arrow

स्थलगत रिपोेर्ट

मिटरब्याज चक्रव्यूहः मदिरा मासु खुवाएर डायरीमा ऋणभार [भिडियोसहित]

logo
नारायण वली,
प्रकाशित २०७९ चैत २१ मंगलबार
balinagar-susta-1.jpg

रुपन्देही। नेपाली उखान छ 'नखाएको बिष लाग्दैन ।' तर याे उखान वास्तविक जीवनमा मेल नखान सक्छ । नखाएको बिष पनि लाग्दो रहेछ । यो भनाइ श्यामसुन्दर कुर्मीसँग मेल खान पुगेको छ ।

उमेरले ६५ वर्ष पुगेका कुर्मी विगत ८ वर्षदेखि विक्षिप्त छन् । नवलपरासी बर्दघाट सुस्ता पश्चिम, सुस्ता गाउँपालिका वडा न–५ बलिनगरका कुर्मी अढाई बिगाह जग्गा मिटरब्याज साहुले हडपेपछि थिरमा छैनन् । 

जिल्लाको प्रतापपुर गाउँपालिका बेलाटारीका मिटरब्याजी जगदीश बानियाँ (लखपतिले) स्थानीय होटलमा लगेर आफैँ मदिरा–मासु खुवाउने र आफ्नो डायरीमा खर्च लेखिदिएर ५२ हजार रुपैयाँको ऋणभार थपिदिएपछि आफू झस्किएको कुर्मीले बताए । उनले भने, 'म काम गरेर खाने मान्छे हुँ । घरमा आएर बोलाएर पसल, होटलमा लैजाने नास्ता खाएको जति आउने बिल मेरो नाममा आफ्नो व्यक्तिगत डायरीमा चढाएर ऋण बोकाएर आफ्नो जग्गा खाइदिएकाले सुकुम्बासी हुन पुगेको हुँ ।' 

उनी भन्छन्, 'अहिले घरबास मात्रै बचेको छ । ८ जनाको परिवार छ । यहि ऋणका कारण मलेसिया पुगेको कान्छो छोराको उतै झुण्डिएर निधन भयो । मिटरब्याज साहु जगदीशले आफ्नो जीवनमा गरेको अन्यायमाथि राज्यले सुनुवाइ गरोस् ।' 

मिटरब्याज ऋणका कारण कान्छो छोरा गुमाएकी रजवन्तीदेवी कुर्मीका आँखा ओभाएका छैनन् । उनी भन्छिन्, 'भएको जग्गा श्रीमानलााई साहुले पहिले दारु खुवाएर पछि डर, त्रास र धम्की दिएर छिनुवा पास गरेर लगिदियो । अहिले मजदूरी गरेर जीवन चलाएका छौं । यो भन्दा बरु विष खुवाएर मारिदेऊ ।'

यस्तै मिटरब्याजको फन्दामा परे सोही गाउँका रविन्द्र कुर्मी पनि । २०७५ सालमा बेलाटारीका सुजित बानियाँसँग ३ लाख लिएको डेढ वर्षमा चुक्ता गर्दा ८ लाख रुपैयाँ तिरेको तीतो अनुभव सुनाए । उनका अनुसार पुनः डेढ लाख रुपैयाँ लिएर चुक्ता गरिसके पनि कागज नदिएको भन्दै पछिल्लो समय आफू बिरामी पर्दा १ लाख रुपैयाँ लिएको बताए ।

आवश्यक पर्दा ऋण लिनुपर्ने बाध्यतामा मौका छोपेर स्थानीयहरुको बिल्लीबाँठ बनाउने मिटरब्याजीहरुलाई भने सरकारले कारबाही गर्नुको सट्टा मिटरब्याज पीडितहरुलाई पटक–पटक वार्ता गरी कारबाही गर्ने आश्वासनमात्रै दिएको उनीहरुको गुनासो छ । 

सो क्षेत्रमा अधिकांश खेती किसानीहरु छन् । परिवारका सदस्यमा ठूलो बिरामी आएमा वा छोरालाई विदेश पठाउँदा होस् आफूलाई चाहिने ३/४ लाखको साँवालाई १०/१२ लाख रुपैयाँ बढाएर कागज गराउने, ऋणीले तिर्दै गएको पैसालाई दरपीठ नगर्ने भएकाले स्थानीय व्यक्तिहरु मिटरब्याजको चक्रव्यूहबाट मुक्त हुन सकेका छैनन् ।

मिटरब्याजबाट पीडित बनेको बलिनगर पुग्दा धेरैजना नैराश्यतामा देखिन्थे । कति जनाले यसभन्दा अगाडि विष खाएर आत्महत्या गरेको पनि उनीहरुले सुनाए । जग्गा बेचेर ९ लाख रुपैयाँ साहुलाई बुझाई सकेका जयप्रकाश कुर्मीलाई साहुले नदिएको भन्दै पैसा माग्दै आएकाले उनी अहिले मानसिक तनावमा छन् । 

मिटरब्याजले गर्दा धेरैजना घर न घाटको अवस्थामा पुगेको मिटरब्याज तथा ठगी विरोध किसान मजदूर संगठन समितिका प्रमुख औधेस कुसहवाले बताए ।

कुसहवाको नेतृत्वमा सोमबार करिब ७ सय जना पीडितहरु काठमाण्डौं पुगेका छन् । सरकारसँग गत असोज १ गते ५ बुँदे सहमति गरेको भए पनि राज्यले कुनै वास्ता नगरेको भन्दै मिटरब्याज सम्बन्धी कानूनको मस्यौदा तयार पार्नुपर्ने, कानूनलाई पारित गर्नुपर्ने, साहुले कब्जा गरेका किसानहरुको जग्गा फिर्ता गर्नुपर्ने र सरकारले गठन गर्ने समितिमा पीडित पक्षका प्रतिनिधि अनिवार्य रुपमा राख्नुपर्ने लगायतका मागलाई सरकारले कार्यान्वयन नगर्दासम्म चरणबद्ध रुपमा आन्दोलन र धर्नाका कार्यक्रमलाई निरन्तरता दिने उनीहरुले जनाए । पीडित जसपाल कोइरीले दिएको जानकारी अनुसार सिंहदरबार गेट अगाडि २४ घण्टे धर्ना दिने तयारी थालिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ