arrow

युरोपेली सङ्घका चुनौती सामना गर्न मार्गचित्र तयार

logo
प्रकाशित २०७३ असोज १ शनिबार
EUmember.jpeg
ब्राटिस्लाभा (स्लोभाकिया)। युरोपेली सङ्घको सदस्य राष्ट्रका नेताहरुले यस चुनौतीको सामना गर्न मार्गचित्र बनाएका छन् । 
 
सदस्य राष्ट्रहरुको सम्मेलनले संयुक्त घोषणापत्रको रुपमा शुक्रवार मार्गचित्र बनाएको स्लोभाकियाका प्रधानमन्त्री रोवर्ट फिकोले बताए । 
 
सङ्घको अनौपचारिक सम्मेलनमार्फत् पारित भइसकेको सो मार्गचित्रमा बसाइसराई, आतङ्कवाद र आर्थिक तथा सामाजिक असुरक्षाका चुनौतीलाई सामना गर्ने उल्लेख गरिएको छ । घोषणापत्रका अनुसार, सङ्घका सदस्य राष्ट्रहरुले अनियमित बसाईसराई र बाहिरी सिमानामा नियन्त्रण गर्नेछन् । 
 
सङ्घका नेताहरुले बसाइसराईका सम्वन्धमा टर्कीसँग भएको सम्झौता कार्यान्वयन गर्न साथ दिने र बुलगेरियासँग टर्कीको सिमाना व्यवस्थित गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् । 
 
सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री फिकोले सम्मेलन सफल भएको बताउँदै सङ्घको अहिलेको अवस्था र बेलायतविनाको सङ्घलाई सकारात्मक नतिजातर्फ डोर्‍याउनका लागि सम्मेलनले सहयोग पुर्‍याएको जानकारीदिए । “सङ्घको वर्तमान अवस्था सुधारका बारेमा नेता निकै संवेदनशील हुनुभएको छ,” फिकोले भने । 
 
उनले सम्वृद्धि, स्थायीत्व र सुरक्षालाई सुनिश्चीत गर्नेतर्फ सङ्घ निरन्तर लागिरहने बताए । “ब्राटिस्लाभा मार्गचित्र एउटा निकै महत्वपुर्ण दस्तावेज हो, जसले हामीलाई अर्को सम्मेलनका लागि पनि सहयोग गर्दछ,”– युरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टास्कले भने । 
 
आन्तरिक सुरक्षा, नागरिकको पहिचान र सङ्घको बाहिरी सिमानाका बारेमा पनि नेताहरुले गम्भीर चासो व्यक्त गरेको उनले बताए  । आर्थिक र सामाजिक विकास, रणनितिक लगानी, पूर्वलगानीको समिक्षा, फरकफरक एकल र विद्युतीय बजारका बारेमा पनि सङ्घका नेताहरुले गम्भीर छलफल गरेका छन् । 
 
मार्गचित्रका बारेमा अबको छ महिनासम्म छलफल हुने र रोम सम्झौताको ६०औँ वार्षिकोत्सवका अवसरमा आगामी मार्चमा इटालीको रोममा हुने अर्को सम्मेलनले यसलाई अन्तिमरुप दिने भएको छ । यद्यपी जर्मनीकी चान्सलर एन्जेला मर्केलले युरोपेली सङ्घले अहिले सङ्कटकालीन अवस्था झेलीरहेको बताएकी थिइन् । 
 
युरोपेली सङ्घबाट बेलायत बहिर्गमनपछिको योजना बनाउन आयोजित सम्मेलनमा सहभागी हुन स्लोभाकियाको राजधानी ब्राटिस्लाभा पुग्नुभएकी मर्केलले शुक्रवार यस्तो चिन्ता व्यक्त गरेका थिए  । 
 
“हामी सङ्कटपूर्ण अवस्थामा छौँ, हामीले यसलाई चाँडै नै राम्रो अवस्थामा पुराउने छौँ भन्ने कुरा व्यवहारमा देखाउन आवश्यक छ,” उनले संवाददातालाई भनेका थिए । 
 
बेलायत बाहिरिएपछिको इयुको मार्गचित्र बनाउने उद्देश्यले आयोजना गरिएको उक्त बैठकमा बेलायतबाहेक २७ देशका नेताको सहभागीता रहेको थियो । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ