arrow

सुकी म्यानमारकी भावी प्रजातन्त्रवादी नेत्री : पूर्व सैनिक शासक स्वे

logo
प्रकाशित २०७२ मंसिर २० आइतबार
suki.jpg.jpeg
याङ्गोन । म्यानमारका पूर्व सैनिक शासक थाँ स्वेले म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ् सान सुकीलाई म्यानमारको भावी नेत्रीको सङ्ज्ञा दिनुभएको छ । एक समयका शक्तिशाली सैन्य शासक रहेका उहाँले पहिलो पटक नेत्री सुकीलाई यो सम्बोधन गर्नुभएको बताइएको छ । सैनिक जर्नेलका रुपमा उहाँले म्यानमारमा शासन चलाउनुभएको थियो । सन् २०१० सम्म उहाँले करिब दुई दशक सैनिक शासकका रुपमा काम गर्नुभएको थियो । 
 
उहाँ र म्यानमारकी प्रजातन्त्रवादी नेत्री सुकीबीच शुक्रबार भेटवार्ता भएको बताइएको छ । सो भेटपछि उहाँले नेत्री सुकीलाई म्यानमारको भावी नेत्रीका रुपमा चित्रण गर्नुभएको बताइएको छ । म्यानमारमा आमनिर्वाचन भएको करिब एक महिनापछि पूर्व सैनिक शासकको यो प्रतिक्रया आएको छ । शनिबार मात्र पनि म्यानमारका राष्ट्रपति थाँ सेनले आफूले उपयुक्त समयमा नै शक्ति हतान्तरणसम्बन्धी वाचा गर्नुभएको थियो । 
 
राष्ट्रपति थाँले केही दिनअघिमात्र पनि म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ् सान सुकीसँग भेटवार्ता गर्नुभएको थियो । सो भेटवार्तापछि राष्ट्रपति थाँले यो अभिव्यक्ति दिनुभएको थियो । त्यसलगत्तै आइतबार पूर्व सैनिक जर्नेल स्वेको यो अभिव्यक्ति आएको छ । यस अभिव्यक्तिपछि म्यानमारमा सैनिक शासकहरुले सहजै शक्ति हस्तान्तरण गर्ने देखिएको विश्लेषकहरुको भनाई छ । 
 
गत नोभेम्बर ८ मा म्यानमारमा सम्पन्न आमनिर्वाचनमा सुकीको पार्टीले प्रचण्ड बहुमत हासिल गरेको छ । सो निर्वाचनमा सुकीको दल नेसनल लिग फर डेमोक्रेसिले करिब दुई तिहाई बहुमतकै हाराहारीमा विजय हासिल गरेको थियो । सैनिक शासकहरुले विगतको आमनिर्वाचनपछि प्रजातान्त्रिक दललाई सरकार गठन गर्न नदिएकोले हालैको निर्वाचनपछि पनि सुकीको दल भने चिन्तित रहेको बताइएको छ । 
 
साथै नागरिकमा पनि सुकीको दलले नयाँ सरकार गठन गर्न पाउने वा नपाउने भन्ने बारेमा चिन्ता छाएको पाइएको छ । तर यस समयमा आएका यी दुई सैनिक जर्नेलका भनाईपछि जनतामा नयाँ सरकार निर्माणको आशा छाएको बताइएको छ । सन् १९९० मा सैनिक शासनले गराएको निर्वाचनमा सुकीले विजय हासिल गरी प्रधानमन्त्रीको पदका लागि निर्वाचित हुँदा पनि सरकार गठन गर्नबाट वञ्चित गराइएको थियो । 
 
राष्ट्रपति सेन र सुकीबीच गतहप्ता मात्र वार्ता भएको राष्ट्रपति कार्यालयले एएफपी समाचार समितिलाई बताएको थियो । त्यस वार्तापछि शनिबार मात्र पनि राष्ट्रपतिका तर्फबाट उपयुक्त समयमा र सहजै नवनिर्वाचित दललाई शक्ति हस्तान्तरण गर्ने प्रतिबद्धता आएको बताइएको हो । नेत्री सुकीलाई पूर्व सैनिक जर्नेल स्वेले नै पक्राउ गरी नजरबन्दमा राख्ने आदेश दिएका थिए । उनैको शासनअवधिमा सुकी जेल पर्नुभएको हो । बयासी बर्षीय पूर्व सैनिक जर्नेल स्वेको यो अभिव्यक्तिबाट नोभेम्बरको निर्वाचनपछि नयाँ सरकार गठनको पर्खाइमा रहेको सुकीको दललाई थप राहात मिलेको बताइएको छ । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ