arrow

सुवास नेम्वाङ भन्छन् – कथंकदाचित निर्वाचित भए जनताको काम गर्छु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २५ बिहिबार
subash-nemwang-2079-11-25.jpg

काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले आफू निर्वाचित भए जनताको काम गर्ने बताएका छन् । संसद सचिवालयमा मतदान गर्न जानुअघि संचारकर्मीसँग बोल्दै नेम्वाङले ‘कथंकदाचित’ शब्द जोडेर ‘कथंकदाचित निर्वाचित भए जनताको काम गर्छु’ भनेका हुन् । 

उनले आफूहरु संविधान कार्यान्वयनको चरणमा रहेकाले संविधान निर्माणको नेतृत्व गरेको नाताले आफू खुशी भएको बताएका छन् । यद्यपि उनले निर्वाचनमा जित हार स्वचाविक भएको बताएका छन् । 

उनले भने, ‘संविधान कार्यान्वयनको महत्वपूर्ण चरणमा छौं । संविधान निर्माणको नेतृत्व गरेको नाताले म निकै खुशी छु । निर्वाचनमा जित हार हुन्छ । तर सांसदहरुको सुझावबाट म खुशी छु ।’ 

उनले अगाडि भने, ‘विगतका राष्ट्रपतिहरुको अनुभव भनेको मेरै अनुभव हो । विगतलाई ध्यानमा राखेर हामीले अहिले नयाँ परिपाटी र प्रणाली स्थापित गरेका छौं । अर्थात् एउटै कुलमा जेठो छोरोले राजा हुने प्रणालीको अन्त्य गरेर जनताको छोरो वा छोरी राष्ट्रपति हुन्छ । म कथंकथाचित निर्वाचित भएँ भने जनताको काम गर्छु ।’

आगामी नयाँ राष्ट्रपतिका लागि मतदान शुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिए अनुसार मतदान शुरु भएको हो । 

बिहान १० देखि शुरु भएको मतदानमा पहिलो भोट नेपाली कांग्रेसका नेता एवं उम्मेदवार रामचन्द्र पौडेलले हालेका छन् । मतदान दिउँसो ३ बजेसम्म हुनेछ । संविधान सभाबाट संविधान जारी भएपछि तेस्रो कार्यकालका लागि संसदीय अभ्यासमा बौद्धिक र परिपक्क छवि बनाएका पौडेल र नेम्वाङ प्रतिस्पर्धामा छन् । 

पौडेल बिहान १० बजेअघि नै संसदमा पुगिसकेका थिए भने सुवास नेम्वाङ भने १० बजेपछि मात्रै त्यहाँ पुगेका हुन् ।  

संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ।

विसं २०६२–६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास भएको हो ।  राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधि सभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुनेछ ।

राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र  प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छ । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।

राष्ट्रपति निर्वाचनका लागि बानेश्वरस्थित संसद् भवन परिसरमा संङ्घीय संसद् सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र कायम गरिएको छ । विगतमा जस्तै मुलुकका प्रमुख ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीचको प्रतिस्पर्धालाई  महत्वकासाथ हेरिएको छ ।

पूर्वसभामुख पौडेल नौ दलीय गठबन्धन तथा संविधान सभाका पूर्वअध्यक्ष नेम्वाङ एमालेका तर्फबाट उम्मेदवार बनेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ