arrow

उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड

नक्कली मह कारखाना फेला, सात भारतीय पक्राउ

सम्बन्धित निकायले चासो नदिँदा आपराधिक क्रियाकलाप गर्नेहरुकाे मनोबलमा वृद्धि

logo
नारायण वली,
प्रकाशित २०८० वैशाख ३१ आइतबार
nakkali- maha-Butwal-.jpg

रुपन्देही । बुटवल उपमहानगरपालिका वडा नं ११ सिर्जनानगरमा ४ वटा घर भाडामा लिएर भारतीयहरुले खोलेको नक्कली महको कारखाना फेला परेको छ । सोही वडाका वडा सदस्य नकुल शाहीको नेतृत्वमा शनिबार राति ८ बजेदेखि प्रहरीको सहयोगमा चलाइएको विशेष अप्रेशनका क्रममा भारतीय मूलका ठूलो संख्यामा बसेका नागरिकहरुले नेपाली आमनागरिकको स्वास्थ्यमाथि गम्भीर असर पार्ने गरी खेलबाड गर्दै नक्कली महको कारखाना खोलेका ७ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

यसअघि स्थानीयहरुले वडा सदस्य शाहीलाई साँझ परेपछि बस्तीमा हुने लागूपदार्थ सेवन, बिक्री वितरण र झैँ–झगडाले प्रताडित भएको गुनासो पटक पटक गरेकाले वडा सदस्य शाहीले इलाका प्रहरी कार्यालय बुटवल, वडा प्रहरी कार्यालय रामनगर र स्थानीय प्रहरी चौकी देवीनगरलाई जानकारी गराएर सहयोग मागेको बताइएको छ । 

उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै नक्कली मह उत्पादन गर्ने कारखानामा संलग्नलाई कानूनी दायरामा ल्याउन प्राप्त सूचना अनुसार उनीहरुले गोप्य रुपमा सामान ल्याउने र तयारी गरेर प्याकिङ गरेर बिक्री वितरण गर्दै आएको कार्यलाई देवीनगर प्रहरी चौकीका प्रमुख लक्ष्मण न्यौपाने सहितको कमाण्डमा खटिएको प्रहरी टोलीले झण्डै ४ घण्टा गस्ती गरेर उनीहरुले प्रयोग गरेका ४ वटा घरबाट सबै सामानसहित पक्राउ गर्न सफल भएको वडासदस्य शाहीले वताए ।

शाहीले भन्छन्, 'पक्राउ परेका नक्कली मह व्यापारीहरुलाई राति १ बजे वडा प्रहरी कार्यालय रामनगर लगेर छाडिएको हो । प्रहरीसँग गाडी मागेँ तर पाइन । नपाएपछि आफैँले गाडीको व्यवस्था गरेर प्रहरीसम्म पुर्‍याएँ ।' गाडीको सवालमा प्रहरीबाट सहयोग नपाएको उनले दुःखेसो पोखे । सिर्जनानगरका ७ वटा घरमा सञ्चालन गरिएको नक्कली मह कारखानाबाट ठूलो मात्रामा बरामद गरिएको छ । बुटवलका अन्य ठाउँमा पनि यसरी नै नक्कली मह तयार गरेर बिक्री गरिएको हुन सक्ने आशंका गर्दै वडा सदस्य शाहीले यो क्रमलाई निरन्तरता दिने बताउँदै अनुसन्धान र कारबाहीका लागि प्रहरी प्रशासनलाई कटिबद्ध हुन आग्रहसमेत गरेका छन् ।

उनीहरुले मौरीका सडे गलेका चाकालाई चिनीपानीमा भिजाएर सक्कली मह भन्दै बजारमा बेच्ने गरेको पाइएको छ । सडेका मौरीका कीरा तथा चाकामा चिनी घोलेर रुपन्देही तथा जिल्ला बाहिरसमेत बजारमा पुर्‍याएर प्रतिकिलो १ हजार ६ सय रुपैयाँमा बिक्री गर्ने गरेको भेटिएको छ । बरामद गरिएको केही मह बुटवल–११ सिर्जना नगरमै नष्ट गरिएको छ भने केही मह वडा प्रहरी कार्यालय रामनगरमा लगिएको छ ।

पक्राउ पर्नेमा भारतको विहार वीरपुरका ५५ वर्षीय इन्द्रजित धामी, सोही ठाउँका ५२ वर्षीय मनिष धामी, ४८ वर्षका अरुण धामी, ३१ वर्षीय सुधीर धामी, २८ वर्षका वुदुवा धामी, २१ वर्षीय पिन्टु धामी र २० वर्षका रविन धामी रहेको वडा प्रहरी कार्यालय रामनगरले जनाएको छ । खानतलासी गर्ने क्रममा ४ क्विन्टल बढी नक्कली मह फेला परेको जनाइएको छ ।

आइतबार बिहान पुनः खानतलासी गर्ने क्रममा बुटवल–११ सिर्जना नगरस्थित वृन्दा मल्लाहको घरबाट २ बाल्टी तयार पारिएको नक्कली मह, ४ टिन मौरीको चाका बरामद भएको छ भने सोही ठाउँका आरती मल्लाहको घरबाट ७ बाल्टी तथा वीरबहादुर कनौजे मगरको घरबाट ५ बाल्टी तयार पारिएको मह बरामद भएको छ ।

वडा प्रहरी कार्यालय रामनगरका अनुसार पक्राउ परेकाहरुलाई थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइने र बरामद गरिएको मह परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवामा नमूना पठाइएको उल्लेख छ । 

सम्बन्धित निकायले चासो नदिँदा पनि यस्ता आपराधिक क्रियाकलाप गर्नेहरुकाे मनोबल बढेको गुनासो स्थानीयको छ । बजारमा अनुगमनसमेत छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ