arrow

कोशीमा पुनर्जीवन दिन एमाले सक्रिय, जता जसपा उसकै सरकार

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १८ सोमबार
uml-cpn.jpg

काठमाडौँ । सातै प्रदेशबाट एमाले सरकार बाहिरिएको बेला कोशी प्रदेशमा एमालेले आफ्नै नेतृत्वमा सरकार बनाउने पुनः पहलकदमी थालेको छ । एमाले सचिव एवं कोशी प्रदेशका इन्चार्ज रघुवीर महासेठमार्फत पुनः यस्तो पहलकदमी लिन लागेको हो । 

गत मंसिर ४ गते सम्पन्न प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनपछि फेरि केन्द्रदेखि प्रदेश सरकारको हिस्सेदार बन्न पुगेको भए पनि अहिले सातै प्रदेशबाट बढारिएपछि कोशी प्रदेशलाई पुनर्जीवन दिन सकिन्छ भन्नेमा एमाले लागेको हो । 

अघिल्लो पटक प्रतिनिधि सभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय सर्वोच्च अदालतले अवैध ठहर गरेपछि नेपाली कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बन्दा एमाले केन्द्रदेखि प्रदेशसम्मका सरकारबाट बाहिरिएको थियो । 

गत मंसिरमा भएको निर्वाचनपछि केन्द्रीय सरकारको नेतृत्व पहिला कसले गर्ने भन्ने कांग्रेस र माओवादी केन्द्रभित्रको विवादमा खेल्दै एमाले पुनः सत्तामा पुगेको थियो ।   

सरकार ढलिसकेको र अगामी सरकारका लागि के गर्ने भन्ने विषयमा छलफल चलिरहेको बेला सचिव महासेठले आइतबार साँझ जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलाई भेटेर कोशी प्रदेशमासहयोगका लागि आग्रह गरेको स्रोतको दाबी छ । 

कोशी प्रदेशका पार्टी इन्चार्जसमेत रहेका महासेठले प्रदेशमा एमाले नेतृत्वमा सरकार गठनका लागि सहयोग माग्न यादवलाई भेटेको जसपा स्रोतको दाबी छ ।  महासेठ र यादवबीचको छलफलमा जसपा कोशी प्रदेश सांसद निर्मला लिम्बु र प्रदेश इन्चार्ज एवं कार्यकारिणी सदस्य रकम चेम्जोङ पनि सहभागी रहेको जनाइएको छ ।  

भेटमा अध्यक्ष यादवले आफूहरू समाजवादी मोर्चा र सत्ता गठबन्धनमा रहेकाले एक्लै निर्णय लिन नसकिने महासेठलाई बताए पनि महासेठले मधेस प्रदेश सरकारलाई दिएको समर्थन र सहयोग पनि सम्झिन आग्रह गरेका थिए । 

अध्यक्ष यादवले गठबन्धनमा निर्णय गरेर अगाडि बढ्ने भन्दै छलफल गरेर थप जानकारी दिने प्रतिक्रिया दिएको स्रोतको दाबी छ । 

कांग्रेससँगको सत्ता साझेदारीबाट माओवादी केन्द्रलाई अलग गराउँदै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएपछि सत्तामा फर्केको एमाले यतिबेला कोशी प्रदेश पनि फुत्किएपछि सातै प्रदेशमा सरकारविहीन भएको छ । 

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई पुस १० गते प्रधानमन्त्रीमा अघि सार्दै एमालेले केन्द्रदेखि प्रदेशसम्मको सत्ता साझेदारीको यात्रा शुरु गरेको थियो । सातै प्रदेशका सरकार र सभामुखसमेत भागबन्डा गरेर माओवादी–एमाले गठबन्धन अघि बढेको थियो । 

तर माओवादी केन्द्रसँगको एमाले सहकार्य लामो समय टिक्न सकेन । एमालेको समर्थनमा पुस १० गते प्रधानमन्त्री भएका दाहालले केही समयपछि कांग्रेससँग सहकार्यको हात बढाए ।  

त्यसको असर स्वरूप एमाले सरकारबाट बाहिरिन पुग्यो । प्रतिपक्षमा रहेको कांग्रेस सत्तामा फर्कियो । नयाँ राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्ने दिन फागुन १३ गतेसम्म आइपुग्दा पुस १० गते निर्माण भएको गठबन्धन भत्कन पुग्यो । 

कांग्रेस नेतृत्वमा रहेको पुरानो गठबन्धन ब्युँतिदा एमाले १०० दिनको हनिमुनको समय अवधि पनि पूरा नगर्दै केन्द्रीय सरकारबाट बाहिरिन पुगेको थियो । 

त्यसपछि एमाले प्रदेश सरकारबाट पनि बाहिरिन गयो । त्यसको पछिल्लो असर कोशी प्रदेश सरकारमा परेको हो । हिक्मतकुमार कार्की नेतृत्वमा बनेको कोशी प्रदेश सरकारले गत शुक्रबार विश्वासको मत नपाएसँगै एमाले संघ हुँदै प्रदेश सरकारबाट पनि पूर्ण रूपमा अलग भएको हो । 

कांग्रेससहितको नयाँ गठबन्धन निर्माण भएपछि एमाले केन्द्रमा दाहाल नेतृत्वको सरकारबाट अलग भएको थियो । प्रदेशमा पनि एमाले माओवादी नेतृत्वका प्रदेश सरकारबाट अलग भएको थियो । 

माओवादी केन्द्रले पहिला दिएको समर्थन फिर्ता लिँदा गण्डकीमा खगराज अधिकारी, लुम्बिनीमा लिला गिरी नेतृत्वको सरकार एमालेले गुमाएको थियो भने सुदूरपश्चिममा राजेन्द्रसिंह रावल नेतृत्वको सरकार अल्पमतमा परेको थियो । 

रावल नेतृत्वको सुदूरपश्चिम सरकारले एक महिनामा विश्वासको मत लिन नसक्दा ढलेको थियो ।  

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत नपाएसँगै एमाले सातै प्रदेश सरकारबाट अलग भए पनि यसलाई पुनर्जीवन दिन एमाले सचिव महासेठ लागिपरेका हुन् ।

कोशीमा ९३ सदस्यीय संसद रहेको छ । जहाँ बहुमतको सरकार बनाउन दलहरुलाई ४७ सांसदको आवश्यक पर्छ । सबैभन्दा ठूलो दल एमालेका ४० सांसद छन् । त्यस्तै राप्रपाका ६ सांसद पनि एमालेकै समर्थनमा छन् । जसपाकी १ सांसदले सहयोग गर्नासाथ पुनः एमालेकै सरकार बन्न सक्छ । 

तर जसपाले सहयोग नगरे अबको सरकार कांग्रेस, माओवादी, नेकपा एस र जसपा मिलेर बन्नेछ । 

हिजोमात्रै प्रदेश प्रमुखले बहुमतका आधारमा सरकार बनाउनका लागि चार दिनको समय दिएका छन् । 

कांग्रेसले आफ्नो नेतृत्वमा सरकार निर्माणका लागि प्रयास थालिसकेको छ । माओवादीले अन्य प्रदेशमा कांग्रेसलाई दिएको भन्दै पहिले आफूले नेतृत्व गर्न पाउनु पर्ने अडानमा छ । 

कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, नेकपा एसका ४ तथा जसपाका १ सांसद गरी ४७ सांसद छन् । 

जसपा जता गयो उसकै सरकार बन्ने निश्चित छ । तर जसपाले कोशीमा एमालेलाई साथ दियो भने केन्द्रबाट पनि हात धुने सम्भावना हुने भएकाले त्यत्रो आँट उपेन्द्र यादवले गर्ने सम्भावना कम छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ