arrow

नाकाबन्दीले नागरिकको मुख बन्दी, एमाले र एमाओवादी फुर्सद मनाउँदै

logo
प्रकाशित २०७२ मंसिर २२ मंगलबार
UML & mao.jpg.jpeg
काठमाडौं । नाकाबन्दीका कारण नागरिक असह्य सास्तीमा रहेपनि प्रमुख दलका नेताहरुले भने नाकाबन्दी खोल्ने विषयमा मौनता साँध्न थालेका छन् । केहीदिन अघि सम्म ठोस कमद चाल्न नसकेपछि देखावटी रुपमा केही गरे झै गरेका प्रमुख दलका नेताहरु अहिले नाकाबन्दी खुलाउने बारेमा निस्क्रीय नै भएका छन् । 
 
मधेशी मोर्चाका शीर्ष नेताहरु दिल्ली दौडाहामा रहेका बेला प्रमुख तिन दलका नेताहरु निस्क्रीय रहनुले समस्याको चुरो दिल्लीमै रहेछ भन्ने पुष्टी हुँदै गएको छ । भारतसामु नझुक्नै भन्दै स्वाभिमान र सार्वभौमीकताको कोरा गफ गर्ने नेताहरुले अन्ततः दिल्ली नरिझाउदा सम्म समस्याको समाधान नहुने जनाउ दिएका छन् । उनीहरु दिल्ली सन्देश पर्खेर बसेका छन् ।
 
दिल्लीमा राजनीतिक भेटघाटमा रहेका मधेशी नेताहरु र भारतीय नेताहरुसंगको भेटवार्तापछि मधेशी मोर्चा र भारतीय सरकारले गर्ने निर्णयका आधारमा समस्या समाधानको प्रक्रिया सुरु गर्ने गरी सरकार पक्षीय दलहरु पखाईमा रहेका छन् । दलहरुको निस्क्रीयताले दलहरुले नेपालबाटै समस्याको समाधान गर्न सक्दैनन भन्ने स्पष्ट भएको छ । मधेशी नेताहरु दिल्ली रहे सम्मका लागि प्रमुख सत्ता साझेदार नेकपा एमाले र एकिकृत माओवादी फुर्सद मनाए जस्तै आ–आफ्नो आन्तरिक काममा लागेका छन् । 
 
नेकपा एमालेले चितवनमा अगुवा कार्यकर्ताहरुको भेला गरिरहेको छ भने एमाओवादीले केन्द्रीय समितिको बैठकमा पार्टीको आन्तरिक व्यवस्थापनका बारेमा दैनिक कथा हालिरहेको छ । चितवनमा सोमबारदेखि सुरु भएको एमाले विशेष राष्ट्रिय कार्यकर्ता भेलामा मंगलबार सुझाव संकलनको कार्यक्रम छ । 
 
महासचिव ईश्वर पोखरेल, उपमहासचिव घनश्याम भुसाल र सचिव प्रदिप ज्ञवालीले पेश गरेका छुट्टा–छुट्टै कार्यपत्रबारे सुझाव संकलन हुन लागेको हो । ती तीन कार्यपत्रमाथि सुझाव लिन विभिन्न समूह बनेका छन् । टोली नेताहरुले पेश गरेको सुझाव र भेलामा भएको छलफलका आधारमा कार्यपत्र संशोधन गरी पार्टीको रणनिति तयार हुने नेताहरुले जानकारी दिएका छन् । 
 
त्यस्तै अर्को प्रमुख सत्ता साझेदार एमाओवादीको केन्द्रीय समिति बैठकमा भने अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवदेनमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम चल्ने छ । जारी बैठकमा सोमबार सम्ममा ५६ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिसकेका छन् । अध्यक्ष दाहालको प्रतिवेदनबारे आफ्नो धारणा राख्ने ९० जनाभन्दा बढी केन्द्रीय सदस्यहरुले नाम लेखाएकाले बैठक अझै केहिदिन लम्बिने बताइएको छ । 
 
यसअघि, बैठकमा बोल्नेहरुले पार्टीमा फरक विचारको सम्मान नभएको, पार्टी नेतृत्व सत्ता र शक्तिको पछि दौडेको गुनासो गरेका छन् । उनीहरुले पार्टी केन्द्रिय कार्यालयमा कथा हाल्ने काम मात्रै भएको कटाक्ष समेत गरेका छन् । यसरी सत्तासिन दलहरु फुर्सद मनाईरहँदा नागरिक अभावमा छट्पट्टाईरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ