arrow

ललिता निवास प्रकरणः भागेका भनिएका आरोपीहरु विशेषमा पुगेर बुझे म्याद, परेनन् पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३१ आइतबार
Deep-basnet.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रहरीले भारत भागेका भनेर प्रचारबाजी गरेका ललिता निवास जग्गा प्रकरणमा जोडिएका आरोपीहरु पनि नेपालमै भएको पाइएको छ । सो प्रकरणमा मुछिएकाहरु विशेष अदालतमा पुगेपछि उनीहरु नेपालमै भएको पाइएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग आयोगका पूर्वप्रमुख दीप बस्न्यातसहित ४०६ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ पुर्जी जारी गरेको अवस्थामा दीप बस्न्यात लगायतका अधिकारीहरु विशेष अदालतमा पुगेर म्याद बुझेका छन् । 

 स्रोतका अनुसार भारत भागेका भनिएका बस्न्यात आफैँ गत मंगलबार म्याद बुझ्न विशेष अदालत पुगेका थिए । पक्राउ पुर्जी जारी गरेकामध्ये प्रहरीले अहिलेसम्म १७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको अवस्थामा बस्न्यातलाई भने पक्राउ गरेको छैन । 

पूर्वमन्त्री र केही सचिवहरुलाई पक्राउ गरेको छैन । भौतिक मन्त्रालयमा हुँदा बस्न्यातका स्वकीय रहेका हालका सञ्चार सचिव कृष्ण राउत पक्राउ परेका छन् ।

तर बस्न्यातले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पीएसओ पनि फिर्ता गरेर विशेष आदलतमा म्याद बुझेर बसेका छन् । 

‘मंगलबार प्रहरीकै अगाडिबाट बबरमहलस्थित विशेष अदालतबाट तारेख बुझ्दा पनि प्रहरीले पक्राउ गरेन’, स्रोतले भन्यो । सरकारी छाप कीर्ते गरी ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना गरेको अभियोगमा प्रहरीले बस्न्यातविरुद्ध पनि अदालतबाट पक्राउ पुर्जी लिएको छ ।

यसै मुद्दामा अख्तियारले पनि अनुसन्धान गरी १७५ प्रतिवादीविरुद्ध दुई वर्षअघि नै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । जुन मुद्दा हाल अदालतमा विचाराधीन छ । 

सोही मुद्दामा संलग्न मध्येका ८१ प्रतिवादीविरुद्ध मंगलबार अदालतमा तारेख तोकिएकोमा ६८ प्रतिवादीले तारेख बुझेका छन् । 

आठ प्रतिवादीले कानून व्यवसायीमार्फत तारेख बुझे पनि बाँकी ६० प्रतिवादी सशरीर उपस्थित भएर तारेख बुझे । त्यसमा बस्न्यात पनि थिए र उनी आफैँ गएर तारेख लिएको अदाललतमा उनले गरेको हस्ताक्षरबाट देखिन्छ । 

तर अदालतको गेटमा र तारेख बुझ्ने स्थानको बाहिरसम्म बसेका प्रहरीले उनलाई पक्राउ गरेनन् । सूचना प्रविधि मन्त्रालयका सचिव राउत पक्राउ परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले अनुसन्धानको निशाना पूर्वमन्त्री र सचिवहरूतिर लगाएको थियो । 

पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्व भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी, पूर्व सचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारीलाई पक्राउ गर्ने तयारीमा ब्यूरो लागेको भनिए पनि बस्न्यात उम्किनु र पूर्व मन्त्रीहरु ढुक्कले बस्नुलाई सीआईबीको पूर्वाग्रह हो कि भन्ने शंका छ ।  

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा कीर्ते गरी व्यक्तिका नाममा दर्ता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्री, सचिवसहित १७५ जनाविरुद्ध २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यसबाहेक ब्यूरोले ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरी संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । 

बालुवाटार जग्गा हिनामिना प्रकरणमा अख्तियारले अभियुक्त बनाएकाहरूमा पूर्वउपप्रधानमन्त्री गच्छदार, पूर्वमन्त्रीहरू श्रेष्ठ, जोशी तथा पूर्वसचिवहरू पन्त, बस्न्यात र अधिकारी पक्राउ परेका छैनन् ।  

यसैगरी बुधबार सीआईबीले समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेललाई पक्राउ गरेको थियो । प्रहरीले मंगलबार मात्रै यो प्रकरणमा ४ जनालाई पक्राउ गरेको थियो । 

ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

यसअघि असार २६ मा प्रहरीले तत्कालीन भूमिसुधार तथा व्यवस्था विभागका महानिर्देशक रुद्रप्रसाद श्रेष्ठलाई पक्राउ गरेको थियो ।  

भूमिसुधार तथा व्यवस्था विभागमा महानिर्देशक हुँदा श्रेष्ठले पशुपति टिकिन्छा गुठिमा मोही खडा गरेर सरकारी जग्गा हिनामिना गरेको आरोप छ ।

सिनियर डिभिजन इन्जिनियर बालकृष्ण श्रेष्ठले बालुवाटार क्षेत्रमा विशिष्ट व्यक्तिहरूको निवास विस्तारको नाममा जग्गा सङ्कुचन गराएर मोही कायम गर्न भूमिका खेलेको केन्द्रीय अनुसन्धान ब्यूरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

पक्राउ परेकाहरु 
१. मीन बहादुर गुरुङ – भाटभटेनी सुपर मार्केटका सञ्चालक, (असार १२)
२. सुधीरकुमार शाह – पूर्व निर्वाचन आयुक्त ।
३. धर्मप्रसाद गौतम– शाखा अधिकृत
४. गोपाल कार्की, अवकाश प्राप्त खरिदार
५. शिवजी भट्टराई, तत्कालीन वडा सचिव (असार १७)
६. घमानकुमारी कार्की– नापी सर्वेक्षक 
७. बाबुराजा महर्जन– नक्कली मोही 
८. रमेशकुमार पोखरेल– समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख (असार १८)
९. देवनारायण महर्जन– मोही 
१०. लोकहरी घिमिरे – समरजङ्ग कम्पनीको तत्कालीन प्रमुख (असार २४)
११. ध्रुबप्रसाद अर्याल– नापी सर्वेक्षक 
१२. कृष्णबहादुर राउत– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव 
१३. योगराज पौडेल, नासु डिल्लीबजार मालपोत  (असार २६)
१४. नारायणदास मिश्र– पूर्व खरिदार डिल्लीबजार मालपोत 
१५. रुद्रप्रसाद श्रेष्ठ– महानिर्देशक भूमिसुधार तथा व्यवस्था विभाग । (असार २६)
१६. बालकृष्ण श्रेष्ठ– सीडीई भौतिक योजना तथा निर्माण मन्त्रालय ।
१७. विनोद पौडेल, सह लेखापाल समरजङ्ग कम्पनी  (असार २७)

अदालतको स्टे अर्डरबाट छुटेकाहरु 
१. कलाधर देउजा, प्रमुख डिल्लीबजार मालपोत ।
२. सुरेन्द्रमान कपाली, अधिकृत ।
३. हुपेन्द्रमणि केसी, शाखा अधिकृत ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ