्यान्सर रोगको उपचार धेरैलाई गरेको तथा क्यान्सर अस्पतालको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका डा.शर्मा आफै क्यान्सर पीडित भएको र क्यान्सरकै कारण उहाँको चोला उठेको प्रसङ्ग निकै दुःखद लाग्छ । 

राजदरबारका शाही चिकित्सकदेखि जनताका सेवकसम्म आफ्नो जीवनकालमा देखिएका डा. शर्माले धेरै राम्रा कार्यहरु गरेको प्रमाण नेपाल मेडिकल कलेजको स्थापना, भक्तपुर क्यान्सर अस्पतालको स्थापना, नेपालमा लायन्सक्लबको स्थापना लगायत थुप्रै शुभकार्यहरुको फेरिहस्त पुस्तकमा पढ्न सकिन्छ । 

अर्को कुरा छोरीले बाबुलाई गरेको मायाको चिनो हो यो नकोरिएका सन्दर्भहरु पुस्तक । आफ्नो पिता डा.शर्माको मृत्यु पछि छोरी अनिताले बाबुका स्मृतिहरु जस्ताको तस्तै उतारेर पुस्तक तयार गरेको देख्दा, एउटी छोरीले आफ्नो बाबुलाई दिएको मायाका अनमोल लिला अक्षर भएर पुस्तकमा तैरिरहेको छ । 

समाजसेवी कर्ण शाक्यको भनाइमा डा.अञ्जनीकुमार शर्मा– ‘क्यान्सर रोगप्रतिको सचेतना अभियानमा डा.अञ्जनीकुमार शर्मा र म धेरै लाग्यौँ । वास्तवमा, उहाँ क्यान्सर रोगको उपचार, निदान र सेवाका लागि कमिटेड हुनुहुन्थ्यो । म दावा गर्छु– उहाँजस्तो डेडिकेटेड डाक्टर क्यान्सरको क्षेत्रमा अरु कोही छैन । यो मैले यत्तिकै भनेको होइन । डाक्टर शर्माको काम मैले देखेको छु । यस किसिमको कार्यमा अन्तरआत्मादेखि नै लाग्नुहुन्थ्यो । उहाँको क्यान्सर उपचारप्रतिको योगदानलाई कसैले भुल्न सक्दैन । भुल्न मिल्दैन पनि ।’ 

रोगीलाई उपचार गर्ने अनौठो जादु डा. शर्मामा रहेछ । त्यस समयमा अत्याधुनिक औजार बिना नै बडामहारानी रत्नको शल्यक्रिया गरेका शर्मालाई दरबारले पत्याएको थियो । पछि रानी ऐश्वर्यको पनि शल्यक्रिया गरेका प्रसङ्ग पनि पुस्तकमा उल्लेख गरिएका छन् । 

‘धुम्रपानः लिन्छ ज्यान’ को नारासँगै प्रत्यक खिल्ली चुरोटमा एक पैसा स्वाथ्य कर लगाउने अभियान पर्यटन व्यवसायी कर्ण शाक्यसँगको सहकार्यमा सफल भएको प्रसङ्ग उल्लेख छ । 

डा. ज्ञानू पाण्डे (प्राध्यापक, त्रिविवि) 

( कृतिको अन्तिम पृष्ठको ब्लर्बबाट)
प्रस्तुत नकोरिएका सन्दर्भहरू (प्रा.डा. अञ्जनीकुमार शर्माको जीवनचरित) अंग्रेजी साहित्यकी प्राध्यापक अनीता ढुङ्गेलद्वारा नेपालीमा लेखिएको पहिलो पुस्तकाकार कृति हो । 

यस कृतिले अनीतालाई नेपाली साहित्यका पाठकमाँझ सुरुमै जीवनीकारको परिचयमा अगाडि ल्याएको छ । स्मरणीय छ, नेपाली साहित्यमा यस विधामा कलम चलाउने नारीस्रस्टाहरूको संख्या उति धेरै छैन । 

त्यसमाथि पनि पुत्रीको कलमबाट पिताको जीवनीबारे लेखिएको पुस्तक पढ्न पाउनु भनेको त अझै दुर्लभ कुराजस्तो भइरहेको अवस्था छ हाम्रोमा । यस परिप्रेक्ष्यलाई दृष्टिगत गरी भन्नुपर्दा अनीताको यो आगमन ‘निकै महत्वपूर्ण हो’ लागेको छ मलाई । 

आफ्ना पिताजी प्रा.डा. अञ्जनीकुमार शर्माप्रतिको असीम श्रद्धा र सम्मानको अभिप्रेरणाले उठेको कलमले यस कृतिभित्र अनीताले उनको आदर्श जीवनको इतिवृत्तान्तलाई एक्कैसाथ औपचारिक र अनौपचारिक भंगिमामा पस्केकी छिन् । हार्दिकतापूर्ण शैलीको मिठासले सिंगारिएको यस कृतिमा उनले आफ्ना पिताजीको जीवनका विभिन्न पक्षहरूमाथि प्रकाश पार्ने क्रममा ठाउँँ–ठाउँमा विभिन्न कविका कविताका हरफहरू उद्धृत गर्नुका साथसाथै विभिन्न महत्वपूर्ण वाणीहरूसमेत सम्झन भ्याएकी छिन् । 

त्यति मात्र होइन, यसमा उनले अनुसन्धान विधिको सैद्धान्तिक प्रयोग गरी जीवनी लेखनका क्षेत्रमा नयाँ ढाँचा पहिल्याउनसमेत चासो देखाएकी छन् । मलाई लाग्छ, यी आदि कारणले गर्दा उनको यो कृति विशेष पठनीय बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ