arrow

कांग्रेसमा असफल र असक्षम ‘सभापति टोली’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ११ सोमबार
sher-bahadur-deuba-arzu.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वको नितान्त व्यक्तिगत लोभले गर्दा सङ्घीय र प्रदेशको चुनावमा राम्रो नतिजा ल्याएर पनि कतै केही नपाउने स्थिति बनेको छ । गठबन्धन गरिसकेपछि त्यसको मर्मअनुसार चल्न नसकेर दम्भ देखाउन थालेपछि कांग्रेसको नेतृत्व असफल भएको छ । 

मूल नेतृत्वको पदाधिकारीहरूलाई बहिस्कार गरेर एक्लै हिँड्ने अठोटले असफलताको श्रेय एक्लै बोक्नु परेको छ । यसरी राजनीतिमा लामो समय सहकार्य गरेकाहरूले राजनीतिक आँकलन गर्न नसक्नु नै सभापतिको टोली असफल हुनु हो । 

कांग्रेसको सभापति टोलीको असक्षमताले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभामुख–उपसभामुखलगायत सङ्घीय मन्त्रीमण्डल र प्रादेशिक मन्त्री मण्डलमा सजिलै आफ्नो भाग पाउने स्थितिबाट सिधै केही नपाउने स्थितिमा पुगेको छ । कांग्रेस हेरेको हेर्यै स्थितिमा रहेको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा नेपालको ४४औँ प्रधानमन्त्रीका रूपमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नियुक्त गरेकी हुन् । प्रचण्डलाई प्रतिनिधिसभाका १ सय ६९ जना सांसदको समर्थन रहेको छ । 

प्रचण्डले ती सांसदहरूको समर्थनसहित राष्ट्रपतिसमक्ष दाबी पेस गरेका थिए । उनलाई माओवादी र एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र राष्ट्रिय उन्मुक्त पार्टीको समर्थन रहेको छ । सोमबार अपरान्ह ४ बजे शपथ ग्रहणको कार्यक्रम रहेको छ । सोही शपथ ग्रहणपछि प्रचण्डले सानो आकारको मन्त्रिपरिषद गठन गर्ने छन् । जहाँ एमालेको नेतृत्व उपाध्यक्ष विष्णु पौडेलले लिनेछन् । 

आरजू देउवा राणाको ‘बढी’ सक्रियता
अहिलेको नेतृत्व जसमा सभापति शेरबहादुर देउवा भन्दा बढी उनकी पत्नी आरजू राणा देउवाको देखिएको छ । उनलाई साथ दिन कांग्रेस केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की उनको हरेक इसारालाई मान्थे र त्यही इसाराका कारण सभापतिलाई प्रधानमन्त्री पद नछाड्न सल्लाह दिए कांग्रेसको अस्तित्व नै सङ्कटमा ल्याउने काम गरे । 

सभापतिले पत्याएका मान्छेले गलत सल्लाह दिँदा र नियमित बैठकमा रहने उपसभापति पूर्णबहादुर खड्का, नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, बिमलेन्द्र निधीहरुले पनि प्रधानमन्त्री पद माओवादीलाई दिँदा धेरै फाइदा कांग्रेसलाई हुन सक्ने आँकलन गर्न सकेनन् वा उनीहरूको कुरा पनि सुनिएन यो उनीहरूले नै बताउन सक्छन् । 

बालुवाटारमा पछिल्लो समयमा हुने गरेको गतिविधिमा केन्द्रीय सदस्य आरजू राणा नै सक्रिय रहनु पनि कांग्रेसका लागि घातक साबित भयो । 

सभापति पत्नीको लोभ, दम्भ र शासन सत्ताप्रतिको उन्मादले कांग्रेसले सजिलै धेरै लाभ पाउनेबाट सिधै केही नपाउने र केही नरहने स्थितिमा पुगेको छ । 

पदाधिकारीहरूलाई वास्ता नगर्नु
सभापतिले आफ्ना पदाधिकारी भन्दा बाहिरका नेताहरूलाई विश्वास गर्नु ठीकै हो तर पदाधिकारीहरूलाई पनि समेट्न सकेको भए अहिले असफलताको अपजस एक्लै लिन पर्ने थिएन । 

कांग्रेसका पदाधिकारीहरूमा उपसभापति पूर्णबहादुर खड्का मात्र सभापतिको टोलीमा अटाएका थिए । उपसभापति धनराज गुरुङ, प्रभावशाली महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू लगायतसँग छलफल गर्न पनि आवश्यक ठानेन सभापतिको टोलीले ।

जनता र कार्यकर्तामा राम्रो छाप छाडेका पार्टीका महामन्त्रीद्वयलाई बाहिर राखेर के सन्देश दिन खोजेको भन्ने जवाफ पनि सभापतिको टोलीले दिनपर्ने हुन्छ ।

ओलीको बोलीमा विश्वास 
कांग्रेस नेता विमलेन्द्र निधीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । उक्त भेटमा ओलीले निधीलाई प्रचण्डलाई आफूले कुनै हालतमा समर्थन नगर्ने भनेर आश्वस्त बनाएर पठाएका थिए ।

एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति देउवालाई सरकार निर्माणमा सहयोग गर्ने बताएका थिए । उनीहरू दुईबीच टेलिफोन कुराकानी हुँदा राष्ट्रपतिले दिएको समय सोमबार साँझ ५ बजे० सम्म कुर्न देउवाले भनेका थिए । 

एमालेले प्रचण्डलाई समर्थन गर्ने निर्णय भएपछि ओलीलाई फोन गरेका देउवाले ‘सरी, लेट भयो’ भन्ने जवाफ पाएका थिए ।

असफल आँकलन 
कांग्रेस सभापतिको टोली संविधानको धारा ७६ (२) अनुसार सरकार बन्न सक्दैन र ७६ (३) अनुसार सबैभन्दा ठूलो दलको रूपमा सरकार बनाउन पाइन्छ भनेर ढुक्कसँग बसेको थियो । 

ओलीको त्यही आश्वासनले बालुवाटारमा सभापति र टोलीको आत्मविश्वास बढेको थियो । सभापति टोलीले राप्रपा र रवि लामिछानेको पार्टी सरकारमा सामेल भइहाल्छ भन्ने आँकलन गर्न सकेन । 

यही आँकलनमा ढुक्क बसेको कांग्रेसको सभापति टोली आफ्नो सुझबुझ देखेर दङ्ग परिरहँदा उता बालकोटमा १ सय ६९ जना सांसदको हस्ताक्षर तयार भइसकेको थियो । 

१ सय ६९ जना सांसदको हस्ताक्षर तयार हुन एक छिनको छलफलमा सम्भव नै छैन । यसका लागि लामो समयको छलफल र लेनदेनको हिसाबकिताब भइरहेको सभापति टोलीले भेउ नै पाएन । 

यसबारेमा हाम्राकुरा टिमले केही समयअगाडिदेखि नै लेखिरहेको थियो । 

यसरी असक्षमहरूको टोली जम्मा गरेर कांग्रेसलाई हिस्स बनाउने काम गरिएकोमा सभापति टोलीका सदस्यहरूले समय आएपछि प्रतिक्रिया दिने नै छन् । 

अहिले तुरुन्त बोल्न लाज र दम्भ दुवैले रोकेको हुनसक्छ । केही समय कुरौँ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ