arrow

पालिका खेलकुदप्रति अनुदार, पूर्वनिर्धारित खेल तालिका स्थगित

logo
नारायण वली,
प्रकाशित २०७९ फागुन १४ आइतबार
328443620_166186126202253_4869371332341923541_n.jpg

रुपन्देही । जिल्ला खेलकुद विकास समिति रुपन्देहीले पूर्वनिर्धारित खेल तालिका स्थगित गरिएको जनाएको छ । १३ औं राष्ट्रपति कप  प्रतियोगिता-२०७९ अन्तर्गत विद्यालय स्तरिय फुटबल खेलमा जिल्लाका १६ वटा स्थानीय पालिकामध्ये हालसम्म १० वटा पालिकाले भाग लिएको भएपनि तर तोकिएको समयावधि भित्र खेलाडिहरुको नाम विवरण नबुझाउँदा पूर्वनिर्धारित खेल तालिका स्थगित गरिएको छ ।

जिल्लाका बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिका, सिद्धार्थनगर नगरपालिका, सैनामैना नगरपालिका, सियारी गाउँपालिका, सुद्धोधन गाउँपालिका, रोहिणी गाउँपालिका, कञ्चन गाउँपालिका र गैडहवा गाउँपालिका सहभागी भएको जिल्ला खेलकुद विकास समितिले जनाएको हो ।

यस्तै लुम्बिनी साँस्कृतिक नगरपालिका, सिद्धार्थनगर नगरपालिका, गैडहवा गाउँपालिका, सुद्धोधन गाउँपालिका, रोहिणी गाउँपालिका र कञ्चन गाउँपालिकाले समयमा विवरण पेश नगरेको जनाईएको छ । यता प्रतियोगितामा देवदह नगरपालिका, मायादेवी गाउँपालिका, कोटहीमाई गाउँपालिका, ओमसतिया गाउँपालिका, मर्चवार गाउँपालिका र सम्मरीमाई गाउँपालिकाहरु सहभागी नभएका कारण जिल्ला स्तरिय प्रतियोगिताको पूर्वनिर्धारित खेल समय तालिका अर्को सुचना जारी नहुँदासम्म स्थगित गरिएको जिल्ला खेलकुद विकास समितिद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बुटवल उपमहानगरपालिकाको सहयोग तथा जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने भनिएको फागुन १३, १४ र १६ गतेको खेल तालिकालाई केही पालिकाहरुले विवरण नबुझाएकाले स्थगित गर्नुपरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र वहादुर थापा क्षत्री (हरिले) वताएका छन् । विज्ञप्ति अनुसार बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सियारी गाउँपालिका र सैनामैना नगरपालिकाले विवरण पेश गरिसकेको जनाईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ