arrow

लुम्बिनीको राजधानीमा तीन अर्ब लागतमा प्रशासनिक भवन बन्ने, मुख्यमन्त्री कार्यालय ६ तलाको

logo
नारायण वली,
प्रकाशित २०७९ फागुन ३ बुधबार
Lumbini-pardesh-prasashanik-bhavan-1.jpg

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेशको प्रशासनिक भवन बनाउने भएको छ। मुख्यमन्त्री कार्यालयसहित अन्य ९ वटा मन्त्रालयको भवन निर्माणको काम शुरु गर्नका लागि बुधबार प्रदेश स्थापना दिवसको अवसरमा मुख्यमन्त्री लिला गिरीले औपचारिक रुपमा शिलान्यास गरेका हुन् । भवन मण्डला आकारमा बनाइने बताइएको छ । प्रदेश सरकार स्थापना दिवसको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय भवनको शिलान्यास गरिएको हो ।

संघीयता कार्यान्वयन गर्न प्रदेशको संरचना बलियो हुनुपर्ने र लुम्बिनीबाट उदाहरणीय कामको शुरुवात देखाउने गरी काम गर्नतर्फ लागेको भन्दै अन्य प्रदेशको तुलनामा लुम्बिनीले आफ्नै प्रशासनिक केन्द्र निर्माणलाई प्राथमिकतामा राखेर आगाडि बढेको मुख्यमन्त्री गिरीको भनाइ छ।

उनले भने, ‘अब आफ्नै प्रदेशको प्रशासनिक केन्द्र बन्ने छ। हामी अन्य प्रदेशको तुलनामा अगाडि छौं । संघीयतालाई जनतासँग जोड्न प्रशासनिक केन्द्रले महत्त्वपूर्ण योगदान गर्नेछ ।’

तीन अर्ब ९ करोड २९ लाख ३८ रुपैयाँ ७२ पैसाको लागतमा सुविधा सम्पन्न मन्त्रालय भवन निर्माण गरिने जनाइएको छ।

मुख्यमन्त्री कार्यालय ६ तलाको हुने छ । लिफ्टसहित अपांगमैत्री भवन निर्माण हुने खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालयले जनाएको छ। अन्य मन्त्रालय भवन पाँच तलाको हुनेछ।

त्यहाँ पनि अण्डरग्राउण्ड पार्किङ्ग र लिफ्ट जडान गरिने छ। आयोजना कार्यान्वयनलाई गति प्रदान गर्ने योजना सरकारको छ। मन्त्रालयको भवन निर्माण गर्न बजेटको कुनै अभाव नहुने खानेपानी, ग्रामिण तथा शहरी विकासमन्त्री चेतनारायण आचार्यले बताए ।

१७ बिघा १९ कट्ठा ४ धुर जग्गामा प्रदेशको प्रशासनिक केन्द्र फैलिएको छ। २०७७ असोज २० मा प्रदेशसभाको दुई तिहाई बहुमतले राजधानी राप्ती उपत्यका देउखुरी र नाम लुम्बिनी तोक्ने निर्णय गरेको थियो।

मन्त्रालय निर्माणको जिम्मेवारी शर्मा सगुन जेभी, सीतापाइला, काठमाडौँले लिएको छ। निर्माण कम्पनीका प्रतिनिधि शौरभ शर्माले निर्धारित समयभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्रालय भएकै क्षेत्र भित्रको खाली जग्गामा नयाँ प्रशासनिक भवन बनाउने काम अघि बढेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ