arrow

प्रहरीले गोप्य राखेको अर्घाखाँची सिमेन्ट मजदूर मृत्यु प्रकरणः संगठनहरु मौन

logo
नारायण वली,
प्रकाशित २०७९ फागुन १८ बिहिबार
Arghakhanchi-Cement-Rupandehi-3.jpg

रुपन्देही । गत माघ १६ गते दिउँसो रुपन्देहीको सियारी गाउँपालिका वडा नं २ मा रहेको अर्घाखाँची सिमेन्ट उद्योगमा ४ जना मजदूरको ज्यान गएको घटनालाई रुपन्देही प्रहरीले एक महिनासम्म गोप्य राखेको रहस्य बाहिरिँदासमेत मजदूर संगठनहरु मौन बसेको पाइएको छ । 

उद्योगमा भएको दुर्घटनामा ४ जनाको मृत्यु र ६ जना घाइते भएको विषय एक महिनासम्म प्रहरीले गोप्य राखेपछि पछिल्लो समय रुपन्देही प्रहरीमाथि विभिन्न शंका उत्पन्न भएको छ । सिमेन्ट उद्योगको कोल मिलमा आगलागी हुँदा घाइते भएर जिल्लाका विभिन्न अस्पतालहरुमा उपचार गर्ने क्रममा ४ जनाको मृत्यु भएको खुलेको हो ।

गोप्य राखिएको घटनामा ज्यान गुमाउनेहरुमा एक जना नेपालीसहित ३ जना भारतीय नागरिक हुन् । यसरी मृत्यु हुनेमा रुपन्देही कोटहीमाई ४ बस्ने ३८ वर्षिय अंगद हरिजनको माघ २२ गते, भारत उत्तर प्रदेश जिल्ला फनेहपुर ग्राम सेलवन घर भएका ५० वर्षीय जितेन्द्र कुमारको माघ १८, विहारको समस्तपुर ग्रामका ४८ वर्षीय श्रीराम सिंहको माघ २१, विहार गोपालगञ्ज ग्रामका २७ वर्षीय शसिकान्तकुमार कुसवाहको माघ २० गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देही स्रोतले जनाएको छ । अन्य ६ जना घाइतेहरुको उपचार भइरहेको उल्लेख छ । 

यति ठूलो दुर्घटनाबारे प्रहरीले लामो समयसम्म घटना गोप्य राखेको खुलेपछि घटना थप शंकास्पद देखिएको छ । घटनाबारे थप बुझ्नका लागि उद्योग महाप्रबन्धक उद्धव कार्कीलाई पटक–पटक सम्पर्क गर्दा फोन उठाएनन् । यता लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख डीआईजी टेकप्रसाद राईले घटनाबारे चासो राखेको बताइएको छ ।

उता, मृतकका परिवारका अनुसार आफूहरुलाई घटना भएको हप्तौंसम्म पनि सामान्य घाइते भएको जानकारी गराएको सिमेन्ट उद्योगले पछि एक्कासी शव बुझ्न बोलाइएको थियो ।

मजदूर संगठनहरुले पनि चासो राखेको पाइएको छैन । नेपाल कारखाना श्रमिक संघ रुपन्देहीका अध्यक्ष बृजनारायण यादव जवाफ दिने अवस्थामा छैनन् । यादवले आफू अहिले किरिया बसेको बताउँदै भने, 'म यो अवस्थामा छु के बोलौं र ।'

विभिन्न नामका अन्य मजदूर संगठनहरु हालसम्म सो घटनाका सम्बन्धमा बोलेका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ