- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्टार खेलाडी गाब्रियल जेसुस घाइते भए पनि बुकायो साका र एडी एनकेटीयको उत्कृष्ट प्रदर्शनमा माइकल अर्टेटाको आर्सनलले इङ्गलिश प्रिमियर लिगमा सात अंकको अग्रता बनाएको छ ।
बक्सिङ डे अर्थात सोमबार राति भएको खेलमा आर्सनलले पुनरागमन गर्दै वेस्टहाम युनाइटेडलाई ३–१ ले हरायो । खेलको २७औं मिनेटमा साइड बेन्राहमाले पेनाल्टीमा गोल गर्दै भ्रमणकारी टोली वेस्टहामलाई पहिलो हाफमा अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा घरेलु टोली आर्सनलले खेलमा पुनरागमन गर्यो । मार्टिन ओडेगार्डको पासमा बुकायो साकाले बराबरी गोल गरेका थिए । ग्रानिट छाकाले मिलाएको बललाई गाब्रियल मार्टिनेलीले गोल गर्दै २–१ को स्थितिमा ल्याए ।
इडवार्ड एनकेटियले ६९औं मिनेटमा गोल गर्दै आर्सनललाई महत्वपूर्ण तीन अंक दिलाए ।
अन्य खेलको नतिजा–
जितपछि आर्सनलले १५ खेलबाट ४० अंक जोडेको छ । दोस्रो स्थानका न्युक्यासल युनाइटेडको ३३ अंक छ । म्यानचेस्टर सिटीको भन्दा सात अंक फरक हो । सिटीले बुधबार लिड्स युनाइटेडसँग खेल्दैछ ।
टोटनह्याम हट्सपर ब्रेन्टफोर्डसँग २–२ गोलको बराबरीमा रोकिएको छ । फुल्हमले क्रिस्टल प्यालेसलाई ३–० ले हरायो ।
एभर्टन घरेलु मैदानमा वुल्भरह्याम्पटन वान्डेरर्ससँग २–१ ले पराजित भयो । लेस्टर सिटी घरेलु मैदानमा न्यूकासल युनाइटेडसँग ३–० ले पराजित भयो ।
साउथ ह्याम्पटन पनि घरेलु मैदानमा ब्राइटनसँग ३–१ ले पराजित भयो । लिभरपुलले एस्टन भिल्लालाई उसकै मैदानमा ३–१ ले हरायो ।
आजका खेल
राति ११ः१५ बजे चेल्सीले घरेलु मैदानमा एएफसी बर्नमाउथसँग खेल्नेछ । यस्तै बिहान १ः४५ बजे म्यानचेष्टर युनाइटेडले घरेलु मैदानमा नटिंघम फरेस्टसँग खेल्नेछ ।
अंक तालिका
अहिलेसम्म १५ खेलमा ४० अंकसहित आर्सनल शीर्ष स्थानमा रहेको छ । लामो समयपछि आर्सनल यतिधेरै समय शीर्ष स्थानमा रहेको पहिलो पटक हो ।
नयाँ शताब्दीमा आर्सनल उपाधिबाट विमुख छ । दोस्रो स्थानको न्यूकासल १६ खेलबाट ३३ अंकसहित दोस्रो तथा १४ खेलबाट ३२ अंकसहित म्यानसिटी तेस्रो स्थानमा छ ।
१६ खेलबाट ३० अंकसहित टोटनह्याम चौथो तथा १४ खेलबाट २६ अंकसहित म्यानचेष्टर युनाइटेड पाँचौं स्थानमा छ । १५ खेलबाट २५ अंकको लिभरपुल छैटौं स्थानमा छ ।