- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । लिभरपुलले इङ्गलिश प्रिमियर लिग फुटबलमा हार बेहोरेको छ । लिभरपुलले ब्रेन्टफोर्डलाई ३–१ को नतिजा सुम्पिएको हो । लिभरपुल १७ खेलमा २८ अंकसहित छैटौं स्थानमा छ । ब्रेन्टफोर्ड भने १७ खेलमा २६ अंकसहित सातौं स्थानमा छ ।
यो हारले भने लिभरपुलको उपाधि होड त टाढिँदै गएको छ नै आगामी सिजन च्याम्पियन्स लिगको टिकट काट्नसमेत कठिन हुने देखिएको छ । लिभरपुल चौथो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा चार अंकले पछि छ । युनाइटेडले लिभरपुलभन्दा एक खेल कम खेलेको छ ।
१९औं मिनेटमा लिभरपुलका इब्राहिमा कानाटेले गरेको आत्मघाती गोलमा ब्रेन्टफोर्डले अग्रता लिएको थियो । ४२औं मिनेटमा योआने विसाको गोलमा ब्रेन्टफोर्डले अफ्नो अग्रता दोब्बर पारेको थियो । पहिलो हाफमै २–० ले पछि परेसँगै लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले रक्षक भर्जिल भान डाइकलाई समेत मैदान बाहिर निकालेका थिए ।
५०औं मिनेटमा एलेक्स अक्सलेड–च्याम्बरलिनको गोलमा योर्गान क्लोपको टोलीले खेलमा फर्कने संकेत गरेको थियो । तर खेल सकिन ६ मिनेट बाँकी रहँदा ब्रेयान एमबेउमुले ब्रेन्टफोर्डका लागि तेस्रो गोल गरेसँगै लिभरपुलको खेलमा फर्कने सम्भावना समाप्त भएको थियो ।
ब्रेन्टफोर्डले यस सिजन म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडलाई पनि हराएको थियो । लिगमा शीर्ष स्थानको आर्सनलको १६ खेलबाट ४३ अंक छ । दोस्रो स्थानको म्यानसिटीको ३६ तथा तेस्रो न्यूकासल युनाइटेडको १७ खेलबाट ३४ अंक छ ।